जकार्ता, ११ माघ/सिन्ह्वा
इन्डोनेशियाको पश्चिमी पपुवामा मङ्गलवार बिहानी पख एक रात्रि क्लबमा भएको द्विपक्षीय भिडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रूप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।
सोमवार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरूबीच झडप भएको थियो । सो झडपमा परी शुरूमा एकजनाको ज्यान गएको थियो । त्यसपछि त्यहाँ रहेका अरू पनि भिडन्तमा उत्रेका थिए । सो झडपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरू कैयौं नागरिक घाइते पनि भएका छन् ।
पश्चिमी पपुवा प्रान्तका प्रहरी प्रमुख आदम एर्दिनीले सोमवार मध्यरातिदेखि झडप शुरू भएको जानकारी दिएका छन् । उनले भनेका छन्–शुरूमा दुईजनाबीच भएको सामान्य विवादले पछि उग्र रूप लिएको थियो । उनीहरूको आन्तरिक झगडाका कारण त्यहाँ ठूलो सङ्ख्यामा नागरिकको ज्यान गएको उनले बताए ।
सो रात्रि क्लबको बाहिर पार्किङ गरी राखिएका कारहरूमा पनि आगजनी गरिएको छ । मध्यरातिदेखि नै प्रहरीले सो भीडन्त नियन्त्रणमा लिने प्रयास गरेपनि त्यस अगावै धेरै नागरिकको ज्यान गइसकेको थियो । रासस