राकेश यादव, रौतहट, ७ माघ/
रौतहटमा निर्माणाधीन रेलवे ट्र्याकबेडमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । जिल्लाको पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिवास खण्ड पर्ने निर्माणाधीन रेलवे ट्र्याकबेडमा कमसल सामग्री प्रयोग भएको पाइएको हो ।
चन्द्रपुरको सन्तपुरमा निर्माणाधीन रेलवे ट्र्याकबेडमा गुणस्तरहीन कामको विरोध भइरहँदा पनि नियमित अनुगमन एवं गुणस्तरीय काम गराउन सम्बन्धित पक्ष चनाखो भएको देखिंदैन ।
निर्माण कम्पनीका कर्मचारी र नेपाल सरकारका कर्मचारीहऋको मिलेमतोमा कमसल एवं गुणस्तरहीन काम भइरहेको हो । प्रत्येक १५ सेन्टिमिटरमा रोलिङ गरेर काम गर्नुपर्नेमा रौतहटमा मापदण्ड अनुसार काम हुन सकेको छैन । रोलिङ नगरी माटो, ग्रेवल हालेको कारण गत वर्षायाममा रेलको ड्याम नै भत्केको थियो ।
एकझरी पानीमैं भत्कने ड्यामले रेलको भार कसरी थेग्ला स्थानीय बासिन्दा प्रश्न गर्न थालेका छन् । रेल्वे ट्र्याकजस्तो संवेदनशील निर्माणमा नेपाल सरकारको ध्यान नपुग्दा देशले भविष्यमा ठूलो क्षति बेहोर्नुपर्ने बताइएको छ ।
ट्र्याकबेडको मजबुतीका लागि मिक्स ग्रेवेल र माटो राखेर प्रत्येक १५ सेन्टिमिटरमा रोलिङ गरी कम्पेक्शन गर्नुपर्नेमा निर्माण कम्पनीले पागो बालुवा राखेर रेलवे ट्र्याकबेड बनाइरहेको स्थानीय रमेश सापकोटाले बताए ।
लामा गोल्डनगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिका–८ को सन्तपुर राजमार्गको दायाँबायाँ निर्माण गरेको रेलवे ट्र्याकबेडमा धमाधम कमसल सामग्री प्रयोग गरिरहेको छ । स्थानीयले कैयौंपटक विरोध जनाइसकेका छन्, तर सम्बद्ध निकायको ध्यान नजाँदा उक्त गोरखधन्धा बन्द नभएको आरोप उनीहरूको छ । रेलमार्ग निमार्णको क्रममा प्राविधिकको बेवास्ताका कारण निर्माण कम्पनीले आफूखुशी काम गरेको स्थानीयको आरोप छ ।
यता रेलमेट्रो रेल तथा मोनोरेल विकास आयोजना निजगढ बर्दिवास खण्ड साइट कार्यालय लालबन्दीका सब इन्जिनीयर महेश साहले निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि हटाएर पुनः सम्झौता अनुरूप राख्न निर्देशन दिएको बताए ।