वीरगंज, १३ माघ/
रौतहट र बारामा बुधवार भएको सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको
छ ।
गरुडा नगरपालिका–४, रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका–८ निवासी १९ वर्षीय महमद अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ । ना.६२प ३३९९ नम्बरको मोटरसाइकल सवार दुवैजना हिजो राति मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएपछि घाइते भएका र उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, गरुडाले जनाएको छ ।
रौतहटकै फतुवाविजयपुरमा ट्याक्टरले किचेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । फतुवाविजयपुर–९ बडहर्वा टोलमा बिहीवार बिहान पौने १० बजे अनटेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनोज यादवले चलाएको ट्याक्टर बडहर्वा गाउँँमा रोकी राखेको थियो र ट्याक्टर अचानक गुड्दा सडकमा खेलिरहेका बालकलाई ट्याक्टरको पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको इप्रका लक्षमनियाँका प्रमुख प्रहरी निरीक्षक विष्णु विश्वकर्माले जानकारी दिए ।
घटनापछि चालक मनोज यादव फरार छन् । बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यसैगरी, कलैया–वीरगंज सडकखण्डको सिसहनियामा स्कार्पियो र मोटरसाइकल एकआपसमा जुद्धा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शीतल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलैयाबाट वीरगंज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार नरेश र शीतल घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएको र त्यहाँबाट नेशनल मेडिकल कलेजमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । फरार स्कारपियो चालकको खोजी भइरहेको जिप्रका, बाराले जनाएको छ ।