प्रस, सेढवा, ५ माघ/
जीराभवानी गाउँपालिका–३ जीतपुरमा नवनिर्मित विवाह भवनको उद्घाटन भएको छ । बुधवार एक कार्यक्रमका बीच गापाप्रमुख रामप्रीत महतोले विवाह भवनको उद्घाटन गरेका थिए ।
विवाह भवन कम्पाउन्डवालसहित करीब दश कट्ठा क्षेत्रमा निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि चालू आर्थिक वर्षसम्म गापाले भवन निर्माणमा करीब एक करोड रुपैयाँ विनियोजन गरी सम्पन्न गरेको प्रमुख महतोले बताए । उनले विवाह भवन भनिए तापनि समाजका मानिसहरूले आवश्यकता अनुसार भवन प्रयोग गर्न सक्ने बताए ।
उनले मूलरूपमा गाउँघरमा वैवाहिक कार्यक्रम हुँदा जन्तेहरूलाई वासको व्यवस्था गर्न समस्या नहोस् भनेर भवन निर्माण गरेको पनि बताए । आगामी दिनमा यहाँका मानिसहरूले जन्तेलाई बसाउनका लागि समस्या भोग्न नपर्ने उनले बताए । उनले सबै समुदायका लागि विवाह भवन उपलब्ध हुने जानकारी गराए ।
नवनिर्मित विवाह भवनमा महिला/पुरुषका लागि शौचालय व्यवस्था मिलाइएको तथा कार्यक्रमका लागि पार्किङ र भान्साघरको पनि व्यवस्था मिलाउन सकिने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए । उनले जीराभवानी गापाबाहेक अन्य स्थानीय तहमा यस्तो सुविधासम्पन्न सामुदायिक भवन नभएको पनि दाबी गरे ।
वडाध्यक्ष उमेशकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उषादेवी थरुनी, वडाध्यक्ष महादेवमहतो थारू, जीतपुर नौकाटोला माविका प्रधानाध्यापक रामाशङ्कर चौधरी, पूर्वशिक्षक प्रह्लाद पटवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।