प्रस, ठोरी, २३ माघ/

ठोरी गाउँपालिका–४ घ्याङडाँडामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालय नवनिर्मित सरस्वती मन्दिरको आइतवार सरस्वतीपूजाको दिन उद्घाटन भएको छ । सरस्वती मन्दिर निर्माणकर्ता विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष शुक्रबहादुर श्रेष्ठ र निजकी पत्नी तिलमाया श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

समाजसेवी श्रेष्ठले विसं २०४७ सालमा विद्यालय स्थापना गर्न पनि अग्रणी भूमिका खेलेका
थिए । उनले त्यतिखेर विद्यालय स्थापना गर्न घरघरबाट अन्नपात सङ्कलन गरी काठको घर बनाएर विद्यालय सञ्चालनमा ल्याएका थिए ।

श्रेष्ठ हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बस्छन् । श्रेष्ठले करीब रु पाँच लाख ५० हजार खर्च गरेरमा मन्दिरसहित मूर्तिको काम सम्पन्न भएको जानकारी गराए । मन्दिर निर्माणमा श्रेष्ठका छोरा हाल अमेरिकामा रहेका तिलक श्रेष्ठले विद्यालयमा बुबाको पनि योगदान जोडिएकोले त्यसलाई आगामी पुस्ताले पनि सम्झिरहोस् भनी आर्थिक सहयोग गरेर मन्दिर निर्माण कार्य सम्पन्न गराएका हुन् । एनआरएन अमेरिकाका पूर्वअध्यक्ष श्रेष्ठले बुबाको इच्छा पूरा गरी मन्दिर निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश श्रेष्ठले सरस्वती मन्दिर निर्माण गरेकोमा श्रेष्ठ परिवारलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा ठोरी गापाकी उपाध्यक्ष शान्तिमाया थिङ, वडाध्यक्ष बईबहादुर तामाङ, पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठ, गापा बोर्ड सदस्य कान्छीमाया थिङ, प्रअ पिताचन्द्र ढुङ्गेल, मन्दिर निर्माण समितका संयोजक रणबहादुर श्रेष्ठलगायत शिक्षक, विद्यार्थीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here