• उमाशङ्कर द्विवेदी

अर्जुनको हातबाट जयद्रथको तथा भीमको हातबाट आफ्ना भाइहरू मरेको हेरेर के मन्दबुद्धि दुर्योधन बाचेका वीरहरूको रक्षा गर्नकोलागि हामीसित वैर त्यागेर संधि गर्न चाहने छ ? यस प्रकार एकातिर महाराज युधिष्ठिर करूणाद्र भएर नानाथरिका अड्कल काढ्दै थिए र अर्कोतिर तुमुल संग्राम भइरहेको थियो ।

धृतराष्ट्रले भने–सञ्जय, मैले त यस्तो कुनै पनि वीरलाइ देखिरहेको छैन, जो रणाङ्गणमा क्रोधित भीमसेनको सामु टिक्न सकोस । जसले रथमाथि रथ बजारि दिन्छ, हात्तीमाथि हात्ती बजारिदिन्छ, उसको सामु मान्छे त के साक्षात इन्द्र पनि टिक्न सक्दैनन् । मलाइ भीम जस्तो भय न अर्जुनबाट छ न त श्रीकृष्णबाट, न सात्यकिबाट, न धृष्टद्युम्नबाट नै छ । सञ्जय, मलाइ यो बताउ कि भीम रूपी प्रचण्ड पावकले मेरा पुत्रहरूलाइ भस्म पार्न लागेको बेला कुन कुन वीरहरूले उसलाइ रोके ?

सञ्जय भन्न थाले–राजन्, भीमसेनले भीषण गर्जना गर्न थाले पछि महाबली कर्ण पनि बडो भीषण सिंहनाद गर्दै युद्ध गर्नको निम्ति उनको सामु आए । भीमसेनले कर्णलाइ आफू सामु आएको देखेर क्रोधले मुर्मुरिएर उनीमाथि वाणवर्षा गर्न थाले । कर्णले पनि वाण वर्षा गर्दै भीमको प्रहारलाइ दृढतापूर्वक सहन गरे । त्यतिबेलाको भीमसेनको भीषण सि.हनाद सुनेर अनेकौ योद्धाहरूको धनु–वाण हातबाट अनायासै भूइंमा झरे, धेरै जनाको हातबाट हतियार झरिहाल्यो, कसै कसैको प्राण नै निस्किहाल्यो तथा उनीहरूका जुन हात्ती घोडा आदि वाहनहरू थिए तिनीहरू भयभीत भइ निरूत्साहित हुदै मल–मुत्र त्याग गर्न थाले ।

यो हेरेर कर्णले बीसवटा वाण हाने तथा पाँचवटा वाण हानेर उनको सारथिलाइ घाइते पारिदिए । भीमसेनले पनि उनको धनुष काटिदिएर दशवटा वाण हानि कर्णलाइ घाइते पारिदिए । अनि उनले बडो वेगको साथ तीनवटा वाण उनको छाती ताकि हाने । यसको भीषण चोटले कर्णलाइ विचलित पारिदियो तर फेरि कर्ण कानसम्म धनुष तानि उनीमाथि वाणवर्षा गर्न थाले । अनि भीमसेनले एउटा क्षुरप्र नामक वाण हानेर उनको धनुष काटि दिए तथा एउटा भल्ल नामक अस्त्र हानेर उनको सारथिलाइ रथबाट तल खसालि दिएर रथको चारवटै घोडाहरूलाइ धराशायी पारि दिए । यसबाट भयभीत भइ कर्ण तुरून्तै आफ्नो रथबाट हाम्फालेर वृषसेनको रथमाथि गइ
बसे ।

यस प्रकार संग्राममा कर्णलाइ परास्त गरि भीमसेन मेघको समान गर्जना गर्न थाले । त्यस सिंहनादलाइ सुनेर धर्मराजले थाहा पाइ हाले कि भीमसेनले कर्णलाइ परास्त गरिदिएका छन । यसबाट उनी अत्यन्त प्रसन्न भए । यता तपाइको पुत्र दुर्योधनले हाम्रो सेनालाइ छिन्न–भिन्न भएको तथा अर्जुन, सात्यकि र भीमलाइ जयद्रथको नजिक पुगेको हेरेर उनी बडो तीब्रताका साथ द्रोणाचार्यको नजिक गइ भन्न थाले–आचार्य, अर्जुन, सात्यकि र भीमसेन–यी तीन महारथिहरू हाम्रो यस विशाल वाहिनीलाइ परास्त गरि बेरो–टोक सिन्धुराज जयद्रथको छेउमा पुगि सकेका छन । यी तीनैजना कसैको पनि काबूमा आउन सकेनन र त्यहा पनि हाम्रो सेनाको संहार गरिरहेकाछन ।

गुरूज्यु, सात्यकि र भीमसेनले कसरी तपाइलाइ परास्त गरि त्यहासम्म पुग्न सके ? यो कुरा त समुद्रलाइ सुकाइदिने समान संसारलाइ आश्चर्यमा पार्ने खालको छ । यी तीनै महारथिहरूले तपाइलाइ नाघेर गइसकेपछि मलाइ निश्चय भइरहेको छ कि यस संग्राममा आभागी दुर्योधनको नाश अवश्यम्भावी छ । जे हुनु थियो त्यो त भइ नै सक्यो, अब अगाडिकोलागि विचार गर्नुहोस् र सिन्धुराजको रक्षा गर्नकोलागि जे गर्न उचित छ, त्यसको निश्चय गरेर सोही बमोजिम प्रबन्ध गर्नु होस ।

द्रोणले भने–यति बेला हाम्रो जुन कत्र्तव्य हुनु पर्दछ त्यो सुन । हेर, पाण्डवहरूको तीन महारथिहरू हाम्रो सेनालाइ नाघेर भित्र छिरेका छन । यति बेला जयद्रथ क्रोधित अर्जुनबाट अति भयभीत भएका छन । उनको रक्षा गर्न हाम्रो ठूलो कत्र्तव्य हुन आएको छ । त्यसैले हामीले प्राणको पनि परवाह न गरेर उनको रक्षा गर्नु पर्दछ । यस युद्धद्यूतमा हाम्रो जीत–हार उनीमाथि नै अवलम्बित छ । अतः जहां बडे बडे धनुर्धरहरू जयद्रथको रक्षा गर्नमा तत्पर छन त्यहा तिमी पनि छिटो जाउ र उनको रक्षा गर । म यही बसेर तिम्रो लागि अरू पनि योद्धाहरूलाइ पठाउने छु र स्वयं पाञ्चाल, पाण्डव तथा सृञ्जय वीरहरूलाइ अगि बढ्नबाट रोक्नेछु ।

आचार्यको यस्तो आज्ञा सुनेपछि दुर्योधनले आफूमाथि यो भीषण भार लिएर आफ्ना अनुयायीहरूका साथ तुरून्तै त्यहाबाट हिडे । जतिबेला अर्जुनले कौरवसेनामा प्रवेश गरेका थिए त्यति बेला कृतवर्माले उनको चक्ररक्षक उत्तमौजा र युधामन्युलाइ भित्र छिर्न दिएका थिएनन । अब उनीहरू बाहिरै बाहिर बीचबाट सेनामा छिरेर अर्जुनको छेउमा पुगिगए । यो हेरेर कुरूराज दुर्योधन बडो तीब्रताका साथ उनको छेउमा गएर दुबै भाइहरूको साथमा डटेर युद्ध गर्न थाले । अनि युधामन्युले तीसवटा वाणबाट दुर्योधनमाथि, बीसवटा वाणबाट उनको सारथिमाथि र चारवटा वाणबाट उनको घोडामाथि प्रहार गरे । क्रमशः…।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here