प्रस, वीरगंज, १५ माघ/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आफू पदमा नरहे पनि वीरगंजको व्यावसायिक पत्रकारिता विकासमा साथ र सहयोग रहने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साकी संस्थापक महिला सदस्य स्व बिन्दुदेवी स्मृति प्रतिष्ठानद्वारा स्थापित स्व विजयप्रकाश बिन दोस्रो स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नगरप्रमुख सरावगीले इतिहासलाई जीवित राख्न अग्रजहरूको योगदानको सम्मान गर्न आवश्यक रहेको बताए । उनले समाजमा विशिष्ट योगदान गरेका व्यक्तिहरूको सम्मान र सामाजिक काममा वीरगंज महानगरपालिकाले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले महानगरपालिकाले जस्तै अन्य स्थानीय तहहरूले पनि सहयोग गर्नुपर्ने बताउँदै सोको सहकार्यका लागि महानगरले पहल प्रयास गर्ने बताए ।
अहिलेसम्म आफूले गरेका काममा सञ्चारमाध्यमहरूले कुनै नकारात्मक टीकाटिप्पणी नगरेको र यसले आफूलाई सकारात्मक काम गर्नलाई प्रेरित गरेको बताए । उनले वीरगंज महानगरपालिकाले सञ्चारमाध्यमहरूको विकास र संवद्र्धनका लागि सञ्चार ऐन ल्याएको चर्चा गर्दै ऐनले वीरगंजको पत्रकारिताको विकासमा सकारात्मक भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।
उनले स्व बिन्दुदेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको दश हजार एक सय राशिको दोस्रो स्व विजयप्रकाश बिन पत्रकारिता पुरस्कार पत्रकार पुरुषोत्तम सिंह भट्टराईलाई प्रदान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, सदस्य केसी लामिछाने, स्व पाण्डेका पति सुदर्शनराज पाण्डे, नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष उमाशङ्कर द्विवेदीलगायतले शुभकामना व्यक्त गरेका थिए ।