प्रस, सेढवा, २१ माघ/
गहुँबालीको लागि अहिले आवश्यक युरिया मलको पुनः अभाव भएको छ । गहुँबालीका लागि सिजनमा तीनपटक मल आवश्यक पर्छ र यो अन्तिमपटकमा पनि मलको अभाव किसानहरूले झेल्नुपरेको छ ।
पहिलो चरणमा बीउ छर्ने बेलामा मलको अभाव झेलेका किसानहरूले दोस्रो चरणमा बीस दिनपछि पनि मलको अभाव झेलेका थिए । किसानहरूले अहिले बाली सप्रिने बेलामा अन्तिमपटक दिनुपर्ने युरिया मलको अभाव पनि झेलिरहेका छन् ।
बेमौसमी वर्षाका कारण गहुँको बालामा केही भाग पहेंलो देखिएकोले युरिया मल छर्नुपर्ने आवश्यकता भएको जीराभवानी गाउँपालिका–२ सेढवाका जयद्रथ चौधरीले बताए । उनले बजारमा मल अभाव भएको र किसानहरू भारतबाट मल ल्याउन बाध्य भएको बताए ।
सीमावर्ती भङ्गाहा, इनर्वा बजारबाट किसानहरूले महँगो दरमा मल खरीद गर्नुपर्ने र तौलअनुरूपको मल पनि नपाउने गरेको बताए । पटेर्वासुगौली गापा–३ मकवानीटोलका बिगा महरा चमारले नेपाली बजारमा मलको अभाव हुँदा भारतीय सीमावर्ती बजार चहार्नुपरेको
बताए । उनले भारतमा प्रतिकिलो रु २५ मा मल खरीद गर्नुपरेकोले बाली महँगो हुने सम्भावना बढेको बताए । यस वर्ष गहुँखेतीको लागि तीनै चरणमा मल छर्ने बेलामा अभाव झेल्नुपरेको उनको भनाइ थियो ।
मारुतीनन्दन कृषि सहकारी संस्थाका सञ्चालक सत्यनारायण साहले साल्ट टे«डिङ कम्पनीले मल नदिएको बताए । उनले कृषि सामग्री कम्पनीले ६६ बोरा मल दिएको र सबै वितरण भइसकेको तथा थप मल दिन–नदिने विषयमा अन्योलता जाहेर गरेको बताए । किसानहरूले युरिया मल अभाव झेलिरहेका बखत अहिले साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी दुवैमा डिएपी मलको पनि अभाव छ ।