राधेश्याम पटेल, परवानीपुर, २१ माघ/

वीरगंजका बैंकहरू नाफाखोरी संस्थाको रूपमा परिणत हुँदै गएको यहाँका व्यवसायीहरूले आरोप लगाएका छन् । बैंकहरू पहिले निश्चित नाफा लिएर परोपकारी सेवा उपलब्ध गराउने संस्थाको रूपमा चिनिन्थे भने अहिले नाफामूलक कारोबारमा मात्र केन्द्रित भएको व्यवसायीहरूको आरोप छ ।

वीरगंजका एकजना व्यवसायीले दर्जनौं वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूमा अहिले ऋण पाउन समस्या भइरहेको बताए । विगत अढाई महीनादेखि यस्तो समस्या देखा परेको उनले बताए । देशभरि नै आर्थिक तरलता सिर्जना भएको अवस्थामा वीरगंजका बैंकहरूले पनि सिन्डीकेट लागू गर्दै ऋण दिनबाट हिचकिचाउने, आलटाल गर्ने गरेको पााइएको छ ।

“उद्योग–व्यवसायको कामको लागि ऋण माग्न जाँदा अहिले पैसा छैन भन्छन्, हामी हेड अफिसमा बुझेर खबर गर्छौं,” भन्ने गरेको वीरगंजका एकजना प्रतिष्ठित व्यवसायीले बताए । तर ब्याजको प्रिमियम रेटमा बढोत्तरी गरेर ऋण दिन पैसा रहे पनि त्यसमा पनि बार्गेनिङ भइरहेको ती व्यवसायीले आरोप लगाए ।

अहिले ब्याजदर करीब १२ प्रतिशत पुगेको व्यवसायीहरूको भनाइ छ जबकि पहिले साढे पाँच प्रतिशत बेस रेट र ८० पैसा प्रिमियम लिन्थे भने अहिले ८ प्रतिशत बेस रेट र ४ प्रतिशत प्रिमियम गरी कुल १२ प्रतिशत अफर गरिरहेको वीरगंजका व्यवसायीहरूको भनाइ छ । अर्थात् अढाई महीनाअगाडि एक करोड रुपैयाँ ऋण लिंदा छ लाख मात्र वार्षिक ब्याज तिर्नुपथ्र्यो भने अहिले व्यवसायीहरूले सोको दोब्बर अर्थात् १२ लाख तिर्नुपर्ने अवस्था आएको बताए ।

व्यवसायीले ६ लाखको ठाउँमा १२ लाख तिर्दा आफूहरूलाई उद्योगधन्दा चलाउन झन् सास्ती भएको उनले बताए । हरेक वर्ष असारदेखि असोजसम्म आर्थिक तरलता नहुने गरेको तर बैंकर्स एशोसिएशनको सिन्डीकेटको आधारमा हरेक बैंकले नाफा कमाउन आर्थिक तरलताको अवस्था सिर्जना भएको देखाएर बर्सेनि आफ्नो नाफा बढाउनेतर्फ अग्रसर भएको व्यवसायीहरूको गुनासो छ । करोडौं रुपैयाँ खर्च गरेर व्यवसाय गरिरहेका व्यवसायीले वर्षमा दुई/तीन करोड मुनाफा गर्न धौधौ भइरहेको अवस्थामा एउटा बैंकले बर्सेनि २–३ अर्ब रुपैयाँ मुनाफा गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले पनि वाणिज्य बैंकलाई नियन्त्रण नगरी नाफाखोर संस्थाको रूपमा कारोबार गर्न दिने नीति बनाएको व्यवसायीहरूको आरोप छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले हालै जारी गरेको विज्ञप्तिमा नेपालमा डलर सञ्चितिको अवस्था डगमगाएकोले डलर टिआर (ट्रस्ट रिसिप्ट) ऋण दिनबाट नियन्त्रण गर्न खोज्दा व्यवसायीहरूले दुःख व्यक्त गरेका छन् । एक महीनाअगाडि विदेशबाट मालसामान आयात गर्दा बैंकहरूले छ महीनाको लागि अढाईदेखि तीन प्रतिशत ब्याजदरमा डलर टिआर ऋण दिन्थे भने अहिले बैंकहरूले दोब्बर अर्थात् सात प्रतिशत ब्याजदरमा डलर टिआर ऋण स्वीकृत गरिरहेका छन् । जुन व्यवसायीहरूलाई ठग्ने नेपाली बैंकको नीति हुन सक्ने व्यवसायीहरूको आकलन छ ।

यस विषयमा बैंकर्स एशोसिएशन वीरगंजका अध्यक्ष नितेश खड्गीसँग बुझ्दा सिडी (क्रेडिट टु डिपोजिट) रेसियो अधिकतम ९० प्रतिशत हुनुपर्नेमा ९२ प्रतिशत पुगेकोले ब्याजदर बढेको हुन सक्ने बताए । जस्तैः बैंकसँग निक्षेपमा रहेको रु सयमध्ये रु नब्बे मात्र लगानीयोग्य रकम हो, जुन अहिले बढेर रु ९२ लगानी भइसकेकोले आर्थिक तरलता भएको बताउँदै उनले डलर टिआरमा पनि अहिले राष्ट्र बैंकले ब्याजदर बढाएकोले बैंकहरूले पनि ब्याजदर बढाएको बताए ।

उनले पहिले बैंकहरूको साढे सातदेखि आठ प्रतिशत बेस रेट थियो भने अहिले बेस रेट नै साढे आठदेखि नौ प्रतिशत पुगेको हुँदा कर्जा लगानीमा ब्याजदर बढेको स्पष्ट पारे । साथै उनले मुद्दती खातामा साढे १० प्रतिशतसम्म ब्याज दिए पनि अनुमान गरे अनुसार ग्राहकहरूबाट निक्षेप नआएको बताए । सरकारले पूँजीगत खर्च बढाउन नसक्दा सरकारी ढुकुटीमा अर्बौं रुपैयाँ थुप्रिदा पनि बजारमा आर्थिक तरलता देखिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here