नरेश यादव, पर्सागढी, ६ माघ/
कोरोना सङ्क्रमणको कारण सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द राखेको छ । यसबीच पर्सा जिल्लाका जङ्गलसँग जोडिएका विद्यार्थीहरूको दिनचर्या जङ्गल पँmडानी गर्ने भएको छ ।
बिहान विद्यार्थीहरू जङ्गल प्रवेश गर्ने र दाउरा, घाँस काटेर ल्याउने तथा काँचो रूख ढाल्ने कार्य गर्दैआएको वनकर्मीहरू बताउँछन् ।
सबडिभिजन वन कार्यालय, मधुवन मथवलका प्रमुख अनिल महतोले विद्यार्थीहरू जङ्गल प्रवेश गर्ने क्रम बढेको बताए । उनले विद्यार्थीहरू जङ्गलभित्र प्रवेश नगर्ने तर बाहिरको रूख, घाँस, दाउरा सङ्कलन गरेर ल्याउने क्रम पछिल्लो चरणमा बढेको बताए । उनले विद्यालय बन्द भएसँगै पर्सा जिल्लाको जङ्गल विद्यार्थीहरूबाट असुरक्षित भइरहेको बताए । विद्यार्थीहरूले प्रयोग गर्ने साइकल नियन्त्रणमा लिएर भाँच्न पनि नसकिएको विवशता उनले बताए ।
अन्य तस्करहरूको साइकल भाँचिदिने गरिएको र यसो गर्दा तस्करी नियन्त्रणमा सघाउ पुगेको उनको भनाइ छ । तर विद्यार्थी भएको कारण साइकल भाँच्दा अभिभावकबाट कुटिने भएकाले रोइ–कराई गर्छन., जसले साइकल सुरक्षित फिर्ता गर्नुपरेको उनले बताए ।
चीसो बढेसँगै पर्सा जिल्लाको जङ्गल फँडानी कम भए पनि तस्करहरू सक्रिय रहेको उनले बताए । चीसोको कारण अन्य मौसमको तुलना सुरक्षा गश्ती पनि पातलिएको र तस्करहरू पनि पहिलेजस्तो ठूलो सङ्ख्यामा जङ्गल प्रवेश गरेर वन फँडानी नगरेको उनले बताए ।
सबडिभिजन वन कार्यालयका प्रमुख महतोले दुई वर्षदेखि सरकारले ढलापडा रूख सङ्कलनमा रोक लगाएको र हालै मात्र खुला गरेकोले समुदायमा चीसोको बेला दाउरा वितरणमा समस्या भएको बताए । उनले बारा जिल्लाबाट ढलापडा काठ ल्याएर समुदायमा वितरण गरिएको
बताए ।
सबैया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष लखन साहले चीसो बढेसँगै जङ्गलसँग जोडिएको बस्तीबाट जङ्गल असुरक्षित भएको बताए । उनले वन गश्ती टोलीले ल्याउने दाउरा स्थानीयलाई वितरण गर्न दबाब बढेको र जङ्गल क्षेत्रमा स्थानीय प्रवेश गरेर घाँस, दाउरा सङ्कलन गर्ने गरेको बताए ।
अध्यक्ष साहले विद्यालय बन्द भएपछि जङ्गल विद्यार्थीहरूको कोपभाजन बनेको बताए । फुर्सदमा साइकल बोकेर विद्यार्थीहरू जङ्गल प्रवेश गर्छन् र काठ, दाउरा सङ्कलन गर्छन् । चीसोको कारण वनमा तस्करीको घटना कम भएको अध्यक्ष साहको भनाइ छ ।
सबैया साझेदारी वन उपभोक्ता समिति अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २८, २९, ३१, ३२ र पर्सागढी नगरपालिका–३ र ४ पर्दछ ।