जीतलाल श्रेष्ठ, निजगढ, २३ माघ/
निजगढमा तरकारीको उचित मूल्य पाउन नसक्दा व्यावसायिक तरकारीखेती गर्ने अधिकांश कृषक चिन्तित भएका छन् । यसपालि बन्दाकोबी, गोलभेंडा, मूला उत्पादन गर्दा लागेको खर्च नै नउठेपछि यहाँका कृषकहरू चिन्तित भएका हुन् ।
गोलभेंडा, मूलाको मूल्य नै आएन । बन्दाकोबी प्रतिकिलो बढीमा ५–७ रुपैयाँमा बिक्री गर्नुपरेको कृषकहरूले बताए । निजगढमा काउली हाल कृषकले व्यापारीबाट प्रतिकिलो ४० रुपैयाँ पाउने गरेको र सोही काउली हेटौंडा पु¥याउँदा ५०–६५ रुपैयाँ मूल्य पाउने एक कृषकले बताए ।
यदि हेटौंडालगायत अन्य स्थानमा लगेर नलग्ने हो भने यहाँका व्यापारीहरूले निकै कम मूल्यमा तरकारी किन्ने र व्यावसायिक तरकारी कृषकहरूले तरकारीको मूल्य घटाएर बिक्री गर्न बाध्य हुनुपर्ने निजगढका तरकारी कृषक महमद नियाजले बताए ।
काउलीको निजगढमा राम्रो भाउ नपाउँदा हेटौंडा, नारायणघाट लैजानुपर्ने बाध्यता भएको भन्दै त्यसमा पनि राजमार्गमा खटिने सशस्त्र प्रहरीले आफूहरूलाई दुःख दिने गरेको पीडित तरकारी कृषकहरूले बताएका छन् । चेकजाँचमा खटिने प्रहरीले आफूहरूसँग अनलाइन बिल अर्थात् भ्याट बिल माग्ने गर्छन् ।
हामी सानो व्यापारी त्यसमाथि पनि जमीन भाडामा लिएर तरकारी उत्पादन गर्ने र स्थानीय बजारमा उचित मूल्य नपाउँदा अन्यत्र लगेर बिक्री गर्नुपर्ने बाध्यता भएको बेला अनलाइन बिल कहाँबाट ल्याउने भन्दै जताबाट पनि कृषकहरू मारमा पर्ने गरेको उनीहरूले दुःखेसो पोखे । एकातिर समयमैं मलखाद नपाउने अर्कोतिर विभिन्न नाममा झन्झट दिन्छन् । यस्ता अनावश्यक हैरानीले कहिलेकाहीं पेशाप्रति वितृष्णा हुने गरेको कृषकहरूले बताए ।
खेतबारीमा काम गर्ने कि महीनापिच्छे भ्याट बिलको लागि अडिटरलाई खोज्ने, एकातिर मूल्य नपाउने, अर्कोतर्फ आम्दानीभन्दा बढी भ्याट कारोबारमा समय खर्चिनुपर्ने र झन्झटिलो हुने कृषकहरू बताउँछन् । प्यान बिल भने आफूहरूसँग रहेको र यसमा कारोबार गर्दा खासै झन्झटिलो नहुने हुनाले कृषि तथा तरकारी उत्पादन गर्ने कृषकहरूका हकमा राज्यले सहज गरिदिनुपर्ने व्यावसायिक तरकारी उत्पादक कृषकहरूको आग्रह छ ।
तरकारी उत्पादक कृषकहरूसँग तरकारी किनेर बिचौलियाका नाममा व्यापार गर्नेहरूसँग सरकारले भ्याट बिल लिंदा उचित हुने तर वास्तविक तरकारी उत्पादन गर्ने कृषकहरूलाई झन्झटिलो पार्न नहुने उनीहरूको तर्क छ । अघिल्लो पुस्ताले व्यावसायिकरूपमा गर्दै आइरहेको पेशालाई आफूले पनि अँगाल्दै आएको कृषक नियाजले बताए । तर स्थानीय उत्पादन कच्चा वस्तु भएकोले बेलैमा बिक्री गर्न नसक्दा पूरै घाटा बेहोर्नुपरेको उनको भनाइ छ । नियाजले २२ कट्ठामा गोलभेंडा, १८ कट्ठामा काउली, पाँच कट्ठामा मूलालगायतका व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।
तीन वर्षअघिसम्म व्यावसायिक तरकारी उत्पादन पकेट क्षेत्र निजगढ नपा–९ शान्तिटोलबाट दैनिक २/३ वटा पिकअप भ्यान तरकारी उठाउने गरे पनि उचित मूल्य नपाउँदा अहिले यहाँका धेरै कृषक कृषि व्यवसाय छाडेर अन्य व्यवसायतर्फ पलायन भएको उनले बताए ।
एक दशकसम्म निरन्तर व्यावसायिकरूपमा तरकारी उत्पादन गर्दै आइरहेका स्थानीय दीपक खतिवडाले यस्तै अनावश्यक झन्झट आइलाग्ने देखेर अहिले पेशा परिवर्तन गरेको बताए । उनले गाउँमा नै कुटानीपिसानी मिल सञ्चालन गर्दै अहिले मिनी राइसमिल सञ्चालन गरेको बताए ।
दिनरात केही नभनी तरकारी उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कृषकहरू पेशा व्यवसाय परिवर्तन गर्न बाध्य भएको निजगढ नपा–९ शान्तिटोलका अर्गानिक तरकारी उत्पादक कृषक होमनाथ धितालले बताए । तरकारी होस् वा अन्य बालीलाई विषादीमुक्त गरी अर्गानिक खेती गर्नुपर्ने, अर्गानिक तरकारी बिक्रीबाट बढी मूल्य निर्धारण गर्न कृषकहरू एकमत हुनुपर्ने उनले सुझाए ।
हामी व्यावसायिक तरकारी उत्पादक कृषकहरू तरकारी बिक्रीका लागि एकमत नहुन्जेलसम्म यस्तै समस्या र मर्का भोगिरहनुपर्ने उनको भनाइ छ । स्थानीय सरकारले कृषकहरूका समस्या र उत्पादित वस्तुको बजारीकरण, उचित मूल्य तोकिदिन र कार्यान्वयनमा ल्याइदिने हो भने तरकारी किसानहरूलाई धेरै सजिलो हुने धितालले बताए । स्थानीय सरकारले बिचौलिया रोक्न नसकेको कारण तरकारी किसानहरू आर्थिक नोक्सानमा परेको उनको बुझाइ छ ।