प्रस, ठोरी, २१ माघ/
तोरीको लागि उर्वर क्षेत्र मानिने पर्साको ठोरी गाउँँपालिकाका किसानले यस वर्ष तोरीमा राम्रो मूल्य पाएका छन् । अघिल्लो वर्षसम्म एक पाथी (साढे तीन किलो) तोरी रु ३ सयमा बिक्री गरेका किसानले यस वर्ष त्यति नै तोरी रु ३४० सम्म बिक्री गरेका छन् भने प्रतिपाथी रु २६० बाट शुरू भएको यस वर्षको तोरीको मूल्य वृद्धि हुने क्रम अझै रोकिएको छैन ।
यहाँ तोरी खरीद गर्ने व्यापारीले किसानको खेतमा नै पुगेर तोरी खरीद गर्ने गरेका छन् । व्यापारीले पाथीको प्रयोग गरेर तोरी खरीद गर्ने गर्छन् । करीब डेढ दशकअघिसम्म नगदेबालीको रूपमा तोरी मात्र खेती हुने वडा नं ४ मा किसानले तोरीको उचित मूल्य नपाउँदा विकल्पमा सुर्तीखेती लगाउने गरेका छन् । तर बितेको दुई वर्षयता तोरीको बजार भाउमा भएको वृद्धिले यस वर्ष तोरीखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको स्थानीयहरू बताउँछन् ।
प्रतिपाथी रु ३४० मा तोरी बेचेको अहिलेसम्मकै इतिहासमा पहिलोपटक भएको ठोरी–४ का स्थानीय किसान जयबहादुर श्रेष्ठले बताए । पहिले पहिले तोरीको मूल्य राम्रो नपाउँदा सुर्ती लगाउने गरेको भएपनि पोहोर सालदेखि फेरि तोरी लगाउन थालिएको उनको भनाई छ ।
खेतमा नै पुगेर तोरी किन्न व्यापारीहरूबीच प्रतिस्पर्धा नै चलेको छ यतिबेला ठोरीमा । व्यापारीको प्रतिस्पर्धाका कारण एकै दिनमा नै प्रतिपाथी रु ४० सम्म तोरीको मूल्यवृद्धि भएको किसानहरू बताउँछन् । मागको अनुपातमा तोरीको उत्पादन कम भएको र चितवन, पर्सालगायतका ठाउँका ठूला व्यापारी नै तोरी किन्न आएका कारण तोरीको मूल्य निरन्तर उकालो लागेको एकजना व्यापारीले बताए ।
काठमाडौं, हेटौंडा, नारायणगढलगायत बाहिर रहेका आफन्तहरूले तोरी किनेर राखिदिन आग्रह गरेको भएपनि खेतमा नै व्यापारीको हानाथाप हुँदा तोरी किन्न नसक्ने अवस्था आएको ठोरी–४ का स्थानीय प्रेम श्रेष्ठले बताए । उनले तोरीको बिहान र बेलुकाको मूल्य नै फरक पर्न थालेपछि आफन्तलाई तोरी किनिदिन नै गा¥हो परेको सुनाए ।
ठोरीका सबै वडामा तोरीखेती हुने गरेको भएपनि अन्य वडाको तुलनामा वडा नं ४ मा सबैभन्दा धेरै क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । विशेषगरी सुर्तीखेतीको चापले घट्दै गएको यहाँको तोरीखेती गत वर्षदेखि विस्तार हुन थालेको हो ।
तर गत वर्षदेखि तोरीको बजार भाउ बढेपछि सुर्तीखेती कम गरेर तोरी लगाउन फेरि शुरू गरिएको सोही वडाका अर्का किसान ठूलोकान्छा तामाङले बताए । उनका अनुसार सुर्तीखेतीभन्दा सजिलो भएकोले पनि तोरी लगाउन सजिलो छ । तोरी छरेपछि गोडमेल र सिंचाइ गर्न नपर्ने तथा एकैपटक उखेलेर बिक्री गर्न मिल्ने भएकोले किसानहरू पुनः तोरीखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
विगत दुई वर्षयता ठोरीको वडा नं ४ का किसानले लगाएको धान र मकै बालीमा मौसमले साथ नदिंदा उत्पादन ह्वात्तै घटेको छ । तर त्यसको ठीक विपरीत दुई वर्षयता तोरीखेतीलाई भने मौसमले साथ दिएको छ ।
यहाँका कतिपय किसानले प्रति १० कट्ठामा आठ मुरीसम्म तोरी फलाएका छन् । तोरीमा यस वर्ष कीराको प्रकोपसमेत खासै नदेखिएको किसानहरू बताउँछन् ।