- सञ्जय मित्र
नित्सेले ईश्वरको मृत्युको घोषणा गर्दा पोस्टमार्टम गरेका थिएनन् । पोस्टमार्टम गर्ने आधिकारिक व्यक्ति उनी थिएनन् । मृत्यु–घोषणाको आधिकारिकतामाथि मलाई शङ्का लागेको थियो । शङ्काले लङ्का डढायो । मैले रिपोर्ट माग्दा नदिएपछि नित्सेले मैले बाँकी सबै तर्कलाई मृत घोषित गरिदिएँ । मृत घोषित गर्ने मेरो वाणीलाई म आफैंले तत्क्षण अमृत घोषित गरें ।
अमृतले त अमर बनाउँछ । मेरो वाणी नै अमृत भएपछि अमर बन्ने चाहना हुनेलाई आकर्षित गर्नु स्वाभाविक हो । कोही कोही मसित यस विषयमा साउती गर्न आए । मलाई काउकुति लाग्न थाल्यो । मैले आफ्ना अनुयायीलाई मात्र अमृतवचन सुनाउँछु भनें । जुन कुरा लुकाउन खोजिन्छ, त्यसलाई जान्न, खन्न, खोतल्न, उधिन्न मानिसको मन तम्सिन्छ । र, अमृत वाणी आफ्नै कानबाट पान गर्न कोहीकोही रातिराति मकहाँ आउन थाले वा यसो भनूँ धाउन थाले ।
दिउँसो अनुयायी बन्न अप्ठ्यारो लागेर होला । हुनत अनुयायी बन्नु लाजको कुरो होइन तर पनि कोही कहाँ यत्तिकै कसैको अनुयायी बन्न चाहन्छ ? चाहन्छ म नै पहिले गुरु बनिहालुँ । गुरु बन्न भ्याकेन्सी गर्नुस् त हजारौं निवेदन हाल्न आउँछन् तर अनुयायी या शिष्य अर्थात् चेला बन्न गरेको भ्याकेन्सीमा कोही आउँदैन । लाग्छ चेला बन्नु भनेको खाल्टोमा पर्नु हो । लाजको कुरो हो ।
रातिराति अँध्यारोमा पनि मुख लुकाएर आउनेहरूलाई मैले फलानो दिन आउनुस् फलानो ठाउँमा भनें । त्यो फलानो ठाउँ भनेको कुनै रमणीय पर्यटकीयस्थल हो । त्यहाँ पुग्नका लागि मैले पहिल्यै अलिअलि पत्रम्पुष्पम् पनि गर्दै गएँ । सित्तैमा पैसा पाउनु, पर्यटकीयस्थलमा घुम्न पाउनु र अमृतपान गर्न पाउनु आदि अनेक लोभमा फसे केही मानिस । अर्थात् मेरा अनुयायी बन्ने पूर्वयोग्यता पूरा गरे ।
निर्धारित ठाउँमा म आफैं सार्प टाइममा पुगें । मलाई पत्याएर हो कि मैले दिएको दाममा अझ धेरै थपेर पाइन्छ भन्ने लोभले हो, रातिराति भेट्न आउने जति आएकै थिए, आफूसित आफ्ना वाहनमा धेरैले सहबोलिया पनि लिएर आएका थिए । एउटा मीठो सभा शुरू भयो ।
पहिले एक एकसित अलग–अलग मन्त्रणा गरें । कुरो यति मात्र भनेको थिएँ – अहिले म जे भन्छु, त्यो केवल तपाईंलाई मात्र । यो कुरो कसैलाई नभन्नु होला । अरूलाई भन्नासाथ तपाईंभित्रको ठूलो शक्ति हराउने छ र तपाईंलाई ठूलो अनिष्ट हुनेछ । यदि तपाईंले हाम्रो अर्को बैठकसम्म यसलाई आफूभित्र पचाइराख्नु भयो र कसैलाई नभनी आफैंकहाँ बचाइराख्नु भयो भने तपाईंलाई अमृत पिलाएर अमर बनाउने जिम्मा मेरो । अहिले यति बुझ्नुस् – तपाईं महान् हुनुहुन्छ । र अमृत पानपछि तपाईंको महानतामा चमक आउने छ, तपाईंलाई सबैले महान् मान्नेछन् ।
महानतामा चमकको कुरोमा यसरी जोड दिएको थिएँ, मानौं उनीहरूको महानता मैलो भएको छ र मैले कुनै डिजरजेन्ट पाउडर वा साबुनले धोएपछि मोतीको दाँतजस्तै चम्किन थाल्नेछ ।
अनि सबैलाई एक ठाउँमा राखेर दर्शन छाँटें । साँच्ची जब कोही सुन्न तयार हुन्छ तब आफ्नो जस्तोसुकै बकबक पनि दर्शन लाग्न थाल्दछ । आफूमा विजेताको गर्व हो कि प्रवक्ताको धर्म हो आइहाल्छ । अलिकति फुर्काएँ । सबै मख्ख । मलाई अन्तर्बोद्ध भयो–मैले मख्ख पार्ने गुण धारण गरिसकेको छु ।
मेरा अनुयायीका लागि म देवता साबित भएँ । त्यहाँबाट फर्केपछि धेरैमा के–के भनेको चासो भएछ क्यारे । अनुयायीहरूले के के भनें मलाई खासै थाहा त भएन तर यति थाहा भयो कि त्यस दिनको कुरा नभनेर सबैले मेरो प्रशंसा मात्र गरेका रहेछन् । यही मौकामा चौका हान्न सोचें ।
मैले आफ्ना एल्चाबेल्चाहरूलाई बोलाएर मन्त्रणा गरें ः “तिमीहरू सबैलाई म देउता घोषणा गर्दछु । आजदेखि तिमीहरू सबै देउता ।” अनि थप सम्बोधन गर्दै भने – “हे देवहरू हो ! तिमीहरू बसेको यो सभा स्वतः देवसभा भो । र, यो देवसभाले यहाँ उपस्थित सबैलाई स्थायी देवता घोषणा गर्दछ । देवताहरू अमर भएको प्रस्तावलाई सर्वसम्मत पारित गर्दछ ।” बाँदरहरू पहेंलो केरा खान पाएर खुशी भएझैं सबै खुशीले उफ्रिए ।
एकै छिनपछि सबैले कार्यविभाजन पनि गरे । एकजना निरन्तर बकबक गर्ने मानिस, आफूलाई सञ्चारदेव नारद भन्दथे, सबै देवताको सर्वसम्मत निर्णय सुनाए – “हामी सबैलाई देवता बनाइदिने उहाँ (मतिर इशारा गर्दै) लाई हामीले ईश्वर घोषणा गर्दछौं … ।” यति जोडले ताली बज्यो कि अरू ग्रहका प्राणीहरू (टोलछिमेकका मानिस, कुखुरा, कुकुर आदि) अचम्भित भए । कतै भूकम्प आएको हो कि जस्तो गरेर सबै एकछिन सजग भए ।
एक दिन अर्को नाटक गरें । मानिसलाई नाटक धेरै मन पर्छ । सोझो मानिसलाई त मानिसले मानिस नै गन्दैन । यदि केही नौलो नौटङ्की गरिरहनुहुन्छ, सधैं चर्चामा आइरहन सजिलो हुन्छ । र म त प्रयोग गरिरहने मान्छे । देउता बनाएको केही दिनपछि एक दिन देवसभा बोलाएर सबैलाई शपथ खुवाएँ । शपथमा यो कुरा भनें कि जुनसुकै परिस्थितिमा पनि आफूलाई देवता साबित गराउनु छ । सबैले किरिया खाएपछि अर्को घोषणा गरें, देवसभामा ः “सबैले आफ्नो स्तुति आफैं लेख्नू, आफ्नो भजन पनि लेख्नू” । विस्मित र उज्यालो अनुहार देखें सबैको र थप उत्साहित हुँदै भनें– “आफ्नो वन्दना पनि रचना गर, आफ्नो यश र कीर्ति फैलाउने राम्रा कथा र अन्य साहित्य सिर्जना गर ।”
त्यस सँगसँगै यो पनि अह्राएँ – “अनि सबैले आफ्नो लागि जे जे रचना गर्छौ, ती भजन, आरती, स्तुति, कीर्तन तथा यशोगान एक एकवटा मेरा लागि पनि हुनुपर्छ । आफ्नो लागि अनेक गर, तर मेरो लागि एक गर । मेरो अर्चना नगर्ने देउताको कुनै पनि साहित्य स्वीकृत हुँदैन ।”
पहिले म सबैलाई तपाईं भन्थें तर बिस्तारै उनीहरूले मलाई महान् चमत्कारी आइडिया उत्पादक ठान्न थालेपछि तिमी भन्न थालेको थिएँ । यदि कसैलाई तपाईं भनेर सम्बोधन गर्थें भने उसलाई लाग्दथ्यो कि म ऊसँग रिसाएको छु । मलाई त झन् सहज भयो । सबै देवतालाई तिमी भन्न पाउँथे । सबै देवता आफ्नो ईश्वरलाई सदैव सुखी वा खुशी देख्न चाहन्थे ।
एक दिन नारदजीदेखि धेरै रिस उठ्यो । प्रचार उपमन्त्री, प्रचार सचिव, सहप्रचार विभाग प्रमुख आदिलाई बोलाएर सबैको अगाडि सञ्चारमन्त्रीलाई तपाईं र हजुर सम्बोधन गर्दै तथानाम गाली गरें । अनि राति मीठो सपना देखाउने सपनदेवीलाई बोलाएर सबैका अगाडि तँ तँ सम्बोधन गर्दै खुब प्रशंसा गरें । त्यस दिनदेखि त झन् कसैलाई झुक्किएर तपाईंभन्दा देवताहरूको अनुहार रातोपिरो भइहाल्थ्यो डरले । र, तँ भन्दा प्रफुल्लित हुन्थ्यो अनुहार ।
“अहिले तिमीहरूले यसरी ग¥यौ भने कालान्तरमा मूर्खहरू जसलाई तिमीहरूजस्तै देउता बन्ने लालसा हुन्छ, यसैलाई सत्य मान्नेछन्, आदर्श ठान्नेछन् र तिमीहरूलाई पूजा गर्न थाल्नेछन् । अर्थात् तिमीहरूको पूजा हुन थाल्नेछ” भनेर जुन भाषण दिएको थिएँ, त्यसको गज्जबको प्रभाव प¥यो । अनेक देवकथाहरू रचिए । ईश्वरका (मेरा) अनेक लीलाहरू प्रख्यात हुन थाले । म त थाहै नपाई चामत्कारी पुरुष हुन थालें ।
मेरो यति धेरै प्रशंसा वा पूजा हुन थाल्यो कि मकहाँ प्रसादहरू आउन थाले भोग लगाउन । मेरा अनुयायीहरूको मप्रतिको अनुराग देखेर अझ एक सिंढी अगाडि बढेर मैले केही गर्नुपर्छ भन्ने ठानें । जति उनीहरूको लागि गर्थें, त्यसको ब्याजभन्दा बढी मलाई नै प्राप्त भइरहेको थियो । एउटा अर्को आइडिया फु¥यो मनमा ।
एक दिन फेरि देवसभा बोलाएँ । उपस्थिति नै दिव्य लागिरहेको थियो । देवताहरू आआफ्नो वेशभूषामा उपस्थित भएका थिए देवसभामा । देवसभा लागिरहेको थियो कि विष्णुलोक हो र स्वर्गलोकबाट सबै देवताहरू विष्णुसभामा उपस्थित भएका हुन् । मैले सम्बोधन गरें – “हे देवताहरू, अब तिमीहरू हरेकले आफ्नो मन्दिर आफैं बनाओ, मन्दिर जति ठूलो देवता उति ठूलो मानिन्छ । अझ आफ्नो मूर्ति यति सुन्दर बनाऊ कि तिम्रो मनमा आफूलाई नै हेरिरहुँ लागिरहोस् । मूर्तिमा दिव्य आकर्षण होओस् जसले सबैलाई आकर्षित गरिरहोस् ।”
देवताहरूलाई सबैभन्दा बढी लोभ पूजाकै हुँदोरहेछ । पूजा नगर्दा जतिसुकै इमानदार भए पनि भक्तले आशीर्वाद पाउँदैन । जतिसुकै भ्रष्ट भए पनि यदि देवता वा ईश्वरको पूजा गरेको नौटङ्की गर्दछ भने उसैमाथि आशीर्वाद बर्सन्छ । मैले राम्ररी देखें कि पूजाको भोक सबै देवताको अभ्यन्तरमा प्रकाशित भइरहेको थियो ।
म अन्तर्यामी छु । सबैको मनको कुरो बुझ्दछु । तपाईंको मनमा उब्जेको छ – कसैलाई देवता बनाउने वा घोषणा गर्ने तँ को होस् ? कसले दियो तिमीलाई यो अधिकार ?
जवाफ हाजिर छ – हाम्रा शास्त्रहरूले भनेका छन्, सबै जीवजन्तु ईश्वरका सन्तान हुन् । हामी सानैदेखि यही सुन्दै आएका छौं । ईश्वरको अनुमतिविना एउटा पात पनि हल्लिंदैन भने ईश्वरकै अनुमतिमा मैले घोषणा गरेको ठहरिंदैन त ? फेरि आधुनिक तर्कशास्त्रले मात्र होइन, पुरातन संस्कार पनि यही रहेको छ कि जसको सन्तान हो उसैको जात हुन्छ । अब भन्नुस् त ईश्वरका सन्तान ईश्वरै होइनौं त ?
देवसभामा उपस्थित देवताहरूलाई थप सम्बोधन गर्दै भनें–“मैले तिमीहरूलाई देउता बनाएँ । अब तिमीहरूको मूर्तिमा पूजा गर्न मानिसहरू आइरहन्छन्, सबैको मनोकामना म पूर्ण गर्छु । यो मेरो प्रतिज्ञा हो ।”
“तर तिमीहरूले मेरो एउटा आकाङ्क्षा पूरा गर्नुपर्छ । त्यो के भने तिमीहरूले मेरो आदर सदैव गर्नुपर्छ । मैले भनेको आँखा चिम्लेर मान्नु, देवताहरूप्रति साधारण मानिसको विश्वास म जमाइदिनेछु । तिमीहरू मेरो पूजा गर्नु र तिमीहरूको पूजा गर्नेको इच्छा म पूरा गर्छु । जुन मन्दिरमा मेरो सम्मान हुनेछ, त्यो मन्दिरमा भक्तजनको खूब भीड लाग्नेछ ।”
सबै देवता खुशी भए । अहिले देवताहरू आफ्नो मन्दिर आफैं बनाउँदै छन् ।
एउटा गोप्य कुरो खुसुक्क बताउँदै छु ः तपाईं पनि आफ्नो मन्दिर आफैं बनाउनुहोस् । अनि हेर्नुस् तपाईं आफैं चमत्कारी देवता बन्नुहुनेछ ।
देउता बन्न को चाहँदैन ? आधुनिक देवीदेवता धमाधम बनिरहेका छन् ।
तपाईंहरूले कोरोनामाई, कोरोना भगवती, कोरोनादेवी, कोरोनाबाबाको पूजा भएको देख्नुभएको होला । यसबाट पनि प्रेरित भएर आफ्नो मन्दिर र मूर्ति बनाउनुहोला ।
यो नारा सबैको हितमा छ – आफ्नो मन्दिर आफैं बनाऔं । आफ्नो पूजा आफैं गरौं ।
–मित्रनगर, गरुडा नगरपालिका–४, रौतहट