प्रस, सेढवा, २४ माघ/

पर्सामा विभिन्न समुदायको परम्परागत बाजा लोप हुँदैछ । आदिवासी जनजातिमा पर्ने थारू, तामाङ, नेवार तथा मधेसी समुदायको परम्परागत बाजा लोपोन्मुख हुन थालेका हुन् ।

परम्परागत बाजा अन्तर्गत मानर, डम्फू, हेला–खुर्दुक, ढाक–तासा, धुतुवा, बाँसुरी पर्दछन् । थारू कल्याणकारिणी समितिका केन्द्रीय सदस्य बृजमोहन चौधरीले विवाह तथा अन्य खुशीका कार्यक्रममा बाजा बजाइ रमाइलो गर्ने परम्परा रहेको बताए । उनले भने, प्रत्येक गाउँटोलमा यी बाजा बजाउने सीप भएका व्यक्तिलाई जिम्मेवारी दिइन्थ्यो ।

अहिले अधिकांश बाजा लोप भएको तर ढाक–तासा, हेला–खुर्दुक अझै समाजमा बजाइने गरेको चौधरीले बताए । यी बाजालाई विस्थापित गर्दै अहिले डिजे, बैन्डबाजा, सात सहेलियालगायतका आधुनिक बाजा समाजमा बजाउने चलन बढेको छ ।

त्यस्तै, नेवार समुदायको परम्परागत बाजा धिनेबाजा पर्साबाट पूर्णरूपले विस्थापित भएको ठोरी गाउँपालिका–४ विजयबस्तीका अगुवा रामबहादुर श्रेष्ठले बताए । परम्परागत संस्कृति जोगाउन नेवार समुदायमा विभिन्न सङ्घसंस्था गठन गरिए पनि संस्थाहरूमा राजनीतीकरण हुँदा बाजाको संरक्षण हुन नसकेको श्रेष्ठले बताए । देश सङ्घीयतामा गए पनि जनप्रतिनिधिहरूले परम्परागत बाजाको संरक्षणका लागि केही गर्न नसकेको उनको आरोप छ ।

तामाङ समुदायका अगुवा ठोरी गापा–५ सुवर्णपुरका भीमबहादुर पाख्रिनले पश्चिमी सभ्यता समाजमा हाबी भएको बताए । तामाङ समुदायको परम्परागत बाजा डम्फू, मुर्चुङ्गा, टुनालगायत बाजा पश्चिमी सभ्यताको प्रभावले लोप भएको पाख्रिनले बताए । विवाहमा पनि अहिले यी बाजाको प्रयोग कमै हुने गरेको उनको भनाइ छ । आक्कलझुक्कल यी बाजाको रेकर्डिङ बजाएर परम्परा जोगाउने काम भइरहेको पाख्रिनले बताए ।

बाहुन–क्षत्री समुदायको परम्परागत पञ्चेबाजा तथा नर्सिंहा बाजा पनि लोप हुने अवस्थामा पुगेको ठोरी गापा–१ का अध्यक्ष रामप्रकाश कुँवरले बताए । उनले पञ्चे र नर्सिंहा बाजाको संरक्षणका लागि गापाले लगानी गरेको बताए । बाजा बजाउनेहरूको समिति बनाइ गापाले गत आव रु दुई लाख लगानी गरेको र सोबाट बाजा खरीद गरेको उनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here