नयाँ दिल्ली, १४ माघ/एएनआई
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रवार जानकारी दिएको छ । हाल भारतमा कोरोना सङ्क्रमण दर १५.८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना शुरू भएदेखि हालसम्म चार करोड छ लाख २२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या २१ लाख पाँच हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जनामा कोरोना सङ्क्रमण निको भइसकेको छ ।
गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६२७ जनाको मृत्यु भएको यसैसंँगै कोरोना शुरू भएबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या चार लाख ९२ हजार ३२७ पुगेको छ । कोरोना शुरू भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।
यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६४ करोड ४४ लाख ७३ हजारभन्दा बढी मात्रा खोप लगाइएको जनाइएको छ ।
भारतीय विदेशमन्त्रीलाई कोरोना सङ्क्रमण
नयाँ दिल्ली/सिन्ह्वा
भारतका विदेशमन्त्री एस जयशङ्करमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उनले बिहीवार पिसिआर परीक्षण गराएको र उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
विदेशमन्त्री जयशङ्करले पनि ट्वीट गरेका छन् । सो ट्वीटमा उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भएको भन्दै केही दिनयतादेखि आफ्नो सम्पर्कमा रहेका अरू व्यक्तिहरूलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेका छन् । हाल भारतले पनि कोरोना भाइरसको तेस्रो लहरको सामना गरिरहेको छ । बिहीवार मात्र पनि भारतमा दुई लाख ८६ हजारभन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी, बिहीवार सार्वजनिक भएको सो तथ्याङ्कमा गएको २४ घण्टामा मात्र ६७३ जनाको यो सङ्क्रमणबाट निधन भएको बताइएको थियो । केही दिनयता सङ्क्रमण घटेको जस्तो देखिए पनि अहिले भने फेरि यहाँ सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको जनाइएको छ । रासस