राधेश्याम पटेल, परवानीपुर, ११ माघ/

कीटनाशक औषधिको अवैध उत्पादन र कालोबजारी गर्ने मुद्दामा बारा प्रशासनले एक उद्योगमा सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय, बारामा उजूरी परेपछि कारवाहीको क्रममा परवानीपुर गापा–४ चैनपुरस्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा बारा प्रशासनले सिलबन्दी गरेको हो । गत माघ ४ गते जिल्ला प्रशासन कार्यालय, बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा सरोकारवाला निकायको अनुगमन टोलीले इजाजतबेगर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि सिलबन्दी गरेको थियो ।

सिलबन्दी गर्न गएको टोलीका प्रतिनिधि तथा जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता प्रनाउ राजेश थापाका अनुसार अनुसन्धानको क्रममा गलती भेटिएपछि सो उद्योगमा सिलबन्दी गरी जिल्ला प्रशासन कार्यालय, बाराले छानबीन गरिरहेको छ ।

“जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी परेको छ, प्रशासन कार्यालयले नै अनुसन्धान अघि बढाएको छ,” उनले भने, “प्रशासन कार्यालयले नै अरू बाँकी कुरा छानबीन गरिरहेको छ ।”

गत माघ १ गते इलाका प्रहरी कार्यालय, भण्डारा, चितवनले करीब ९ लाख ८० हजार मूल्यबराबरको अवैध कीटनाशक औषधिसहित ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उद्योगले लाइसेन्स अर्कै वस्तु उत्पादनको लिएको र बजारमा बेचिरहेको सामान फरक रहेको रहस्य खुलेको थियो । भण्डारा प्रहरीले ट्रक चालक सर्लाही बस्ने सन्तोष साहसहित अन्य दुईजना गरी तीनजनालाई पक्राउ गरी थप कारबाहीको लागि कृषि ज्ञान केन्द्र, भरतपुरमा पठाएको थियो । कृषि ज्ञान केन्द्रले पनि कारबाही प्रक्रिया अघि बढाएको छ ।

उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएको तर विषादी अर्थात् कीटनाशक औषधि उत्पादन गरी गत १२ वर्षदेखि नेपाली बजारमा बेचिरहेको छ । वीरगंज बिर्ताकै एकजनाको करीब चार कट्ठा जग्गामा भएको उद्योग भाडामा लिएर अवैध औषधि उत्पादन भइरहेको छ । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवको लगानी रहेको छ । उद्योगमाथि अवैधरूपमा सञ्चालन गरी अवैध औषधि उत्पादन गरी किसानलाई ठगेकोसमेत आरोप लागेको छ । बारा प्रशासनमा चितवनकै केही किसानले उजुरी हालेको स्रोतको भनाइ छ । उद्योगले विगत १२ वर्षदेखि नेपालका विभिन्न जिल्लामा बजार प्रतिनिधि नियुक्त गरी किसानलाई करोडौं ठगेकोसमेत उजुरीमा उल्लेख छ ।

उद्योगले नेपाली बजारमा रु ५ सयमा पाइने रेग्ने कीरा मार्ने औषधि आधा लिटरको जुपिटर रु २ हजार १ सयमा, गभारो कीरा मार्ने नेपाली बजारमा रु साढे चार सयमा पाइने धात्री ब्रान्डको तीन किलोको औषधि चार गुणा महँगो अर्थात् साढे १७ सयमा, गाँज बढाउने १० किलोको रु चार सयमा पाइने भिग्रोजी औषधि साढे १७ सय, गाँज बढाउने अर्को रु दुई सयमा पाइने एक लिटरको जिल औषधि रु १४ सयमा, माइक्रोन्यूटन रु चार सयमा पाइने पाँच किलोको धनराज औषधि रु १२ सयमा, डिएपी मलको काम गर्ने रु एक हजारमा पाइने ४० किलोको खनिज प्रोम रु २२ सयमा बिक्री गरिरहेको छ । त्यसैगरी, अन्य अवैध उत्पादनमा पनि चर्को मूल्य लिई हजारौं किसानसँग बर्सेनि करोडौं रुपियाँ ठगी गर्न थालेपछि चितवनका किसान सङ्गठित भएर उद्योगको अवैध धन्दाविरुद्ध प्रशासन समक्ष गएका हुन् । उद्योगको बाँकेस्थित एक उद्योगमा समेत स्थानीय प्रशासनले सिलबन्दी गरेको छ ।

इजाजतबेगर गलत सामान उत्पादन गरी उपभोक्तालाई ठगेको भेटिएको खण्डमा छ वर्षको कैद सजाय छ । उद्योगका सञ्चालकहरू फरार भएकाले पक्राउ गर्न नसकिएको बारा प्रशासनले बताएको छ । तर उद्योगका सञ्चालक भनिने रामाकान्त भारतीसँग बुझ्दा उनले आफू नेपालमैं रहेको जानकारी गराउँदै प्रतिस्पर्धी उद्योगीको उक्साहटमा केहीले उजुरी गरेको र छानबीनको क्रममा सिलबन्दी गरेको स्वीकार गरे । उनले आफू व्यस्त रहेको भन्दै पछि कुरा गर्ने भन्दै पन्छिए । स्रोतका अनुसार उद्योगका सञ्चालकहरू अहिले काठमाडौंस्थित विभिन्न मन्त्रालयमा छानबीनको मुद्दा साम्य पार्न दौडधूप गरिरहेको बताइएको छ । उक्त उद्योगले वर्षमा करीब रु १२ करोडको अवैध कारोबार गर्ने गरेको स्रोतको दाबी छ ।

उद्योगले विभिन्न बालीमा बजार प्रतिनिधि खटाएर विभिन्न पसलबाट बर्सेनि करोडौं रुपियाँ अग्रिमरूपमा उठाएको छ र अवैध सामान बेच्ने आश्वासन पनि दिएको किसानको गुनासो छ । उद्योगको मुख्य कार्यालय वीरगंज, लिङ्करोडमा स्थित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here