प्रस, वीरगंज, १८ माघ/

भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेको नेपालस्थित भारतीय राजदूतावासको कार्यालय, काठमाडौंले जनाएको छ ।

परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउनुका साथै दुवैतर्फका सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबूत बनाउनेछ ।

यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटीअनुरूप रहेको र उक्त पुलको निर्माण चाँडै शुरू गर्ने योजना रहेको नेपालस्थित भारतीय राजदूतावासको कार्यालय, काठमाडौंले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here