मस्को, २४ माघ/सिन्ह्वा
रूसमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार यहाँ आइतवार मात्र एक लाख ८० हजारजनाभन्दा बढी सङ्क्रमित देखिएका हुन् ।
ती सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै २४ घण्टाभित्र देखिएका सबैभन्दा बढी सङ्क्रमित हुन् । यहाँ अहिलेसम्म एक करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका बताइएको छ ।
त्यसैगरी, यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ६६१ जना सङ्क्रमितको निधन भएको छ ।
योसमेत गरी यहाँ अहिलेसम्म तीन लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रूसमा सबैभन्दा बढी सङ्क्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
रूसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।