प्रस, निजगढ, १४ माघ/
निजगढ नगरपालिका–११ स्थित रतनपुरी स्वास्थ्य चौकीका पाँचजना स्वास्थ्यकर्मीले इन्चार्ज दिनेश परियारको सरुवाको माग गरेका छन् ।
इन्चार्ज परियारका कारण स्वास्थ्यकर्मीहरूले काम गर्न असहज भएको, प्रशासनिक कार्य पारदर्शी नभएको भन्दै छानबीन गर्न माग गरेका छन् । कर्मचारीहरूसँग कुनै समन्वय नगरी आफ्नै रवैयामा स्वास्थ्य चौकीको प्रशासनिक शाखा चलाउने, हाजिरी रजिस्टर समयमा उपलब्ध नगराउने, स्वास्थ्यकर्मीहरूले पाउनुपर्ने सेवासुविधाको विषयलाई लिएर पटकपटक विवाद भइरहनेलगायतका आरोप लगाउँदै निजगढ नगरपालिकामा स्वास्थ्यकर्मीहरूले माघ २ गते जानकारी गराएका थिए ।
रतनपुरी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब किशोरीराउत यादव, सिनियर अनमी राजकुमारी गुरो, अहेब आशिषकुमार तामाङ, अहेब राजेश साह, अनमी नजमा बानोले इन्चार्ज दिनेश परियारविरुद्ध निवेदन दिएका हुन् । उनीहरूले नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लीलादेवी लामिछाने, नगर स्वास्थ्य शाखा र निजगढ नपा–११ वडा कार्यालय एवं स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिलाई समेत बोधार्थ दिएको अनमी बानोले बताइन् । आफूले पछिल्लोपटक इन्चार्ज परियारका विरुद्ध आवाज उठाएको बताउँदै आएको र उचित सम्बोधन हुने प्रतीक्षामा आफू रहेको उनले बताइन् ।
इन्चार्ज परियारलाई पटकपटक सुझाव र गुनासो राख्दा वास्ता नगर्ने र चित्त नबुझे नगरपालिका, अख्तियार, मन्त्रालय जान भनेपछि विवाद बढेर माघ २ गते स्वास्थ्यकर्मी र इन्चार्जबीच छलफल भएको थियो । विवाद समाधान गर्न निजगढ नपाले नगर स्वास्थ्य शाखाका संयोजक रमेश लामाको संयोजकत्वमा तीन सदस्यीय छानबीन समितिसमेत गठन गरेको थियो । छानबीन समितिले एक साताभित्र प्रतिवेदन बुझाउनुपर्ने भए तापनि हालसम्म नबुझाएको स्रोतले जनाएको छ ।
इन्चार्ज परियारले जिम्मेवारी सम्हालेदेखि आफूले सकेको काम गरिरहेको र स्वास्थ्य चौकीबाट बिरामी तथा सेवाग्राहीहरूलाई सेवा दिइरहेको बताए । उनले स्वास्थ्य चौकीलाई सफलतामा पु¥याउन सबै स्वास्थ्यकर्मी, कर्मचारीहरूको जिम्मेवारी रहेको बताए ।
स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर रुम्बाले परियारले इन्चार्जको जिम्मेवारी सम्हालेपछि सेवा र अन्य काममा सुधार भएको बताउँदै सबैले मिलेर सहकार्य गर्नुपर्ने बताए ।
रतनपुरी स्वास्थ्य चौकीको दुई तले पक्की नयाँ भवन निर्माणसँगै सेवा सञ्चालन भएपछि स्वास्थ्यकर्मीहरूबीच पटकपटक विवाद हुँदा बिरामीहरू मर्कामा परेको गुनासो पनि छ । यहाँ कार्यरत अधिकांश स्थानीय स्वास्थ्यकर्मीको रतनपुरीमा निजी क्लिनिक भएकाले पनि एकापसमा विवाद हुने गरेको छ ।