नरेश यादव, पर्सागढी, २३ माघ/

वीरगंज महानगरपालिकापछि स्वास्थ्य कार्यालय, पर्साले भोलि सोमवारदेखि पर्साका १३ वटा पालिकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिंदैछ ।

यसअघि खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय बन्द गरिएकोमा जिल्ला विपद् व्यवस्थापन समितिले पर्सा जिल्लामा खोप नआएको कारण माघ २४ गतेदेखि खोप दिने निर्णय गरेको थियो ।

वीरगंज महानगरपालिकाका ३२ वटा वडामा रहेका विद्यालयहरू र तोकिएका खोप केन्द्रबाट १२ देखि १७ वर्ष उमेर समूहको पहिचान खुल्ने परिचयपत्रसहित सबैलाई कोरोनाविरुद्धको खोप दिइएको थियो । महानगरपालिकामा यसअघि पनि यो उमेर समूहका ८० प्रतिशत विद्यार्थीले कोरोनाविरुद्धको खोप लिइसकेका छन् ।

खोप लिएकै कारण महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू अहिले पनि सञ्चालनमा छन । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गराएको र जिल्लामा माघ १६ देखि २० गतेसम्म १२ देखि १७ वर्ष उमेर समूहलाई खोप दिने सरकारी नीति खोप अभावले सफल हुन सकेको थिएन ।

प्रदेश सरकारले स्वास्थ्य कार्यालय, पर्सालाई माग बमोजिमको खोप उपलब्ध नगराएको कारण सो अवधिमा खोप नदिए पनि विद्यालय बन्द नै थिए । विद्यार्थीहरूलाई खोप दिएपछि मात्र विद्यालय सञ्चालन गर्नुपर्ने माग भएको र प्रदेश सरकारले माघ १९ गते ७८ हजार खोपको मात्रा पठाएपछि पहिलो चरणमा वीरगंज महानगरपालिकामा खोप दिइएको थियो । महानगरमा माघ २० देखि २२ गतेसम्म र बाँकी १३ वटा पालिकामा माघ २४ देखि २६ गतेसम्म खोप दिने कार्यक्रम तय गरिएको छ ।

यसैबीच, पर्सागढी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उमेश साहले विद्यालयहरू र तोकिएका स्वास्थ्य केन्द्रमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी र अन्यले उमेर समूह खुल्ने परिचयपत्रसहित खोप केन्द्रहरूबाट खोप लिन सक्ने बताए ।

नेपाल शिक्षक महासङ्घ, पर्सागढी नपाका अध्यक्ष रामबहादुर चौधरीले खोपकै कारण हालसम्म विद्यालय बन्द रहेको र अब खोप दिने कार्य सम्पन्न भएपछि विद्यालयहरू सञ्चालनमा आउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here