प्रस, वीरगंज, २६ माघ/
वीरगंज महानगरपालिकामा रहेका सबै विद्यालय बुधवार भौतिक उपस्थितिमा सञ्चालन भएका छन् । वीरगंज महानगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्णले हिजो सूचना जारी गर्दै बुधवारदेखि सबै तहका कक्षा भौतिकरूपमा सञ्चालन गर्न सूचित गरे अनुसार आजदेखि विद्यालयहरू सञ्चालनमा आएका हुन् ।
यसअघि, माघ १५ गतेसम्म सरकारले विद्यालय बन्द गराएको थियो भने त्यसपछि खोपको लागि विद्यालय खोलिएको थियो । कक्षा ८ देखि माथिका कक्षाहरू मात्र सञ्चालनमा थिए, त्यो पनि खोपको लागि । १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरूलाई खोप दिनको लागि विद्यालय खोलिएको थियो । महानगरमा यसअघि पनि यो समूहका विद्यार्थीहरूले खोप लिइसकेका छन् । आजदेखि आधारभूत कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएको हो ।
यसैबीच, केही विद्यालयहरूमा खोप दिने कार्य पनि जारी छ । मोडर्ना खोपको पहिलो मात्रा लिएकाहरूलाई दोस्रो र नलिएकाहरूलाई पहिलो खोपको मात्रा दिने काम पनि भइरहेको छ । महानगरबाहेक १३ वटा पालिकामा मोडर्नाको पहिलो खोप दिने कार्य आजसम्म जारी छ । २४ गतेदेखि १३ वटा पालिकामा १२–१७ वर्ष उमेरका बालबालिकाहरूलाई खोप दिने कार्य भइरहेको छ । खोप दिने कार्य सम्पन्न भएपछि ती पालिकाका विद्यालयहरू पनि भौतिकरूपमा सञ्चालनमा आउने बताइएको छ ।