प्रस, निजगढ, १४ माघ/
रतनपुरी गाँजाकाण्डमा प्रहरी इन्चार्जसँग रकम बार्गेनिङ गरी छोडिएका २६ वर्षीय अभियुक्त सोमबहादुर थिङलाई एक महीनाअघि प्रहरीले पक्राउ गरेपछि निजकी करीब ५६ वर्षीया आमा फूलमाया थिड्ढो बिचल्ली भएको छ ।
लामो समयदेखि मिर्गौला रोगले थलिएकी र करीब एक वर्षअघि पति लालसिंह थिड्ढो मृत्युको शोकमा रहेकी फूलमायालाई कमाएर खुवाउने घरमा कोही नभएपछि बिचल्लीमा परेकी हुन् । बुबाको उपचारमा छोरा सोमबहादुरले ऋण लिएर उपचार गरे पनि बुबालाई बचाउन नसकेको र ऋण पनि तिर्न नसकेपछि निकै समस्यामा परेको उनले बताएकी छन् ।
छोरा हुँदा घरमा बस्ने, बोल्ने सहारा थियो । त्यस घटनापछि घरै छोडेर हिंडेको छोरालाई प्रहरीले समातेपछि अभियुक्त थिड्ढी आमा विक्षिप्त भएकी छन् । १३/१४ लाख रुपैयाँ ऋण छ । जग्गा जमीनको नाममा निजगढ नपा–१२ रामथली खोलाछेउमा हाल बसोबास गरिरहेको एक कट्ठा जमीन र छाप्रो मात्र छ । अन्य आयस्रोत छैन । कसरी खाने, कसरी ऋण तिर्ने भन्दै उनी भक्कानिइन् । सयकडा पाँच रुपैयाँसम्ममा ऋण लिइएको छ । जग्गाको नम्बरी पुर्जा छैन । भएको यही छाप्रो जग्गा साहुहरूले लैजाने भो भन्दै उनी विरक्तिएकी छन् ।
छोराले अवैध काम गरिरहेको आफूलाई जानकारी नभएको उनले बताइन् । सोमबहादुरले भने गाँजाको अवैध कारोबार गरिरहेको स्थानीयहरूले जानकारी दिएका छन् । त्यस भेगमा ठूलो परिमाणमा गाँजाखेती हुने गरेकोले पनि त्यस भेगका स्थानीयले लुकीछिपी कारोबार गरिरहेको विभिन्न घटनाक्रमबाट देखिन्छ ।
यस घटनामा संलग्नमध्येका मुख्य अभियुक्त २८ वर्षीय दिनेश भन्ने इन्द्रबहादुर भुलनलाई प्रहरीले खोजी गरिरहेको छ । घटनाबाहिर आएपछि भुलनले पनि गाउँ नै छोडेको बारा प्रहरीको भनाइ छ । त्यस घटनामा प्रयोग गरिएको अटोका धनी निजगढ नगरपालिका–१२ रामथलीका ५२ वर्षीय पाल्साङ तितुङलाई दुई साताअघि काठमाडौंबाट प्रहरीले पक्राउ गरिसकेको छ ।
त्यस घटनाको अनुसन्धान भइरहेको र संलग्न दोषी पाइए प्रहरीलाई समेत कारबाही हुने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।