• राजेश मिश्र

यस वर्ष माघ २३ गते आइतवार सरस्वती पूजा परेको छ । त्यसकारण आजको आलेख यसै सेरोफेरोमा आधारित छ । सरस्वती माताको उत्पत्ति कसरी भएको थियो ? यससँगै श्री जिल्ला उचाङ्गल मावि, पोखरियामा सरस्वती माताको मूर्ति र मन्दिर निर्माण कहिले र कसरी भयो ? मन्दिर निर्माणको लागि चन्दा सङ्कलन गर्ने योजना के थियो ? रामदेव कलवारसँग हाम्रो भेट कसरी भयो ? उनले के भनेजस्ता प्रसङ्ग प्रस्तुत छ ।

सरस्वती माताको उत्पत्ति

वसन्त ऋतुलाई ऋतुहरूको राजा भनिन्छ । स्वास्थ्यको दृष्टिकोणले वसन्त ऋतुलाई महŒवपूर्ण मानिन्छ । यस मौसममा तोरीको पहेंलो फूलले सरेह जगमग हुन्छ । आँपको वृक्षमा अङ्कुरित नयाँ फूलले वातावरण मनमोहक बन्छ । चारैतर्फ हरियाली र गुलाबी चीसोले वातावरण प्रसन्नचित्त हुन्छ । मानवदेखि पशुपक्षीहरूमा चेतनाको नयाँ सञ्चार हुन्छ । यी सबै सुखानुभुतिका बावजूद वसन्त ऋतृ भन्ने बित्तिकै सरस्वती पूजा स्मरण हुन्छ ।

पौराणिक मान्यता अनुसार ब्रह्माले सृष्टिको रचना गरे । मनुष्य तथा जीवजन्तु आदि योनिको निमार्ण गरे । यद्यपि संसार स्थिर थियोे । शान्त थियो । यसैबीच ब्रह्माले सृष्टिमा केही कुरा कमी भएको महसूस गरे । अनि उनले कमण्डलबाट जल लिएर छरे । यसरी चार भुजा भएकी एक सुन्दर स्त्री उत्पन्न भइन् । उनको एउटा हातमा वीणा, दोस्रोमा कमण्डल, तेस्रोमा पुस्तक र चौथो हात वरमुद्रामा थियो । ती देवीलाई ब्रह्माले वीणा वादन गर्ने अनुरोध गरे । देवीद्वारा वीणाको मधुर नाद गुञ्जायमान भयो ।

तत्पश्चात् समस्त जीवजन्तुमा वाणी, जलधाराको प्रवाह तथा वायुको सञ्चार भयो र सृष्टि चलायमान–गतिमान भयो । त्यसपछि ब्रह्माले ती देवीलाई वाणीको देवी स्वरूपा ‘सरस्वती’ नाम दिए । माता सरस्वतीलाई वीणावादिनी, शारदा, भगवती, वागीश्वरी र वाग्देवीलगायत अनेकौं नामले स्मरण गरिन्छ । ब्रश्माजीद्वारा देवी सरस्वतीको उत्पत्ति वसन्त ऋतुको पञ्चमी तिथिमा भएको थियो । त्यसकारण प्रत्येक माघ शुक्ल पक्ष पञ्चमीको दिन ज्ञानकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गर्ने परम्परा सदीयौंदेखि निरन्तर छ ।

विसं २०४७ ऐतिहासिक क्षण

विसं २०४७ सालको कुरा हो । म तत्कालीन श्री जिल्ला उचाङ्गल मावि, पोखरियामा कक्षा नौमा अध्यनरत थिएँ । डा सुरेन्द्रनाथ तिवारी प्रधानाध्यापक थिए । कक्षा दशका विद्यार्थीहरूको एसएलसी परीक्षा थियो । त्यसकारण परीक्षाको तयारीमा बाधा पर्ने भनेर कक्षा दशका विद्यार्थीहरूलाई मन्दिर निर्माणको कार्यमा सहभागी गराइएन । कक्षा नौका हामी विद्यार्थीहरू नेतृत्वमा थियौं ।

मावि तहका नेपाली विषयका शिक्षक रामाधार मिश्रको संयोजकत्वमा मन्दिर निर्माण समिति गठन भयो । सदस्यमा कक्षा नौमा अध्यनरत मसमेत दशरथ साह रौनियार, वीरेन्द्र चौहान, जयराम यादव, अम्बिका चौहानलगायत झन्डै १५ जना विद्यार्थी थियौं । चन्दा सङ्कलन गरेर भए पनि मन्दिर निर्माण गर्ने उद्देश्य थियो । सो अनुरूप हामी विद्यार्थीहरू आसपासका प्रत्येक गाउँमा जान तत्पर थियौं । चन्दाका लागि दिउँसो तीन बजेपछि वा छुट्टीको दिन निर्धारित गरिएको थियो । चन्दाका लागि पहिलो दिन बुधवार निर्धारित भयो । शिक्षक रामाधार मिश्रले पश्चिमको यात्रा शुभ र फलदायी हुने भएकोले पश्चिम तर्फ जान सुझाए । पोखरियादेखि पश्चिम सबैभन्दा नजीक वसन्तपुर थियो । दिउँसो करीब १ बजे हामी वसन्तपुरको लागि प्रस्थान
ग¥यौं ।

वसन्तपुर स्थित रामजानकी मठको स्वामित्वमा बिघौं खेतिहर जमीन थियो । उक्त मठ आर्थिकरूपले सम्पन्न थियो । वसन्तपुर जाँदा केही अग्रजहरूसँग बाटोमा भेट भयो । उनीहरूले सोधेपछि हामीले आफ्नो उद्देश्य बतायौं । उनीहरूले दुनियाँ चहार्नुभन्दा सम्भावित ठाउँमा जान भन्दै रामजानकी मठका पुजारीसँग अनुनय विनय गर्न सुझाए । उनीहरूको तर्क थियो, यदि बाबाको कृपा भयो भने चन्दा सङ्कलनका लागि अन्यत्र जानुपर्दैन । सुझाव अनुसार हामी मठतर्फ लाग्यौं । उक्त मन्दिरका पुजारी ‘पहवारी बाबा’ थिए । उनलाई ढोग/दण्डवत गरेपछि आफ्नो उद्देश्य सुनायौं ।

हामीहरूले सोचे अनुरूप उनीबाट प्रतिउत्तर आएन । शुरूमैं हामीहरू निरूत्साहित भयौं । त्यसकारण हामीहरूबीच मुठीदान माग्ने सल्लाह भयो । गाउँमा पस्नै लाग्दा मारकण्डे नामका एकजना परिचित व्यक्तिसँग भेट भयो । ‘केका लागि आएका छौं’ उनले सोधे । हाम्रो उत्तर सुनेपछि उनले रामदेव कलवारसँग भेट गर्न भने । उनी पनि साथ लागे । सम्पन्नतासँगै सामाजिक कार्यमा रामदेव कलवार चर्चित व्यक्तित्व थिए । हामीहरूले पनि उनको नाम सुनेका थियौं तर प्रत्यक्ष उनलाई देखेका थिएनौं ।

कट्टिबलुवाका रामदेव कलवारको वसन्तपुरमा पनि घर थियो । हामी वसन्तपुरस्थित उनकोे निवासमा गयौं । संयोगवश उनीसँग भेट भयो । मार्कण्डे अङ्कलले हाम्रो उद्देश्य बताए । निकै बेरसम्म उनीसँग भलाकुसारी भयो । उनले सरस्वती माताको मन्दिर निर्माणको लागि सकारात्मक सङ्केत दिए । उनी लागत जान्न चाहन्थे, जुन हामीले दिन सम्भव थिएन । शिक्षकको अभिभावकत्वमा उनी कुरा गर्न चाहन्थे । चियापानपछि हामी उत्साहित मुद्रामा फर्कियौं ।

भोलिपल्ट हामीले सारा वृत्तान्त रामाधार मिश्र सरलाई सुनायौं । तत्काल उनी वसन्तपुर
हानिए । रामदेव कलवारसँग भेंट गरे । खर्च आदिबारे कुरा भयो । उनले आफ्नै एकल लागतमा मन्दिर निर्माण गरिदिने तत्परता देखाए । रामाधार सर निकै प्रसन्न मुद्रामा फर्के । त्यसपछि हामी विद्यार्थीहरू भिक्षाटन आदिबाट मुक्त मात्र भयौं । भिक्षाटनको पहिलो दिन नै फलदायी हुनेछ भन्ने हामीले कल्पना नै गरेका थिएनौं ।

रामदेव कलवारको प्रतिनिधिको रूपमा वसन्तपुरका गौरीशङ्करप्रसाद कलवार र विद्यालयको तर्फबाट शिक्षक रामाधार मिश्र शुरूमा भारतको बनारस गए । त्यहाँ खोजेजस्तो मूर्ति उपलब्ध भएन । त्यसपछि दुवैजना राजस्थान गए । राजस्थानस्थित नागौर जिल्लाको मकराना शहर सेतो ढुङ्गा र सङ्गमरमरको लागि प्रसिद्ध छ । भनिन्छ मकरानाको सङ्गमरमरको उपयोग ताजमहल निर्माणमा भएको थियो । त्यहाँ कल्पना भन्दा धेरै महँगा र गुणस्तरीय शिल्पकला उपलब्ध थियो । मलाई सम्झना भएसम्म सम्भवतः दश हजार भारुमा सरस्वतीको मूर्ति बनाउने अर्डर गरेर उनीहरू फर्के । राजस्थानबाट फर्केपछि मन्दिर निर्माणको कार्य दु्रत गतिमा शुरू भयो ।

यता मन्दिर निर्माण र उता सरस्वती पूजाको लागि राशि सङ्कलन गर्ने कार्यले गति लियो । अन्य वर्षको तुलनामा यस वर्षको सरस्वती पूजाको उत्साह र उमङ्ग भिन्दै थियो । मन निकै उत्साहित थियो । पूजाको तयारी चरममा थियो । सरस्वती पूजा केही दिन बाँकी रहँदा शिक्षक रामाधार मिश्र र गौरीशङ्करप्रसाद कलवार पुनः राजस्थान गए ।

लगभग पाँच दिनपछि सरस्वती माताको मूर्ति लिएर फर्के । विद्यालयको एउटा कोठामा माताको मूर्ति राखिएको थियो । ह्दय यति गद्गद् थियो कि हामी विद्यार्थीहरू घरीघरी मूर्ति हेर्न जान्थ्यौं । मन्दिरमा मूर्ति स्थापित भयो । पूजाको एक दिन अघि रङ्गीन कागजले चारैतिर सजाउने कार्य भयो । भोलिपल्ट शिक्षक र विद्यार्थीहरूले विद्यालय प्राङ्गण भरिभराउँ थियो । यता पूजा भइरहेको थियो, उता हलुवाई पुडी, जलेबी, बुनिया र तरकारी बनाउने काममा व्यस्त थिए ।

विसं २०४७ ऐतिहासिक क्षण थियो जुन कहिल्यै बिर्सन सकिंदैन । दाता रामदेव कलवार केही महिना अघि स्वर्गवासी भए । सरस्वती मन्दिरसँगै विद्यालय भवन निर्माणमा उनकोे योगदान अविस्मरणीय छ । तत्कालीन प्रधानाध्यापक डा सुरेन्द्रनाथ तिवारी, स्वर्गीय शिक्षक रामाधार मिश्रलगायत सम्मूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकजनको सहयोगले मन्दिर निर्माणको मनोकाङ्क्षा सफल भएको थियो । अहिले श्री जिल्ला उचाङ्गल रामदेव कलवार प्राविधिक नमूना माध्यमिक विद्यालय, पोखरियाको नामले चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here