- राजेश मिश्र
शक्ति पदमा हुन्छ, व्यक्तिमा होइन । पदीय शक्तिले कर्तव्य निर्वाह गर्ने ऊर्जा प्रदान गर्छ । शक्ति र ऊर्जाको सदुपयोग गर्ने कि दुरुपयोग, त्यो नितान्तरूपमा व्यक्तिमा निहित हुन्छ । पदीय शक्तिको दुरुपयोग वा सदुपयोग भइरहेको कुरा समाजले सूक्ष्म मूल्याङ्कन गरिरहेको हुन्छ । कानूनी मान्यताअनुरूप जसले शक्तिको सदुपयोग गर्छ, त्यो व्यक्ति बहाल संस्था र समाजबाट प्रशंसित हुन्छ । त्यही शक्तिको दुरुपयोग गर्ने व्यक्ति कानूनी र सामाजिक स्तरमा निन्दाको पात्र बन्छ । जब पदको आडमा शक्तिको दुरुपयोग हुन्छ, तब व्यक्तिको कारण न्याय प्रणाली प्रभावित हुन्छ । न्याय प्रतिपादन गर्ने पात्रको गलतीले सिङ्गो सङ्गठन बदनाम हुन्छ । त्यस्ता पात्रप्रति समाजमा वितृष्णा उत्पन्न हुन्छ । पदीय अहङ्कारले कानून र पद दुवैको मानमर्दन हुन्छ ।
पदीय शक्ति कसरी दुरुपयोग हुन्छ भन्ने कुराको ताजा उदाहरण हालै घटित एक घटनाले पुष्टि हुन्छ । समाचारमा उल्लेख भए अनुसार पर्सा प्रहरीले एकजना युवकमाथि ज्यादती गरेको छ । ज्यादती किन भनिएकोे छ भने प्रहरी अधिकारीको आफन्त सवार रहेको कारले ओभरटेक गर्ने क्रममा कारको अगाडि गुडिरहेको मोटरसाइकलको साइलेन्सरमा छोएको थियो । मोटरसाइकल चालकलाई पक्राउ मात्र गरिएन, अपितु कारबाहीको नाममा यातना दिनु, चालक अनुमतिपत्र नै नभएको कार चालक आफन्त भएकै आधारमा उसको पक्षपोषण गरेको आदि कुराहरू समाचारहरूमा उल्लेख भएका छन् ।
यहाँ प्रश्न के उठ्छ भने के प्रहरीको आफन्त हुँदैमा सवारी चालक अनुमतिपत्रविना सवारी चलाउने कानूनी छुट छ ? अगाडि गुडिरहेको मोटरसाइकलले पछाडि रहेको कारलाई कसरी ठोक्यो ? यहाँ कानूनले प्रदत गरेको शक्ति र ऊर्जा स्वार्थ अनुकूल दुरुपयोग भएको कुरा स्पष्ट छ। किनभने प्रहरीले घाइते हुनेगरी युवकलाई कुटपिट ग¥यो । छोरालाई छुटाउन जाँदा प्रहरीले बुबालाई पनि पक्राउ ग¥यो । यो त प्रतिनिधि घटना मात्र हो । यस्ता थुप्रै घटना छन्, जो प्रहरीको भयका कारण बाहिर नआएका होलान् । जसले नागरिकको सुरक्षा र सामाजिक अमनचयन बहाल गर्ने दायित्व पाएको छ, उसको नियत काखापाखामा आधारित हुने हो भने आमनागरिक न्याय माग्न कहाँ जाने ?
हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावण र हिन्दी फिल्म शोलेको पात्र गब्बर सिंहको प्रसङ्ग यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । रावण सर्वज्ञानी र पराक्रमी राजा थिए । रावणले अनेक विद्या वेद, पुराण, नीति, दर्शनशास्त्र, इन्द्रजाल आदिमा पारङ्गत हासिल गरेका थिए । यद्यपि उनको मनोविज्ञान असुरी प्रकृतिको थियो । विभिन्न तपजपले देवीदेउताबाट पाएको शक्ति उनले देवीदेउताकै संहारमा खर्च गर्न थाले । उनले केवल आफ्नो शक्ति र आफूलाई मात्र सर्वश्रेष्ठ ठान्थे। रावणले उपद्रव मच्चाउनुका साथै देवभक्तहरूको वध गर्न थाले । जब उनको असुरी प्रवृत्ति चरम सीमामा पुग्यो, तब उनले सीता माताको हरण गरे । रामसँग युद्ध छेडे । अन्ततः रामको बाणले एक यस्तो शक्तिकोे वध भयो, जसको ऊर्जा विपरीत दिशामा प्रवाहित भइरहेको थियो ।
‘बेटे सो जा नहीं तो गब्बर सिंह आ जाएगा’ यो शोले फिल्मको चर्चित संवाद हो । उक्त फिल्मको पात्र गब्बर सिंह शक्तिशाली डाँका थियो । उसको ऊर्जा सामान्य नागरिकलाई पीडा दिने कार्यमा खपत हुन्थ्यो । उक्त फिल्मको खलपात्र गब्बर सिंहले आफ्नो दम्भ आफ्ना सहकर्मी डाँकूहरूलाई घरीघरी सुनाउँथ्यो । हत्या, हिंसा, लुटपाट र अत्याचारले गर्दा ऊ प्रख्यात थियो ।
आममस्तिष्कमा उसको डर व्याप्त थियो । अन्ततः उसको पापको घडा भ¥यो र एक कर्तव्यनिष्ठ प्रहरी अधिकारीको योजना अनुसार बिरु र जयको सहायताले गब्बर सिंहको भौतिक शरीरसँगै उसको शक्ति र सामथ्र्य पञ्चतŒवमा विलीन भयो । माथिका दुईवटा उदाहरण प्रस्तुत गर्नुका कारण के हो भने शक्ति प्राप्त भएपछि मानवले आफूलाई सर्वेसर्वा ठान्छ । प्रतिकूल कार्यमा शक्ति खपत गर्छ । प्राकृतिक प्रक्रिया अनुसार उसको भौतिक शरीर पञ्चतŒवमा विलीन भए तापनि उसको कुनियतको चर्चा सधैंभरि भइरहन्छ ।
आउनुस्, उहिलेका केही कुरा गरौं । उहिले जिल्लाको प्रमुखमा प्रहरी नायब उपरीक्षक अर्थात् डिएसपी हुन्थे । त्यस्तै, इलाका प्रहरी कार्यालयको इन्चार्ज प्रहरी नायब निरीक्षक र प्रहरी चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक हुन्थे । सुरक्षा निकायमा जस्तो अनुशासन अन्य कुनै पनि सरकारी निकायमा पाउन मुश्किल छ । सानो पदले आफूभन्दा ठूलो ओहोदाको सम्मान गर्नु र अनुशासितपूर्ण आदेश पालना गर्नु सुरक्षा निकायको प्रभावकारी व्यवस्था मानिन्छ । उहिले गाउँहरूमा प्रहरीको दर्जा सबैलाई थाहा हुन्थेन । त्यसैले देहातमा जुनसुकै दर्जालाई ‘सिपाहीजी’ भनेर सम्बोधन गरिन्थ्यो ।
केटाकेटीहरूलाई डराउनको लागि उहिले ‘सिपाही’ शब्दको खूब प्रयोग गरिन्थ्यो । बच्चाहरूमा जिद्दी गर्ने, समयमा नसुत्ने, विद्यालय जान आनाकानी गर्ने आदि स्वभाव हुन्छन् । त्यस्तो बेला प्रहरीको नाम लिएपछि बच्चाहरू डराउँथे । ‘सुत ब कि सिपाहीजी के बोलादीं ?’ अर्थात् सुत्छौ कि सिपाहीलाई बोलाइदिऊँ ? लालाबालाहरूमा डर सिर्जना गर्नको लागि यति भन्नु नै धेरै
थियो । यो वाक्य उहिले देहातमा मानौं ओषधिको रूपमा प्रयोग गरिन्थ्यो । बच्चाहरू डराउँथे । डर यति हुन्थ्यो कि निद्रा नलागे पनि आँखा बन्द गर्नुको विकल्प हुन्थेन । उहिले जब गाउँमा प्रहरीको आगमन हुन्थ्योे, तब बच्चाहरू भागमभाग गर्थे । लुक्थे । गाउँबाट प्रहरी नगइन्जेलसम्म बच्चाहरू घरबाहिर निस्किन्थेनन् ।
प्रहरीको नाम सुन्ने बित्तिकै मनमा किन डर हुन्थ्यो ? किनभने गाउँहरूमा प्रहरीको उपस्थिति प्रायः कसैलाई पक्राउ गर्ने उद्देश्यले हुन्थ्यो । अवाञ्छित व्यक्तिलाई पक्राउ गर्दा शक्ति प्रयोग गर्नु अस्वाभाविक होइन । तर गाउँलेहरू बढी त्रसित तब हुन्थे, जब भनसुनको आधारमा सामान्य नागरिकलाई लछारपछार गर्दै प्रहरीहरूले थानामा लग्थे । कुटपिट गर्थे । घाइते बनाउँथे । अर्थात् सामान्य कसूरमा असामान्य ऊर्जा खपत गर्थे । यस कारण आमनागरिकमा प्रहरीप्रति वितृष्णा थियो । शक्तिको आडमा अतिरिक्त लाभ लिने उद्देश्यले व्यक्तिमा डर पैदा गर्ने नियत कानूनले परिकल्पना गरेको हुँदै होइन । कुनै पनि घटनाको सम्भावित पात्रहरूलाई पक्राउ र अनुसन्धान गर्नु नितान्तरूपमा प्रहरीको परम कर्तव्य हो ।
राम्रो काम गरेर जसरी प्रशंसाको पात्र भइन्छ, त्यसैगरी नराम्रो काम गरेर अप्रसंशित भइन्छ । पदमा बहाल भएपछि यो वा त्यो कारणले अनुत्तरदायी काम गर्नू भनी संविधान वा कानूनले कल्पना गरेको छैन । कानूनी व्यवस्था अनुसार राम्रो गरे प्रसंशा र गलत गरेमा जो कोही पनि कारबाहीको भागीदार हुने कुरा कानूनमा उल्लेख छ । प्रहरी ऐन केवल नागरिकमाथि मात्र लागू हुँदैन । अपितु प्रहरी पनि कानूनी दायराभित्र पर्छ ।
अनुसन्धानको क्रममा कतिपय बेला निर्दोष व्यक्ति प्रहरीको फन्दामा पर्छ । दोषीझैं निर्दोष व्यक्तिलाई यातना दिनु पद र शक्तिको दुरुपयोग गर्नु हो । यस्ता गतिविधि कुनै पनि दृष्टिकोणले मान्य हुँदैन । प्रहरीको खोरबाट घर आइपुग्दासम्म अनेक प्रकारका प्रहरी ज्यादती उनीहरूमाथि भइसकेको हुन्छ । जब प्रहरी कारबाहीमा निर्दोष व्यक्ति पर्छ, प्रहरीको यातना खेप्छ, त्यति बेला प्रहरीको गैरजिम्मेवार कामप्रति आममनोविज्ञान रूष्ट हुन्छ । किनभने सुरक्षा निकाय देशको अह्म अङ्ग हो । प्रहरी सङ्गठनमा इमानदार र कर्तव्यनिष्ठ पात्रको कमी छैन ।
यद्यपि एक ड्रम खानेतेललाई केवल एउटा सानो सीसीमा भएको मटीतेलले प्रभावित गरेझैं थोरै पात्रका कारण वृहत् प्रहरी सङ्गठन बदनाम हुन्छ । प्रहरी ऐनले व्यक्तिलाई होइन, पदलाई शक्ति प्रदान गरेको छ । त्यसैले कानूनले प्रदत्त गरेको शक्ति स्वार्थअनुकूल किमार्थ प्रयोग हुनुहुँदैन । कानूनविपरीत गतिविधि गर्ने व्यक्तिलाई कानूनी मार्गमा हिंड्न सिकाउने प्रहरी हो । तर प्रहरीले नै बाटो बिराएपछि आमनागरिकले के बुझ्ने ?