प्रस, वीरगंज, १४ माघ/

हुलास स्टील, सिमरामा कार्यरत सुमन अधिकारीलाई श्रम अदालत, काठमाडौंले २०७५ वैशाख ५ गते पुनर्बहाली गर्न श्रम तथा रोजगार कार्यालय, वीरगंजको नाममा आदेश जारी गरे पनि अहिलेसम्म सो आदेशको पालना भएको छैन ।

तीन वर्षदेखि कार्यरत अधिकारीलाई हुलासले २०७२ सालमा कामबाट हटाएपछि उनी २०७३ वैशाख १६ गते श्रम अदालतमा पुगेका थिए । अदालतले दुई वर्षपछि अधिकारीको मुद्दामा पुनर्बहाली गर्न श्रम तथा रोजगार कार्यालय, वीरगंजको नाममा आदेश जारी गरेको थियो । लगभग तीन वर्ष बित्दा पनि अदालतको उक्त आदेशको पालना भएको छैन । श्रम तथा रोजगार कार्यालय, वीरगंजका प्रमुख प्रशान्त साहले कोरोनाको कारण कार्यान्वयन नभएको जवाफ दिएका छन् । उनले चाँडै नै अधिकारीलाई पुनर्बहाली गर्न पहल गरिने बताए । अदालतको आदेश कोरोनाकालभन्दा अगाडिको हो ।

नेपालमा कोरोना २०७६ चैतदेखि देखा परेको हो । अदालतको पैmसला २०७५ वैशाखमा आएको थियो । अहिले तीन वर्ष बित्दा पनि सो फैसला कार्यान्वयन नभएको र कार्यालय प्रमुखले कोरोनाको दुहाइ दिएर कार्यान्वयन नभएको भन्ने कुरा तर्कसङ्गत देखिंदैन । स्रोतका अनुसार श्रम तथा रोजगार कार्यालय, वीरगंजले उद्योगी र मजदूरबीच विवाद सिर्जना गराइ आर्थिक लाभ लिने गरेको बताइएको छ ।

अधिकारीसम्बन्धी अदालतको फैसला पनि सोही कारणले कार्यान्वयन नभएको स्रोतको दाबी
छ । कार्यालयले मजदूरहरूबाट उजूरी लिने र उद्योगीहरूलाई तर्साएर स्वार्थ पूरा गर्ने गरेको आरोप पनि छ । तर कार्यालय प्रमुख साह भने सो आरोपमा सत्यता नभएको बताउँछन् । उनले आदेश कार्यान्वयनमा ढिला भएको तर त्यसमा अन्य कुनै कारण नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here