नितेश कर्ण, वीरगंज, २४ माघ/
नारायणी अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य मन्त्रालयको नीति अन्तर्गत अहिले भौतिक निर्माणका काम शुरू भएको छ । अस्पतालमा कार्डियाक सुपर स्पेशल भवनको निर्माण कार्य शुरू छ ।
हिमडुङ एन्ड थोकर/चौधरी जेभीले लागत मूल्य १७ करोडमा २३.४० प्रतिशत कम दर अर्थात् १३ करोड ७ लाखमा ठेक्का सकार गरी काम शुरू गरेको सघन शहरी तथा भवन निर्माण आयोजना, पर्साका इन्जिनीयर विवेक नेपालले बताए । उनले गत असार २८ गते ठेक्का सम्झौता भएको र दुई वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले कार्य गरिरहेको बताए ।
कार्डियाक सुपर स्पेशल भवन निर्माणस्थलमा पुराना दुईवटा आवासगृह रहेकाले अहिले सो आवासगृह भत्काएर निर्माण कार्य भइरहेको नेपालले जानकारी गराएका छन् ।
यसैगरी, दुई सय शøयाको कोभिड अस्पतालको निर्माण कार्य पनि शुरू हुन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले बताए । पहिलो चरणमा ७० शøया गरी तीन चरणमा तीन तले कोभिड अस्पताल निर्माण हुने उनले बताए ।
पहिलो चरणको लागत रु तीन करोड रहेकोमा ठेकेदारले दुई करोड २५ लाखमा ठेक्का सकार गरे पनि माटो परीक्ष्Fण गर्दा तोकिएको ठाउँमा भवन निर्माण जोखिमपूर्ण हुने भन्दै अहिले ठेकेदार कम्पनीले सकार गरेको मूल्यमा ७० प्रतिशत लागत स्टिमेट बढाएर मागदाबी गरेकोले सो सम्बन्धमा प्रदेश सरकारसँग पहल भइरहेको निमित्त मेसु डा प्रधानले बताए ।
अस्पतालमैं आकस्मिक कक्षको निर्माण पनि अविलम्ब शुरू हुने उनले जानकारी गराए । हाल ओपिडी सेवा रहेको स्थानमा आकस्मिक कक्षको लागि नयाँ भवन निर्माण हुने उनले बताए । एडिबीको सहयोगमा आकस्मिक भवन निर्माण हुन लागेको हो । यसको लागि ठेक्का भइसकेको छ र हालै स्थान पनि निर्धारण भएको र चाँडै काम शुरू हुने बताए ।
एउटा मात्र अक्सिजन प्लान्ट सञ्चालन
नारायणी अस्पतालमा अहिले तीनवटा अक्सिजन प्लान्ट जडानको योजना रहे पनि एउटा मात्र सञ्चालनमा आएको छ । सांसद विमलप्रसाद श्रीवास्तवले आफ्नो संसदीय विकास कोषबाट स्थापना गरेको टिएसए अक्सिजन प्लान्ट उद्घाटन भएपनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
निमित्त मेसु डा प्रधानले पाँच सय केभिएको ट्रान्सफर्मरको अभावमा शुरूमा प्लान्ट सञ्चालनमा आउन नसकेपछि सूर्य नेपालले सो ट्रान्सफर्मर उपलब्ध गराउँदा पनि अस्पतालको पुरानो विद्युत् वायरिड्ढा कारण सञ्चालनमा आउन नसकेको बताए । उनले नयाँ वायरिड्ढा लागि ४० लाख रुपैयाँ लाग्ने र सो कार्य सम्पन्न भएपछि अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँदा जोखिममुक्त हुने प्राविधिक सल्लाह अनुसार सोहीअनुरूप कार्य भइरहेको जानकारी गराए ।
विदेशी संस्था एसएचआईले उपलब्ध गराएको लिक्विड अक्सिजन भने अहिले सञ्चालनमा छ ।
यसैगरी, कोभिड अस्पताललाई लक्षित गरेर पनि अक्सिजन प्लान्ट अस्पताललाई उपलब्ध भएको र कोभिड अस्पताल सञ्चालन भएपछि सो संयन्त्र सञ्चालनमा ल्याउने निमित्त मेसु डा प्रधानले बताए ।
सिटी स्क्यान एक सातापछि सञ्चालन हुने
नारायणी अस्पतालमा सिटी स्क्यान एक सातापछि सञ्चालनमा आउने भएको छ । अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले स्वास्थ्य मन्त्रालयबाट नयाँ सिटी स्क्यान मेशिन उपलब्ध भएको र सोको अहिले परीक्षण भइरहेको र एक सातापछि सञ्चालनमा आउने बताए । उनले यसअघि उपलब्ध सिटी स्क्यान सञ्चालन नै नभएर बिग्रिएको र त्यसको पार्टपुर्जा चोरी भएको बताए ।
तीन वर्षअघि अस्पतालमा आएको सिटी स्क्यान सञ्चालनमा नआई नै बिग्रिएको र हाल त्यसको पार्टपुर्जा चोरी भएको उनले बताए । डा सिंहले सञ्चालनमा आउन लागेको सिटी स्क्यान यो क्षेत्रमैं सबैभन्दा अत्याधुनिक भएको दाबी गरे । उनले बजार मूल्यभन्दा रु एक हजार कम शुल्कमा अस्पतालमैं सिटी स्क्यान हुने बताए ।
यसैगरी, उनले अस्पतालले स्वास्थ्य मन्त्रालयसँग एमआरआई मेशिन माग गरिरहेको र केही महीनामैं सो उपलब्ध भएर सञ्चालनमा आउने बताए ।