ओमप्रकाश चौधरी/माधव तिमल्सिना, १६ माघ/

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना सङ्क्रमणको कारण माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार बन्द भएका विद्यालयहरू आज आइतवार पर्सा जिल्लामा केही खुले भने केही बन्द नै रहे ।

मन्त्रालयको पछिल्लो सूचना अनुसार १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खुला गर्ने निर्णयअनुरूप
आज केही विद्यालय खुले भने केही बन्दै रहे ।

मन्त्रालयले यस्तो परिपत्र गरे पनि सिएमसीको हालैको बैठकले विद्यालयहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिश गरेको कारण पर्सा जिल्लाका विद्यालयहरू खोल्ने कि बन्द गर्ने भन्ने असमञ्जसमा परेको पटेर्वासुगौली गाउँपालिका–४ पटेर्वा प्राविका प्रअ रामनारायण चौधरीले बताए । उनले पालिकाले खोल्ने वा बन्द गर्ने विषयमा कुनै निर्देशन नगरेको कारण मन्त्रालयको पत्र अनुसार आज विद्यालय सञ्चालन गरिएको बताए ।

ठोरी गापाका सबै विद्यालय आज सञ्चालनमा आए तर खोप नआएको कारण विद्यार्थीहरूलाई खोप लगाउन नसकिएको गापा स्वास्थ्य संयोजक रमेश थिङले बताए । संयोजक थिङले गापा अन्तर्गत स्वास्थ्य चौकीहरूलाई बालबालिकाहरूलाई खोप लगाउन तयारी अवस्थामा राखिएको तर खोप अभावमा कार्य हुन नसकेको बताए । उनले खोप आउने बित्तिकै विद्यालयहरूसँग समन्वय गरेर अभियानलाई तीव्रता दिने बताए ।

ठोरीका विद्यालयहरूले १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरूको अभिलेख तीन साताअघि नै गापालाई उपलब्ध गराइसकेको छ ।

ठोरीमा यो उमेर समूहका दुई हजार ५०० विद्यार्थी रहेको संयोजक थिङले बताए । विद्यार्थीहरू आजबाट आए पनि उनीहरूलाई खोप नलगाइएको कारण भौतिक उपस्थितिमा पठनपाठन गराउन जोखिम हुने देखेर बिदा गरिएको थियो ।

पटेर्वासुगौली, जीराभवानी, जगरनाथपुर गापाका विद्यालयहरू सञ्चालनमा आएको बुझिन आएको छ । महानगरका विद्यालयहरू पनि केही सञ्चालनमा आए भने केही बन्द नै रहे । कोरोनाविरुद्धको खोपको लागि आजदेखि माघ २० गतेसम्म विद्यालय खुला गरिएको हो ।

विद्यालय खुले पनि खोप पुगेन

कोरोनाविरुद्धको खोपका लागि विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आजदेखि विद्यालय खुला गरे पनि खोप भने उपलब्ध भएन । स्वास्थ्य कार्यालय, पर्साका निमित्त प्रमुख नवलकिशोर साहले प्रदेश सरकारबाट खोप उपलब्ध नभएको कारण विद्यार्थीहरूलाई खोप दिन नसकिएको बताए । उनले एक साताअघि नै विद्यार्थीहरूको लागि मोडर्ना र फाइजरका ५२ हजार मात्रा खोप माग गरिएको तर अहिलेसम्म नआएकाले विद्यार्थीहरूलाई दिन नसकिएको बताए । उनले एक/दुई दिनमा खोप आउने र सोहीअनुरूप विद्यार्थीहरूलाई खोप लगाइने प्रतीकलाई बताए ।

विद्यालय खोल्ने कि बन्द गर्ने असमञ्जस

कोरोनाको कारण आजदेखि सञ्चालनमा आएका विद्यालयहरू खोल्ने कि बन्द गर्ने भन्ने विषयमा असमञ्जसमा छन् ।

आज खुलेका विद्यालयहरूले भने पठनपाठनभन्दा कोरोनाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालय खोलिए पनि उद्देश्यपरक काम हुन नसक्ने थाहा पाएर केही विद्यालयहरू सोमवारदेखि बन्द हुने भएका छन् । केही पालिकाले आज साँझसम्म विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here