वन–जङ्गलबाट काठको गोलाइ चोरी हुनुभन्दा एक भारी लाथ्रा चोरी हुँदा वन संरक्षणमा ठूलो क्षति पुग्छ । लाथ्रा होस् या गोलाइ, गैरकानूनी तरीकाले काट्नु, ढाल्नु वा ओसार पोसार तथा बिक्री–वितरण एवं उपभोग गर्नु दण्डनीय हो । वैज्ञानिक मापदण्ड अनुसार वन–जङ्गलको संरक्षण, विकास र उपयोग गर्दा वातावरण तथा पर्यावरणमा नकारात्मक असर पर्दैन । संरक्षणमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले वनसम्बन्धी ऐन, नियम, कानूनहरू बनाइन्छ । हाम्रो मुलुकमा यसको पालना कडाइका साथ गर्ने वातावरण छैन । गलत नियत भएकाहरूले कतिपय अवस्थामा वनको नीति, नियम बङ्ग्याएर, वन मास्ने हतियार बनाएका छन् । ससाना बिरुवादेखि उमेर पुगिसकेका रूख हाम्रो जङ्गलमा पाइन्छ । उमेर पुगेका रूखहरू चोरी हुँदा मुलुकको राजस्व मात्रै चोरी हुन्छ । त्यसबाट वातावरण, पर्यावरण तथा कार्बन उत्सर्जनमा खासै नकारात्मक असर पर्दैन । प्रकृतिको नियम अनुसार निश्चित उमेर पुगेपछि पुराना रूख–बिरुवा हटाएर नयाँ लगाउनु पर्छ ।
हाम्रो मुलुकको ठूलो जनसङ्ख्या अझै पनि दाउरे युगमा छ । कतिपय शहरको जनसङ्ख्या दाउरामा भर परेको छ । वीरगंज महानगर क्षेत्रमा दैनिक चार सय साइकलभन्दा बढी दाउरा भित्रिने गरेको बितेको वर्षको तथ्याङ्कले भन्छ । दाउरा मुख्यतः आगो बाल्नकै लागि प्रयोग गरिने हो । गाउँको कुरा छाडौं, महानगरमा समेत अझै दाउरा बालिंदै छ भन्ने कुरा यसले पुष्टि गर्दछ । जाडोमा आगो ताप्नेबाहेक खाना पकाउन दाउरा बाल्नु रहर होइन, बाध्यता हो । सिलिन्डर, ग्याँस र त्यसमा लाग्ने चुलो उपकरण एकैपटक किन्न नसक्ने घरपरिवारको सङ्ख्या समाजमा ठूलो छ । अर्कोतर्फ ग्याँसको मूल्य बढ्दो छ, आम्दानीको स्रोत भने विभिन्न कारणले ओरालो लागिरहेको छ । यो अवस्थामा सिलिन्डर भएका कतिपय घर–परिवारको ग्याँस भर्ने क्षमता छैन । सिलिन्डर भरेर राख्ने तर दाउरा वा भुसी चुलोबाट काम चलाउने र नचलाई नहुने अवस्थमा मात्रै ग्याँस चुलो चलाउने घर परिवार पनि प्रशस्त छ । बेलाबेलामा हुने ग्याँसको अभावले उपभोक्तालाई झन् तर्साएको छ । चाहेको बेला ग्याँस उपलब्ध नहुने हुँदा दुईचारवटै सिलिन्डर घरमा राख्नुपर्ने पीडा पनि उपभोक्तालाई छ । यसर्थ भरसक दाउराको उपलब्धता हुने क्षेत्रका उपभोक्ता ग्याँसबाट पुनः दाउरातर्फ नै फर्किरहेका छन् ।
दाउराको प्रयोगले निम्त्याउने अन्तत वन विनाश हो । ससाना बिरुवा वा ठूला रूख दाउराको लागि काम लाग्दैन । ठूला रूख काम लागे पनि त्यसलाई चिरफार गरेर दाउरा बनाउन समय लाग्ने हुँदा गैरकानूनी तरीकाले वन पसेकाहरूलाई जोखिम हुन्छ । त्यसैले उनीहरू कमलो बलाबली तथा पोल साइज र सोभन्दा कम उमेरका रूख बिरुवा मासेर दाउरा बनाउँछन् । कैयो वर्ष घामपानी, डढेलो पार गर्दै हुर्केबढेका धेरै बिरुवा दाउरेले एकै भारी बनाइदिन्छ । हरियो लाथ्रोलाई दाउरा बनाएर सीधै बिक्री गर्ने र कतिपयले सुकाएर बिक्री गर्ने गरेका छन् । बस्ती छेउछाउका वन–जङ्गलमा लाथ्रा नमासिएको दिन बिरलै होला । मासिएको बिरुवा हुर्कन अनुकूल वातावरण छ भने दशक लाग्न सक्छ । सरकारले जबसम्म उपभोक्तालाई दाउराको सहज विकल्प दिंदैन, दाउराको नाममा भइरहेको यस्ता वन विनाश जबरजस्ती रोकेर रोकिंदैन। दाउराको आवश्यकता पूर्ति गर्न बरु निम्न तहका विद्यार्थीहरूलाई बदनाम गराउने काम भने चलिरहन्छ ।