चिरञ्जीवी सापकोटा, ठोरी, १३ माघ/

ठोरी गाउँपालिका वडा नं २ ठोरी भन्सार बजारको एक पसलमा चोरी भएको छ ।
टाउनप्लान घर भई विगत लामो समयदेखि ठोरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आइरहेका रमेश श्रेष्ठको काठे घुम्ती पसलमा गएराति मध्यरातको समयमा घुम्तीको पछिल्लो पटरा भत्काएर चोरी भएको पीडित श्रेष्ठले जानकारी दिए ।

पसलबाट एक थान ल्यापटप, कस्मेटिक सामग्रीसहित केही नगदसमेत चोरी भएको श्रेष्ठले जानकारी दिए । पसलमा चोरी गर्ने व्यक्तिलाई भने पक्राउ गरिएको छ ।

चोरी गर्ने व्यक्तिको उक्त पसलको अगाडि आफ्नो र परिवारको दुईवटा फोटो फेला परेको र फोटोकै आधारमा सशस्त्र सीमा सुरक्षा बल बोर्डर आउट पोस्ट ठोरीलाई घटना विवरण बताएपछि सशस्त्र सीमा सुरक्षा बलले भारतीय एसएसबीसँग समन्वय गरी चोरी गर्ने व्यक्तिलाई पक्राउ गरिएको र अर्को एकजना व्यक्ति भने फरार रहेको सशस्त्र सीमा सुरक्षा बल ठोरीका सशस्त्र प्रहरी निरीक्षक शङ्कर कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार भारतीय एसएसबीले यस घटनामा आवश्यक सहयोग पु¥याएको र एसएसबीकै सहयोगमा चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको हो ।
चोरी गर्ने व्यक्ति ठोरीकै सीमावर्तीनजीकै रहेको भिखना ठोरीका वर्ष १५ का सुरजकुमार महतो रहेको सप्रनि कोइरालाले जानकारी दिए ।

महतोलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा महतोले आफूले चोरी गरेको स्वीकार गरी आफ्नो साथमा भिखना ठोरीकै अन्दाजी वर्ष १८ का बउवा मियाँसमेत साथमा रहेको बताएका छन् । सप्रनि कोइरालाका अनुसार एसएसबीको सहयोगमा फरार मियाँको खोजीकार्य जारी रहेको छ ।

पक्राउ परेका महतोले पसलबाट चोरी गरी लिएर गएका ल्यापटपलगायतका अन्य सामानहरू परिवारको सहयोगमा प्रहरीलाई बुझाएका छन् । थप अनुसन्धान र कारबाहीका लागि अभियुक्त महतोलाई इलाका प्रहरी कार्यालय, ठोरीको जिम्मा लगाइएको समेत सप्रनि कोइरालाले जानकारी दिए ।

यता इप्रकाले भने पीडितले कुनै लिखित जाहेरी नदिएको हुँदा थुनामा राखी थप अनुसन्धान गरिरहेको जानकारी प्रहरी निरीक्षक ब्रह्मदेव साहले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here