हाम्रो मुलुकका संरक्षित क्षेत्रहरूमा बाघ तथा गैंडा गणना कार्य आवधिकरूपमा गरिंदै आएको
छ । हुनत अन्य जङ्गली जनावर एवं संरक्षित पक्षीहरूको पनि गणना गरिन्छ । तर संरक्षित क्षेत्र केन्द्रित रही गरिने, धेरै खर्च लाग्ने र विशेष चर्चा हुने गरेको भने बाघ र गैंडा गणना नै
हो । बाघ तथा गैंडा छुट्टाछुट्टै गणना गरिने भएपनि यसको तरीका एकै किसिमको छ । दुवै जनावरको लागि सम्बन्धित संरक्षित क्षेत्रलाई विभिन्न ब्लकमा विभाजन गरी स्वचालित क्यामराबाट ट्यापिङ प्रविधि अपनाएर गरिन्छ । यसरी गणना गर्दा उनीहरू हिंड्ने, पानी पिउने वा दिसापिसाब गर्ने वा चरण क्षेत्र पत्ता लगाएर क्यामरा जडान गरिन्छ । क्यामराको निश्चित क्षेत्रमा जनावर, मानिस वा कुनै पनि प्राणी देखा परेपछि क्यामरा आफैं क्लिक भएर फोटो कैद हुने हो । यसरी विभिन्न क्षेत्रमा राखिएका क्यामराका फोटोबाट जनावरको सङ्ख्या पत्ता लाग्ने हो । एउटै जनावर क्यामरामा दोहोरिएको भए सोसमेत छुट्टयाउन सकिने भएकोले अपवादबाहेक जनावरको सङ्ख्या, जात, लिङ्ग पहिचान गर्न सहज हुन्छ ।
जङ्गली जनावर गणना कार्यका लागि जङ्गलमा जडान गरिएका क्यामराहरू हराउने क्रम जारी छ । उक्त क्यामरा अन्य प्रयोजनका लागि खासै काममा आउँदैन, फेरि पनि चोरी भइरहेका
छन् । संरक्षित क्षेत्रमा टाढाका मानिस आएर क्यामरा चोरेको पक्कै पनि होइन । जङ्गलमा नियमित वा अनियमित तरीकाले आवतजावत गर्नेहरूले नै क्यामरा चोरी गरेका हुन् । कुनै पनि संरक्षित वन क्षेत्रमा अनुमतिविना प्रवेश गर्न पाइँदैन । अनुमतिविना जङ्गल प्रवेश गरेका चोरी शिकारी वा काठ तस्करहरू पनि क्यामराको क्षेत्रभित्र परेमा फोटो कैद हुन सक्छ । यसर्थ उनीहरूले आफ्नो कर्तुत लुकाउनका लागि क्यामरा चोरी गर्छन् । अर्कोतर्फ कतिपयले जनावर गणनाका क्यामरा निकै उपयोगी हुन सक्ने अनुमानमा अज्ञानतावश चोरी गरेका हुन्छन् । यसले जनावर गणना कार्यमा अवरोध त पुगेको छ नै सरकारी तथा दातृ निकायलाई आर्थिक क्षतिसमेत भइरहेको छ ।
क्यामरा चोरी भइरहेको क्षेत्र संरक्षित क्षेत्र हो । संरक्षित क्षेत्र भनेको निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा क्यामरा चोरी कसरी भयो ? अनधिकृत मानिस प्रवेश भइरहेको कुरा चोरीले पुष्टि गर्छ । सबैभन्दा पहिले निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई जवाफदेह्ी बनाउनुपर्छ । संरक्षित क्षेत्र आसपासका क्षेत्रमा मध्यवर्ती क्षेत्र घोषणा गरिएका छन् । त्यहाँ संरक्षणका लागि उपभोक्तालाई सङ्गठित गरिएका हुन्छन् । आसपासको क्षेत्रकै बाटो भएर चोर भित्र प्रवेश गर्ने हुन् । घटनाले मध्यवर्ती क्षेत्रमा राजस्व लगानी कतै बालुवामा पानी त भइरहेको छैन भन्ने प्रश्नचिह्न खडा भएको छ । यसको साथै हरेक गणनामा क्यामरा चोरी भइरहेको घटना बाहिरिएका छन् । क्यामरा चोरी नियन्त्रण तथा कारबाईका लागि सरकारले पनि थप उपायहरू अवलम्बन गर्न चाहिरहेको छैन । संसार प्रविधिको विकासमा धेरै अगाडि पुगिसकेको छ । जसरी सिसिटिभी क्यामरा चोरी भएपनि चोरी हुँदाअघिसम्मको म्यासेज नियन्त्रण कक्षमा पठाउँछ, त्यसैगरी जनावर गणनाको क्यामराको पनि नियन्त्रण कक्ष हुनुपर्छ । विद्युत्को लागि मिनी सोलार प्रणाली जडान गरेर ऊर्जा चार्ज गर्न सकिन्छ । यसो भएमा कसले क्यामरा चो¥यो भन्ने कुरा पनि पत्ता लाग्छ र त्यसलाई कारबाई गर्न सकिन्छ । केही बजेट बढी पर्ने र नयाँ प्रविधि प्रयोग गर्नुपर्ने झन्झटमा निकुञ्ज विभाग तथा सरकार हरेक अभियानमा अवरोध झेलिरहेको
छ ।