प्रस, परवानीपुर, २४ माघ/

पर्सा, बारासम्म फैलिएको गण्डक नहरको सर्भिस लेनमा दुई लेनको कालोपत्र गर्ने काम अलपत्र परेको छ । निर्माणको ठेक्का पाएको दिवा निर्माण सेवा, काठमाडौंले तीस महीनामा पनि काम सम्पन्न गरेको छैन ।

पर्सा, बारासम्म ६२ किलोमिटर लम्बाइ र सात मिटर चौडाइमध्ये पाँच मिटर चौडाइमा डिबिएसटी कालोपत्र गर्ने आयोजनामा ठेकेदारको चरम लापरवाहीले सो आयोजना सम्पन्न हुन ढिला भइरहेको छ । पर्साको जानकीटोलादेखि बाराको अरुवा खोलासम्म २४ महीनाभित्र काम सम्पन्न गर्ने गरी सन् २०१९ जनवरीमा ठेक्का सम्झौता भएको थियो । सोही वर्ष फेब्रुअरीदेखि काम शुरू गर्ने भनिए तापनि पछिल्लो दुई वर्षको कोरोनाकालमा ठेकेदारले लक्ष्य अनुसार कालोपत्र गर्न नसकेको हो ।

अहिले ६२ किलोमिटरमध्ये बारा जिल्लामा ९ किलोमिटर मात्र कालोपत्र भएको ठेकेदार कम्पनीले जनाएको छ । अर्थात् आयोजनाको काम २५ प्रतिशतभन्दा कम भएको देखिएको
छ । दिवा निर्माण सेवाले सडक विभाग अन्तर्गत सडक सुधार तथा विकास आयोजना (आरआइडिपी) अन्तर्गत भारत सरकारको एक अर्ब १२ करोड ऋण सहयोगमा निर्माण भइरहेको उक्त सडकको काम आफै नगरी सर्लाही, धनकौलको रवि कन्स्ट्रक्शनलाई पेटी कन्ट्र्याक्टमा काम गर्न दिएको छ, जसले गर्दा काममा ढिलाइ भइरहेको छ ।

दिवा निर्माण/शिवालय जेभीले डिबिएसटी कालोपत्र चीसो मौसममा नहुने भएकोले गर्मी मौसमको पर्खाइमा रहेको बताएको छ । “डिबिएसटी चीसो मौसममा हुँदैन, त्यस कारण दुई वर्षमा लगभग एक वर्ष ढिलाइ भएको हो । आगामी फागुनमा गर्मी बढेपछि कालोपत्रको काम हुनेछ,” ठेकेदारका प्रतिनिधिले बताए । पेटी कन्ट्र्याक्टमा काम गरिरहेको रवि कन्स्ट्रक्शनका इन्जिनीयर राकेश रजकका अनुसार छ महीना म्याद थप भएको र आगामी सेप्टेम्बरसम्म काम सम्पन्न हुने बताए ।

बारा–पर्साको गण्डक नहरको सर्भिस लेन कालोपत्र हुने भएपनि सो सडकखण्डमा रहेका करीब २२ वटा पुल क्षतिग्रस्त अवस्थामा छन् । जसमध्ये सडक डिभिजन कार्यालय, निजगढले चारवटा पुलको यसै वर्ष ठेक्का प्रक्रिया अगाडि बढाएको छ । पर्साको जानकीटोलादेखि महुवनसम्म ओरिया, सिक्टालगायत चारवटा खोलामा नयाँ पुल निर्माणको लागि ठेक्का गर्न लागेको र ठेक्का प्रक्रिया पूरा भएपछि यसै वर्षदेखि काम शुरू हुने कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here