देशमा अहिले दुईजना पात्रको अभिव्यक्तिमा लगाम कस्ने काम भइरहेको छ । त्यो पनि यस कारण कि दुवै पात्र अशक्त प्राणीमा दरिन्छन् । मन्त्री रेणु यादवले रौतहटमा बोलेको कुरालाई लिएर आजसम्म विभिन्न निकायबाट कुण्ठा अभिव्यक्त भइसकेको छ र अद्यापि हुँदैछ । त्यस्तै राष्ट्रपतिले स्थानीय निर्वाचन समयमा गराउन र कानून संशोधन गरेर निर्वाचन विलम्ब नगर्ने सल्लाह दिंदा पाङदुरे गठबन्धन सरकारलाई ठूलो पीर परेको छ । अनि राष्ट्रपतिविरुद्ध, जो यस देशको सर्वोच्च पद हो, जसको काम सरकारको गैरसंवैधानिक क्रियाकलापहरूको अनुगमन, निरीक्षण गर्नु हो, सत्ताधारीहरू खनिन पुगेका छन् । राष्ट्रपति पद, केही बोल्नै नहुने, कुनै सल्लाह–सुझाव दिनै नहुने, सत्तामा बस्नेले जे भन्यो त्यसमा लालमोहर ठोक्ने ठाउँ हो भने त्यो काम त हुलाक कार्यालयको एउटा अदना कर्मचारीले अझ राम्ररी गरिदिन सक्छ । अनि किन राज्य कोषमा भारी थप्ने गरी राष्ट्रपति पदको सिर्जना गरियो ? राष्ट्र प्रमुखजस्तो व्यक्तिलाई कुरैपिच्छे अवहेलना गर्ने, मान झार्ने कामले के विरोध गर्नेलाई कसैले बहादुर भन्छ ? त्यस्ता व्यक्तिहरू मनोरोगी हुन्, आफ्नो कुण्ठा महिलाहरूमाथि पोख्छन् ।
मन्त्री यादवले त, पदमा बसेर कसैलाई धम्काउनुहुँदैन भन्ने कुरा बिर्सिन् वा पदीय अनुशासन मिचिन् भन्ने मात्र हो, केपीशर्मा ओली प्रधानमन्त्री भएको बेला मधेस आन्दोलनको क्रममा मधेसीहरू गोली खाएर धमाधम ढलिरहँदा ‘केही पाकेको आम खस्यो भन्दैमा आत्तिनुपर्दैन’ भन्ने उद्गारको खोइ विरोध भएको ? मधेसमा बाहेक ओलीकै विरोधीहरू, जो आज राष्ट्रपतिलाई धम्काउने उद्दण्डता गर्दैछन्, तिनको मुखमा पनि त त्यस बेला बुजो लागेको थियो । किन ? यस कारण कि ओली शक्तिशाली थिए, राष्ट्रपति चाहिं भिजेको बिरालो हुन् ? यस देशले संवैधानिकरूपमा सबैलाई अभिव्यक्तिको स्वतन्त्रता दिएको छ, आज के प्रतिपक्ष्Fी र के सत्ताधारी, जे बोलिरहेका छन् त्यो सभ्य समाजले बोल्ने भाषा हो ? के उनीहरूले धाक–धम्कीको भाषा प्रयोग गरिरहेका छैनन् ? अनि किन मन्त्री यादव र राष्ट्रपति मात्र दैवका पापी ? यस कारणले मात्र कि ती महिला हुन् ? त्यसो हो भने हामीले वर्जना गरेको विभिन्न किसिमका भेदभाव मात्र नौटङ्की हो ? महिलालाई कमजोर ठान्नु, छोइछुटो गर्नु के हो ? त्यसैकाविरुद्ध देशमा कैयौंपटक आन्दोलन भएको होइन ? तिनै आन्दोलनहरूका कारण आजको प्रगतिशील संविधान ल्याइएको होइन ?
मन्त्री यादवले धम्की दिनु निश्चित नै उनको दोष हो, तर यसैले उनले राजीनामा दिने हो भने आज सत्तामा बसेका सबैले राजीनामा दिनुपर्छ । सम्पूर्ण मधेसवादी नेताहरूले सानो कुरामा चित्त नबुझ्दा ‘आन्दोलन कर देगें’ भनेर देशलाई थर्काउने गरेका होइनन्, सिके राउतले मधेसलाई टुक्राउने वक्तव्य दिएर सम्पूर्ण नेपालीको अपमान गरेको होइन, विलासितामा चुर्लुम्म नडुबुन्जेल प्रचण्डले घरीघरी फेरि जङ्गल पस्छौं भनेर देशवासीलाई तर्साएको होइन ? किनकि मन्त्री यादव गठबन्धन सरकारमा सबभन्दा कमजोर र सानो पार्टीको प्रतिनिधित्व गर्दछिन्, किनकि राष्ट्रपति सभ्य र शालीन छिन् त्यसैले जसकसैलाई उनीहरूको उछित्तो काढ्ने हक छ ? के राष्ट्रपति राष्ट्रको गरिमा होइन, त्यस गरिमाको अपमान गर्ने व्यक्तिलाई के कारबाई हुनुपर्दैन ? हो, राष्ट्रपतिले देश र देशवासीविरुद्ध कुनै षड्यन्त्र गरेको हो भने निश्चय नै उनको पनि आलोचना हुनुपर्छ, अभियोग–महाभियोग लगाउनुपर्छ ।