प्रस, वीरगंज, ४ माघ/
नेपाली काङ्गे्रससँग आबद्ध युवाहरूले मङ्गलवार वीरगंजमा विरोध जुलुस प्रदर्शन गरेका छन् ।
जनकपुरलाई राजधानी बनाएको विरोधमा घण्टाघरबाट निस्किएको मोटरसाइकल जुलुस नगरपरिक्रमा गर्दै पुनः घण्टाघरमा पुगी समापन भएको थियो । सोही क्रममा जुलुस मुख्यमन्त्री लालबाबूराउत गद्दीको घरमा पुगी ढुङ्गा प्रहार गर्दा झ्यालका सीसा फुटेको थियो । प्रहरीले ढुङ्गा प्रहार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगर–१ छपकैयाका सुमन पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको
छ । प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घण्टाघरबाट निस्किएको जुलुस नगरपरिक्रमा गर्ने क्रममा मुख्यमन्त्रीको घरअगाडि पुगेको र अचानक केही युवाहरूले ढुङ्गा प्रहार गर्दा झ्यालका सीसा फुटेको बताए ।
पक्राउ परेका पटेलसँगै उनले प्रयोग गरेको भारतीय नम्बर ९३८१ को मोटरसाइकल बरामद गरेको र हाल उनलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखिएको प्रनाउ खनालले जानकारी गराए ।
प्रस, पोखरिया/
जनकपुरलाई राजधानी बनाएको विरोधमा नेकपा एमाले, पोखरिया नगर कमिटीले विरोध प्रदर्शन गरेको छ ।
संविधानसभा सदस्य राजकुमार गुप्ताको अगुवाइमा पोखरियामा जुलुस निकालिएको थियो । मुख्यमन्त्री लालबाबूराउत गद्दी मुर्दाबाद, वीरगंज राजधानी कायम गर नारा लगाउँदै जुलुस पोखरिया बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा मुख्यमन्त्रीको पुतला दहन गरिएको थियो ।
कोणसभामा संविधानसभा सदस्य गुप्ताले मधेस आन्दोलनमा आर्थिक तथा भौतिक क्षति वीरगंजले सहनुपरेको र यहाँका सपूतहरूले बलिदानी दिएको तर राजधानी जनकपुर बनाएर वीरगंजको अपमान गरिएको बताए । उनले पर्सा जिल्लालाई आगामी दिनमा प्रदेश २ बाट अलग्याउने चेतावनी दिए ।
कोणसभामा पोखरिया नेकपा नगर कमिटी अध्यक्ष विन्ध्याञ्चल ठाकुर, संविधानसभा सदस्य प्रद्युम्न चौहान, छिपहरमाई गापा अध्यक्ष मनोजकुमार गुप्ता, जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँँ मन्सुरी, नेपाल रेडक्रस सोसाइटी, उपशाखा पोखरियाका सभापति भगवानप्रसाद कुर्मी, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जारा, एमाले पर्साका सुन्दर कुर्मी, एमाले पकाहामैनपुर गापा संयोजक अकलेश साहलगायतले मन्तव्य राखेका थिए ।
प्रस, भिस्वा/
राष्ट्रिय युवा सङ्घ, पर्साका सुभाष साहको अगुवाइमा छिपहरमाई गाउँपालिका–५ भिस्वामा प्रदर्शन भएको छ । वीरगंजलाई प्रदेशको राजधानी नबनाइ जनकपुरलाई बनाएको विरोधमा प्रदर्शनकारीहरूले ब्यानरसहित नगरपरिक्रमा गरेका थिए । वीरगंजलाई राजधानी नबनाइएकोमा मुख्यमन्त्रीविरुद्ध चर्को नाराबाजी गरिएको थियो ।
प्रदेश सरकार मुर्दाबाद, मुख्यमन्त्री मुर्दाबाद, वीरगंजलाई राजधानी बनाउनुपर्छ जस्ता नारा लगाइएको थियो ।