प्रस, वीरगंज, १६ माघ/
नेपाली काङ्ग्रेस, पर्साको क्षेत्रीय समिति र वीरगंज महानगर समितिको आयोजनामा आइतवार शहीद दिवस मनाइएको छ ।
शहीद दिवसको अवसरमा नेका क्षेत्र नं २ ले नारायणी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको थियो । यसैगरी, अस्पताल परिसरमा रहेको शहीद थीरबम मल्लको सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकाका केन्द्रीय सदस्य अजय चौरसियाले शहीद मल्लको सालिकमा माल्यार्पण गरेका थिए । सो अवसरमा उनले जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमानदार प्रयत्न नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुने
बताए ।
उनले पर्सा काङ्ग्रेसमा आपसी द्वन्द्व, मतभेदका कारणले जिल्लाका तीनै तहको निर्वाचनमा यसअघि पराजय भोग्नुपरेको कुरालाई दृष्टिगत गर्दै आगामी दिनमा त्यस्तो गलती नगरी नेकाको पक्षमा लाग्न सबै नेता, कार्यकर्तालाई आग्रह गरे ।
क्षेत्रीय सभापति महम्मद सहाबुद्दीनको अध्यक्षतामा भएको कार्यक्रममा हृदयनारायणलाल दास, रघुनाथ पोखरेल, अलिजान मियाँ, हदिसमियाँ मन्सुरी, वीरबहादुर कुर्मी र महम्मद शरीफलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी, नेका पर्सा क्ष्Fेत्र नं २ को आयोजनामा घण्टाघरस्थित स्व रामजनम तिवारीको सालिक परिसरमा सरसफाइ गरिएको थियो भने बिपी उद्यानमा रहेको मधेसी शहीदहरूको सालिकमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा नेकाका राजेन्द्रबहादुर अमात्य, शान्ति कार्की, राजेश्वर साह तेली, श्याम पटेल, अरविन्द गुप्ता, भोला कलवार, वैकुण्ठ श्रीवास्तव, दीलिपराज कार्की, धीरज गुप्ता, सुधीर पटेल, मनोज साह, विवेक कलवार, राहुल गुप्तालगायतको सहभागिता थियो ।
यसैगरी, नेका वीरगंज महानगर समितिको आयोजनामा वीरगंज–१४ पिपरास्थित शहीद तेजबहादुर अमात्यको सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि शहीदपुत्र राजेन्द्रबहादुर अमात्यलगायतले माल्यार्पण गरेका थिए ।
उक्त अवसरमा शहीदपुत्र अमात्यले शहीदको सपना साकार गर्नेतर्फ सबैलाई इमानदारीपूर्वक काम गर्न आग्रह गरे । उनले शहीदले देखाएको मार्गमा अग्रसर हुन पनि आग्रह गरे ।
नगरअध्यक्ष भोलाप्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य अजय चौरसिया, उपप्रमुख शान्ति कार्की, प्रदेशसभा सदस्य राजेश्वर साह तेली, ब्रह्मदेवप्रसाद कुर्मी, प्रकाश उपाध्याय, दिना गुप्ता, राधा श्रेष्ठलगायतको सहभागिता थियो ।
एमालेले शहीदको सपना साकार पार्ने
प्रस, रौतहट/
नेकपा एमाले मधेस प्रदेशका सहइन्चार्ज सुमनराज प्याकुरेलले शहीदको अधूरो सपना साकार गर्न एमाले लागिपरेको बताए ।
माधवनारायण नगरपालिका माधोपुरद्वारा आयोजित भानुराम शहीद स्मृति प्रतिष्ठानको उद्घाटन गर्दै उनले आफू पनि शहीद भानुरामको सपना साकार गर्न लाग्ने बताए । उनले भानुरामको सपना पूरा गर्न हामी सबैले शपथ लिनुपर्ने बेला आएको बताए । आफू नमरुन्जेलसम्म शहीद भानुरामको सपना पूरा गर्न कदम चाल्ने बताए ।
भानुरामलगायत कैयौं शहीदका कारण आज देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले बताए । नेपाली जनतालाई समृद्ध बनाउन तथा देशमा विकास गराउन केपी ओलीको सरकार आवश्यक रहेको उनले बताए ।
राणाशासनलगायत राजाले चालेको निरङ्कुश शासनका कारण नेपाली जनता समृद्ध हुन नसकेको बताए । नेपाली जनता कम्युनिस्ट पार्टीको पक्षमा रहेको पुष्टि भइसकेको उनले जिकिर गरे ।
२०५९ असार १९ गते चिकना टोलका करबोलमा दोहरो भिडन्तमा सेनाले भानुरामलाई गोली हानेको थियो ।
माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साहको अध्यक्षतामा नेकपा एमालेका जिल्ला इन्चार्ज उपेन्द्र साह, पूर्वसांसद बबन सिंह, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, पूर्वसांसद अब्दुल कलाम आजाद, राजकिशोर यादवलगायतले शहीद भानुरामको जीवनीबारे प्रकाश पारेका थिए ।