प्रस, निजगढ, २३ माघ/
एनटिसीको सिमकार्ड भएका निजगढ नगरपालिका–११ रतनपुरका सेवाग्राही मर्कामा परेका
छन् । सञ्चार सेवाको पहँुचमा नागरिकहरूलाई सहभागिता गराउने सरकारले प्रतिबद्धता गर्दै आए पनि रतनपुरवासीहरूको लागि सरकारको यो प्रतिबद्धता खोक्रो साबित भएको छ ।
पहिला एनसेलको सिमकार्डबाट फोन सम्पर्क हँुदै आए पनि पछि निजगढ नपा–१२ कुलियामा एनटिसीको टावर जडान भएपछि यहाँका मानिसहरूले एनसेलको सिमकार्ड छाडेर एनटिसीको सिमकार्ड प्रयोगमा ल्याएका थिए । तर दुई वर्षदेखि एनटिसीको सेवामा समस्या आएको छ र यसबारेमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएको छैन ।
निजगढ नपा–११ रतनपुरका अध्यक्ष प्रेमबहादुर रुम्बाले दुई वर्षदेखि समस्या आएको बताए ।
रतनपुरको हाटबजार, विद्यालय, मुख्यबस्ती आसपाससँगै वडामा नै नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको वडाध्यक्ष रुम्बाले प्रतीकलाई बताए । उनले यो क्षेत्रमा एनटिसीका १५ सय ग्राहक रहेको र सबैको समस्या समान भएको बताए ।
उनले भने– कहिलेकाहीं मोबाइलमा टावर देखाउँछ तर फोन सम्पर्क भने हँुदैन । कुनै बेला सम्पर्क भएपनि आवाज स्पष्ट नहुने र बीचबीचमा सेवा अवरुद्ध हुने गरेको छ । उनले सेवा अवरुद्धबारे दुई वर्षदेखि अहिलेसम्म सुनवाइ नभएको आरोप लगाए ।
नेपाल टेलिकम निजगढका प्रमुख जगत चौधरीले रतनपुरलाई कभर गर्ने गरी वडा नं १२ कुलियामा टावर मरम्मत भइरहेको बताए । उनले वनक्षेत्रबीचमा बस्ती भएकोले बेलाबखत समस्या हुने गरेको बताए । उनले प्राविधिक टोलीबाट समस्याको समाधान गर्नेतर्फ पनि पहल भइरहेको बताए ।