- सञ्जय मित्र
रमेश समर्थनको देवरात काव्यलाई मञ्जरी पब्लिकेशन, पुतलीसडक, काठमाडौंले (२०७६ असोज) बजारमा ल्याएको हो । स्मार्ट साइजको १२० पृष्ठमा विस्तारित ‘देवरात’ समर्थनको पाँचौं कृति हो । यसअघि ब्रह्मलुट (मुक्तक, २०५३), दक्षिणा (शोककाव्य, २०५७), पर्खी बसें (गजल २०६०) र चिसा पसिना (यात्रा तथा संस्मरण, २०७४) प्रकाशित छन् ।
यसरी प्रकाशित कृतिहरूलाई आधार मानेर विधाको दृष्टिकोणले विचार गर्ने हो भने समर्थनका सबैभन्दा बढी काव्यविधानका कृति प्रकाशित छन् । चिसा पसिनाबाहेक समर्थनका सबै कृति काव्यविधानसितै सम्बन्धित छन् ।
पाल्पामा जन्मेर रौतहटमा निकै लामो समयसम्म ज्ञानको प्रकाश छर्ने कर्ममा ऊर्जा खर्च गरेका समर्थनले बनारसमा आफू आलोकित हुने अवसर प्राप्त गरे । स्नातकोत्तरसम्म अध्ययन गरेका र क्याम्पस तथा विद्यालयमा लामो समय शिक्षाको उज्यालो छरेका समर्थन साहित्यमार्फत निरन्तर ज्ञानप्रकाशन गर्दै आएका छन् । नेपाली, हिन्दी र बज्जिका भाषाको साहित्यमा कलम चलाइरहने समर्थनको सिर्जनाको विधागत पहिचान काव्य नै रहेको छ । पौराणिक पात्र तथा ज्ञानमा रुचि राख्ने समर्थनको देवरात पौराणिक पात्रमाथि लेखिएको काव्य हो ।
इतिहास र पुराणमा धेरै चाखलाग्दा र ज्ञानबद्र्धक खुराकहरू लुकेका छन् र धेरै लुकाइएका पनि छन् । सर्जकले कसलाई महŒव दिनुपर्ने हो, सोही अनुसार नै सिर्जना गरेका हुन्छन् तर अध्येताले आफनो रुचि अनुसार पात्रलाई मन पराउँछन् । यसले गर्दा उपजीव्य कृति सिर्जना हुने हुन्छ । रामायण, महाभारतादिका अनेक उपजीव्य ग्रन्थहरूले मौलिक सिर्जनाजत्तिकै प्रियता हासिल गरेका छन् । कालजयी र भूगोलजयी बनेका पनि छन् । दृष्टि र दृष्टिकोणले कृतिको मूल्य निर्धारण गरिने कुरामा शङ्का नहोला । सर्जकको सिर्जनाको दृष्टिकोण र पाठकको दृष्टिकोणमा पार्थक्य हुनु पनि अन्यथा होइन ।
देवरात भन्नु शुनःसेप हुन् । यिनी अजीगर्त ब्राह्मणका महिला छोरा हुन् । अत्यन्त विपन्नतामा दिन काटिरहेको परिवार छ । खान र लाउन चरम अभाव छ । भोकै सुत्नुपर्ने बाध्यता छ । यस्तैमा राजा हरिश्चन्द्रलाई जलोदर रोगले च्याप्दै गएको छ । आफ्ना छोरा रोहितको बलि नदिए राजा नै मर्ने छाँटकाँट छ ।
यस विषम परिस्थितिमा वरुणदेवलाई खुशी पार्न पुरोहित तथा कुलगुरुसहित अनेक शास्त्र र विधानहरूको सहारा लिएर एक ब्राह्मणका छोरालाई बलि दिएमा जलोदर ठीक हुने निष्कर्ष निकालिन्छ । वरुणलाई बलि चाहिएको छ र राजालाई रोगबाट मुक्ति । बलिको लागि ब्राह्मण पुत्रको खोजी हुन्छ र अजीगर्तकहाँ दूतहरू पुग्छन् । अजीगर्त धनको लोभमा माहिलो छोरोलाई बेच्न तयार हुन्छन् । पत्नीको व्यापक असहमतिमा उनी छोरो बेच्छन् । घाँटीमा दाम्लो लगाएर लैजान्छन् शुनःसेपलाई त्यहाँ जहाँ बलिको तयारी भएको छ । हात बाँधेर अगाडितिर भुइँमा लडाइएको छ र आँखामा पट्टि पनि बाँधिएको छ ।
अब कतिखेर खड्ग प्रहार होला भन्ने मात्र छ । बालकमाथि खड्ग प्रहार गर्ने मानिसको खोजी भइरहेको छ तर कोही पनि तयार भइरहेको हुँदैन । आखिरमा शुनःसेपका पिता अजीगर्त नै यो भनेर तयार हुन्छन् कि मैले बेचेपछि अब यो पशु भयो र बलिको पशुलाई वध गर्नु तथा राजाज्ञा पालन गर्नु धर्म हो । म दोब्बर धन लिएपछि वध गर्न तयार छु । पुरोहितबाट यो पनि सुनिन्छ कि वध गर्नेले मासु पनि खानुपर्दछ र अझ बढी द्रव्य तथा धन प्राप्त गरेपछि त्यसको लागि पनि तयार हुन्छन् तर विश्वामित्रको आगमनले घटनाले अर्कै मोड लिन्छ ।
विश्वामित्र नजीकै गएर शुनःसेपको कानमा वरुणलाई खुशी पार्ने मन्त्रजाप गर्ने सल्लाह दिन्छन् र यता राजा हरिश्चन्द्र तथा पुरोहितलाई मानवतावादी पाठ पढाउँछन् । अन्तमा शुनःसेपलाई वरुणले नै मुक्त गर्दछन् । वरुणले मुक्त गर्दै राजाको छोरो रोहितलाई पनि केही नहुने बताउँछन् । यसरी बलिको बेदीमा चढिसकेको बालक शुनःसेप बाँच्छन् र कालान्तरमा ऋग्वैदिक मन्त्रद्रष्टा ऋषि बन्छन् । काव्यको कथानक संयोगान्त र सुखदायी छ । यो मानवतावादी दृष्टिकोणले जति उच्चकोटिको काव्य हो, प्रगतिशीलताको दृष्टिकोणले पनि उच्च कलात्मक कृति हो । यो कृतिको कथानक पनि प्रगतिशील विचारको रहेको देखिन्छ ।
समयको परम्परागत काल विभाजनले र मुख्यगरी पूर्वीय शास्त्रहरूले मान्ने गरेको सत्ययुगमा अनेक विकृतिहरू रहेको र वर्तमान मानवताको दृष्टिकोणले निकै अमानवीय युग रहेको कवि समर्थनको विचार आएको छ । उनी यसरी भन्छन् ः
त्यै सत्ययुगमा जाँदा कैयौं दृष्टान्त पाउँछु
र त्यसै युगको यौटा कालो गाथा म गाउँछु । (पृष्ठ १९)
त्यस युगमा अनेक नृशंस कर्म हुन्थे र तिनीहरूलाई शास्त्रको जामा परि¥याइन्थ्यो । त्यस युगमा मानवताविरोधी कार्यलाई धर्मोक्त मानिन्थ्यो वा बनाइन्थ्यो । एउटा मान्छेको स्वास्थ्यको लागि अर्को मान्छेको बलि पनि दिइन्थ्यो । मान्छेको किनबेच हुन्थ्यो । मान्छेको घाँटीमा दाम्लो बाँधिन्थ्यो पशुसरि । यस्ता मानवताविरोधी युगलाई सत्ययुग कसरी भन्ने ? कवि असहमति प्रकट गर्दछन् र त्यस युगप्रति विद्रोह पनि गर्दछन् । देवताले मानिसको मासु खाने युगको प्रशंसा अहिले पनि कतिपय कर्मकाण्डीहरूले गर्ने गरेकामा कवि असहमत छन् ः
देवताले जहाँ खान्थे मान्छेको मांसहव्य त्यैं
गरी बढाइएँ थाक्दैनन् कर्मकाण्डीहरू अझै । (पृष्ठ ४१)
निर्धा र कमजोरका लागि अझै पनि कोही सहारा बन्न तयार छैनन् । सत्ययुगमा पनि यही हालत थियो । पेट पाल्न अनेक समस्या थियो । शक्तिहीनहरू मात्रै जताततै मारिन्छन्, किनबेचमा पर्दछन् । विपन्न बाहुन अजीगर्तले आफ्नो छोरो शुनःसेपलाई बेचेको वा बेच्नुपरेको दृष्टान्त छ । समाजमा धनी र गरीबबीच निकै ठूलो खाडल छ । यसले ठूलो विभेद निम्त्याएको छ । कवि यसरी आक्रोश पोख्छन् ः
अन्धाको निम्ति खै लौरो को छ बाटो देखाउने ?
भोकाको निम्ति खै गाँस को छ दाना जुटाउने ?
मान्छेको हाडमा अग्ला पिरामिड बनाउँछन्
पोख्दछन् पसिना कोही कोही धन कमाउँछन् ।
थोरै बसी बसी खान्छन् धेरैले काम गर्दछन्
धेरै भोकभोकै मर्छन् थोरै मस्त डकार्दछन् । (पृष्ठ ३१)
स्वर्ग र नर्कको डर वा लोभमा मानिसले अनेक कर्म गर्छन् । यसै नाममा आफ्नो दुनो सोझ्याउनेहरू पनि धेरै छन् । स्वर्ग र नर्क हो वा होइन, कसैले देखेको छैन । यो मीठो कल्पना पनि हुन सक्छ । जीवन भोगाइको अवस्थामा नै स्वर्ग र नर्क दुवै हुन सक्छन् । देवरातमा काव्यकार समर्थन स्वर्ग र नर्क यही पृथ्वीमैं रहेको कुरालाई यसरी अभिव्यक्त गर्छन् ः
न कुनै स्वर्ग अर्को छ, न छ नर्क कुनै कतै
खोजे स्वर्ग यहीं नै छ, हेर्दा नर्क यहीं कतै ।
सधैं अभावमा बाँच्नु नर्क पर्नुसमान हो
अग्ला प्रासादमा बस्नु स्वर्ग पस्नुसमान हो । (पृष्ठ ३२)
भोकलाई कविले रावण, कंस, पुतना, ताडका, हिरण्यकश्यप, होलिका, सुरसा आदि सबै पुरातन नकारात्मक पात्रसित तुलना गर्छन् । यसैगरी, सबैको शत्रु नै भोक भएको तथा भोकले युद्ध निम्त्याएको पनि बताइएको छ । भोकले अन्याय, दुष्कर्म गर्छ वा गराउने कारण बन्छ । भोकले आफन्त, नातागोता केही भन्दैन । भोकले मान्छेलाई नरभक्षी पनि बनाउँछ । भोकको साम्राज्यमा एउटा परिवारको दारुणिक वर्णन बाहुनीको मुखबाट कवि यसरी गराउँछन् ः
घरमैं दुईटा छोरा, लोग्नेको भोको छ जर्जर
सुकेका ओठ ली जेठो पनि आएर भर्खर
बसेको छ, यता हामी सबै भोकै दिनैभरि
भोककै अर्चना गर्छौं भोकैले जिन्दगीभरि । (पृष्ठ ४०)
भोकले मानिसलाई जे गर्नुपर्ने हो त्यो गराउँछ र जे गर्नु नपर्ने हो त्यो पनि गराउँछ भन्ने विचार कविले व्यक्त गरेका छन् । यद्यपि श्रमको महिमागान कवि यसरी गर्छन् ः
कुनै अल्छी गरीबीको नमूना बन्न सक्दछ
परिश्रमी त्यहीं धर्ती श्रमले खन्न खोज्दछ । (पृष्ठ ३७)
कविले श्रमिकप्रति न्याय हुन नसकेको सन्दर्भलाई पनि उठाएका छन् । परिश्रमीहरूले पसिनाको मूल्य नपाउने परम्परा नै बसिसकेको छ । युगले धेरै फड्को मारिसकेको भएपनि श्रमिकको दिन अझै फेरिइनसकेको काव्यमा बताइएको छ । एक ठाउँमा कवि भन्छन्ः
प्रजाको करमा आफ्नो घर अग्ला ठड्याउँछन्
पालकीमा बसी आफू प्रजालाई कुदाउँछन् । (पृष्ठ ४८)
श्रमिकप्रति सहानुभूति प्रकट गरिएको यथार्थाभिव्यक्ति यो पनि हेरौं ः
अर्काको देशका निम्ति मर्न जान्छन् बहादुर
त्यसैको आम्दानीबाट चल्ने भो राज्यको सुर (पृष्ठ ५७)
जुन देशको श्रमिक पलायन हुन्छ, त्यहाँको प्रगति हुँदैन भनी यहींनेर भनिएको छ । राज्यले आफ्नो देशको श्रमिकलाई स्वदेशमैं रोजगार उपलब्ध गराउनुपर्ने र स्वदेशमा सम्मान हुँदा देश र प्रजा दुवैको उन्नति हुने विचार कविले स्पष्ट शब्दमा अभिव्यक्त गरेका छन् ।
राजाले राज्यप्रतिको र पिताले परिवारप्रतिको कर्तव्य बुझ्नुपर्ने हुन्छ । राजा बिरामी भएको बेला उपचारको लागि आफ्नै कुनै प्रजाको छोरालाई बलि दिनु कदापि उचित होइन । प्रजाको छोरा किन्नु वा प्रजाले छोरा बेच्नु अन्याय हो । अनेक दृष्टिकोणलाई नराम्रो नै भन्नुपर्ने हुन्छ । देवरातमा बलिको लागि राजाले एक प्रजाको छोरालाई किनेको देखाइएको छ । यसै सन्दर्भमा कवि भन्छन्ः
पिताले पितृको धर्म राजधर्म नरेशले
गर्दैनन् पालना भन्नुस् के गर्ला त्यस देशले ? (पृष्ठ ७२)
द्रव्यमोहप्रति पनि कृतिमा ठूलो विद्रोह छ । पिता अजीगर्तलाई लोभी र अधर्मी बनाइएको छ, बताइएको छ । धनकै लोभमा सन्तान बेचेको बताइएको छ । यदि विपन्नता हटाउन कोही एक बलि चढ्नुपर्ने भए मै बिक्री हुन्थें भन्ने तर्क राख्ने शुनःसेपका पिता अजीगर्तको तर्क नर्कमा त्यत्तिखेर परिणत हुन्छ, जतिखेर उनले आफ्ना छोराको गर्दन छिनाल्न तयार हुन्छन् द्रव्यको लोभमा । आफैंले मार हाने पहिले बेचेकोभन्दा दोब्बर धन पाउनुपर्ने र मार हान्नेले मासु खानुपर्ने परम्पराको निर्वाह गर्दा चौब्बर धन पाउनुपर्ने शर्त अगाडि सार्छन् ।
यस्तो तर्क अगाडि सार्दै गर्दा अजीगर्तप्रति विद्रोहको भाव पाठकमा उब्जिन्छ । अनि अजीगर्तलाई खुलेर विरोध नगर्ने समाजप्रति पनि विद्रोहको भाव उत्पन्न हुन्छ । अजीगर्तले दिएका तर्कहरू द्रव्यमोह भएको बुझिन्छ । यसले सत्ययुग भनिएको जमानामा पनि धनको महŒव कस्तो रहेको र धनको लोभमा पिताले कतिसम्म गर्दा रहेछन् भन्ने कुरा पनि उदाङ्गो हुन आएको देखिन्छ ।
धन सबैलाई चाहिन्छ तर यसको आयमा समर्थ तरीका चाहिन्छ । यसको उपयोगमा पनि समर्थ तरीका हुनु उचित हुन्छ । अन्यथा धनलाई सबैथोक मान्न थाल्ने हो भने अजीगर्तजस्तो बन्न पुगेको पनि पत्तो हुँदैन । यसैले कवि धनले कसैलाई नचिन्ने बताउँदै भन्छन् ः
धनले पुत्र भन्दैन, चिन्दैन यसले पिता
न भाइ यसले भन्छ न साथी न त बन्धुता । (पृष्ठ ८१)
पैसा वा धनमा सुखको खोजी गरिनुहुन्न भन्ने विचार कविको रहेको छ । पैसामा जब सुखको खोजी हुन्छ, तब त्यहाँ पुत्रघात वा पितृघात भइरहन्छ ।
कविले शुनःसेपको विलापलाई जीवन्त उतारेका छन् ।
कविले विश्वामित्रबाट विद्रोह गराएका छन् । यही विद्रोहले विश्वामित्र वास्तविक नायक बन्न पुगेका छन् काव्यको । विश्वामित्रले नै राजा हरिश्चन्द्रको जलोदर रोग ठीक गराउन वरुणलाई तयार बनाउँछन्, वरुणको चित्त बुझाउने काम गर्छन्, राजा हरिश्चन्द्रपुत्र रोहितको प्राणमाथिको सङ्कट सदाका लागि हटाउँछन् र बलिबाट शुनःसेपलाई जोगाउँछन् ।
छोटो भूमिकामा देखिएका पात्र विश्वामित्रको भूमिका अन्तमा सर्वोपरि हुन जान्छ ।
कविले शुनःसेपलाई मन्त्रद्रष्टा बताएका छन् । बलियज्ञबाट मिचोचित शुनःसेप ऋषि भएर सेवा गरेको सङ्केत यसमा दिइएको छ ।
यो कृति स्वयम्मा प्रगतिशील विचारधारको रहेको छ । देवरातको कथानक, यसको भाषाशैली तथा केन्द्रीय कथ्य वा कविको विचार प्रगतिशील देखिन्छ । पुराणमा खासै महŒव नपाएको जस्तो देखिने यस घटनालाई कविले विशिष्ट महŒव दिनु र सम्पूर्ण काव्यलाई मानवतावादी दृष्टिकोणले प्रस्तुत गर्नुले सिङ्गो काव्य नै मानवतावादी र प्रगतिशील बन्न पुगेको छ ।
कर्मको महिमागान गर्दै एक ठाउँमा आफ्नो वैचारिक परिपक्वता यसरी प्रकट गर्छन् ः
खोज्छ ईश्वर मान्छेले भौतारिंदै कताकता
बन्छ मानिस कर्मैले आफैं देवी र देवता । (पृष्ठ ११४)
सत्कर्म र सत्धर्मको महŒव जुनसुकै समयमा रहेको कुरालाई यस कृतिले स्थापित गरेको छ । कृतिको नाम देवरात राखिएको छ । देवरात भनिएका उनै शुनःसेप हुन् ।
पुराणमा कम महŒव पाएका घटना तथा पात्रको खोजी गरी मानवतावादी दृष्टिकोणले समर्थन अन्य साहित्यसिर्जनमा सफल बनून् भन्ने शुभकामनासहित यस कृतिको सफलताको पनि कामना गर्दछु । यस कृतिले कालान्तरमा आफ्नो विशिष्ट पहिचान बनाउने कुरामा पूर्णयता विश्वास प्रकट गर्दछु ।