नयाँ दिल्ली, १५ माघ/एएनआई

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका छन् ।

सोही अवधिमा अरू ८७१ जनाको मृत्यु पनि भएको भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले शनिवार जनाएको छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ््ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो ।

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीका अनुसार भारतमा शनिवार २० लाख चार हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झन्डै एक लाख धेरै छ ।

भारतमा पछिल्लो एक दिनमा १७ लाख ५९ हजार ४३४ जनाको कोरोना परीक्षण गरिएको थियो । अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १९८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

ब्रजीलमा दैनिक सङ्क्रमितको सङ्ख्या साढे दुई लाखभन्दा बढी
रियो दि जेनेरियो/सिन्ह्वा

ब्रजीलमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ ।
सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारी अनुसार ब्रजीलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै ब्रजीलमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्रजीलको स्वास्थ्य मन्त्रलायले जनाएको छ । ब्रजीलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।

मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ब्रजीलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । तीमध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कोरोना भाइरसका कारण धेरै मृत्यु भएका देशमध्ये ब्रजील दोस्रो क्रम सङ्ख्यामा पर्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here