समीर पाख्रिन

प्रीतम ः उषा भोक लाग्यो है ?
उषा ः मलाई पनि ।
प्रीतम ः त्यसो भए के खाने ?
उषा ः म त डोसा नै खाने ।

प्रीतम ः हो, यहाँ आएर डोसा नखाई जानु भनेको पोखरा पुगेर फेवाताल नहेरी फर्कनु बराबर
हो ।

दुवै मिष्टान्न भण्डारमा प्रवेश गरी कुनाको कुर्सीमा आमनेसामने मुख गरेर बसेका छन् । वेटर आउँछ र के ल्याउँ भनी सोध्छ ।
प्रीतम ः यो खुशीको क्षणमा पहिला मुख मीठो गर्नुपर्छ । यसैले पहिला दुई/दुई वटा रसबरी ल्याऊ ।
उषा ः हो ? भइहाल्छ नि ।

प्रीतम ः (उषाको हात पक्रेर) उषा, मेनी मेनी ह्याप्पी रिटर्नस् अफ दी डे । हैप्पी बर्थ डे ।
उषा ः थैक्यू, प्रीतम ।
प्रीतम ः आज यस खुशीको उपलक्ष्यमा मैले तिमीलाई आफ्नो मनको कुरा भन्ने विचार गरेको छु ।
उषा ः म पनि तिमीलाई केही दिनदेखि यो छातीमा गुम्साइराखेको कुरा पोख्न आतुर छु
प्रीतम ।

आकाश र रीता चढेको बाइक मिष्टान्न भण्डार खोज्दै अलखिया मोडसम्म पुग्दासमेत मिष्टान्न भण्डार नदेखेपछि आकाशले एकजना पैदलयात्रीलाई सोध्छ । पैदलयात्रीले माईस्थान चोकैमा बताएपछि आकाशले फेरि वान वे हुँदै एक फन्को लगाएपछि गीता मन्दिरतिर जाने चोकैमा बाइक राखेर दिदीभाइ गोपाल मिष्टान्न भण्डारभित्र प्रवेश गर्छन् र प्रीतमको नजर नपर्ने ठाउँमा बस्छन् । वेटर आएर उनीहरूलाई के खाने भनेर सोध्छ ।

आकाश ः (सुस्तरी) यसो गर हामीलाई अहिले दुई कप कफी ल्याऊ । साथीहरू आउन बाँकी छन्, आएपछि नास्ता गरौंंला ।
आकाश र रीताको ध्यान प्रीतम र उषातिर केन्द्रित छ ।
उषा ः प्रीतम, तिमीलाई आज मेरो बर्थ डे भनेर कसरी थाहा भयो ?
प्रीतम ः अनि हिजो तिमीले नै भनेकी होइनौ भोलि मेरो बर्थ डे भनेर ?
उषा ः हो र ? लौ मैले कहिले भने ? (सोचेजस्तो गर्दै)

प्रीतम ः (एकाएक उषाको हात पक्रेर) उषा, आई लभ यू ।
उषा ः आई लभ यू टु प्रीतम ।
रीता प्रीतमले उषाको हात पक्रेको देखेर मुर्मुरिएकी छे । ऊ झम्टी–झम्टी कुर्सीबाट उठ्न खोज्छे तर आकाशले अरू केही क्षण धैर्य गर्न भन्दै रीतालाई रोकेर राख्छ ।
प्रीतम ः उषा जुन दिन तिमीसित मेरो भेट भयो, त्यही दिनदेखि मलाई तिम्रो यादले सताउन थालेको छ । न त निद्रा लाग्छ न भोक नै ।

उषा ः मलाई पनि खाली तिम्रै याद आइरहन्छ । न त पढाइमा मन लगाउन सक्छु न कुनै काममा ।
अहिले भने रीतालाई असह्य हुन्छ । ऊ जुरुक्क उठेर प्रीतम भएको मेचमा गएर एकाएक उषाको जगल्टा समातेर फनफनी घुमाउँछे । उषा पीडाले रेस्टुरेन्ट नै उचाल्ने गरी चिच्याउँछे । ग्राहकहरू सबै उनीहरूतिर हेर्न थाल्छन् । आकाश पनि उठेर आउँँछ ।
रीता ः के भनिस् ? फेरि भन् त एई नकचरी १ मेरो बूढोको यादले सताइरहन्छ अरे तँलाई ? तँलाई थाहा छ ? तैले जसलाई आई लभ यू भनिस् नि ऊ मेरो लोग्ने हो । म उसकी पत्नी
रीता । उसको घरमा सात वर्षकी छोरी र चार वर्षको छोरो छ । तैले जसलाई माया गर्छु भनिस् नि ऊ दुई सन्तानको बौ हो बुझिस् ? तिमी पनि घरमा स्वास्नीलाई ढाटेर यो नकचरीसित भेट्न वीरगंज आउने गरेको रहेछौ होइन त ? (छातीमा पक्रेर हल्लाउँदै)

प्रीतम ः (रीताको हात जोडले झट्कारेर) चुप लाग् । तँ मेरो चियो गर्दै वीरगंजसम्म आइस् होइन त ? पख् घर मात्र पुगूँ । मैले जानेको छु तँ दिदी र भाइलाई ।
आकाश ः ए जो चोर उसैको ठूलो स्वर ? घरमा पुगेर के पिट्ने ? कि घरबाट निकाल्ने ? रीता बेसहारा छैन । उसको माइती अझ जिउँदै छ । धम्क्याउने कोशिश नगरे पनि हुन्छ । घरमा स्वास्नी हुँदाहुँदै केटी डुलाएर हिंड्न लाज लाग्दैन ?
प्रीतम ः एई आकाश, तँ बढता नबोल है ।

रिता ः किन नबोल्ने ? यसको बोल्ने पूरापूरा हक छ । तँ नकचरीले पनि त बिहे गरेको छ कि छैन भनेर बुझनु पर्दैन ?
रिताले उषाको अनुहार कोपर्न खोज्दा आकाशले दिदी चाँहिलाई तान्दै होटलबाट बाहिर निकाल्छ र बाइकमा बसाएर प्रस्थान गर्छ । उषा प्रीतमको कारण बेइज्जत हुनुपरेकोमा रिसले चुर भई होटल बाहिर निस्कीरहेकी बेला प्रीतमले पछिल्तिरबाट उसको हात पक्रन्छ । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here