राधेश्याम पटेल, परवानीपुर, १५ माघ/
वीरगंज–२१ परवानीपुरमा बिटोर सम्पन्न भएको छ । चोर्नी काफिला अन्तर्गतको यस वर्षको दोस्रो बिटोर सम्पन्न भएको छ । परवानीपुरका नागमणि उपाध्यायद्वारा आयोजित बिटोरको हिजो साँझ वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले कहरथुवा बाबाहरूलाई फूलमालाले स्वागत गरी उद्घाटन गरेका थिए ।
बिटोरमा परवानीपुर, भलुही, नितनपुर, बेहरा, सोलखपुर, लक्ष्मीपुरलगायतका करीब सयजना कहरथुवा बाबाहरूको सहभागिता थियो । बिटोरमा सहभागी बाबाहरूले माघ १६ गते आइतवार देवघाट जल भर्न जाने र श्रीपञ्चमीको दिन माघ २३ गते बाराको शिवमन्दिर काटघाटमा जल अर्पण गरी यस वर्षको कहरथुवाको यात्रा सम्पन्न गर्ने कार्यक्रम छ ।
परवानीपुरको बिटोर कार्यक्रममा वडाध्यक्ष हबिब मियाँ, स्थानीय विजय गुप्ता, जतनराउत कुर्मी, राधाकृष्ण रौनियार, साधुसन्तहरूमा रामदास बाबा, बजरङ्ग दास, लक्ष्मण दास, इन्द्र दास, रवीन्द्र दास, पुरन गिरी, राघव दासलगायतको सहभागिता थियो ।
कहरथुवाले गृहस्थ जीवनमा केही दिन ईश्वरभक्तिका लागि काँवरसँगै दैनिक उपभोग्यका अन्न तथा लत्ताकपडा लिएर निश्चित धार्मिक परिक्रम तथा धार्मिकस्थलको दर्शन पूजापाठमा निस्किने यात्रालाई जलबोझी अर्थात् कहरथुवा काफिला यात्रा भनेर मधेसमा चिनिन्छ । यसमा पूर्ण ब्रह्मचर्यको नियम पालना गर्नुपर्छ । पर्सा र बारामा मुडली, इनर्वा, रहरियाडिह, भवानीपुर, हजारी गरी दर्जनौं काफिला छन् ।
यस वर्ष कोभिडको तेस्रो लहरका कारण नेपाली कहरथुवाहरू नेपालकै प्रसिद्ध नदीबाट जल भरेर नेपालकै शिवमन्दिरमा चढाउने योजनामा छन् । काफिलामा जमीनदार, चौकीदार, सिपाही, कचहरिया, भण्डारी, कोठारीलगायतको पद समेत हुने गरेको चोर्नी काफिलाका पुरोहित कृष्णकुमार उपाध्यायले बताए ।