प्रस, गरुडा, ४ माघ/

रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरमा स्थापित श्री दुर्गाभवानी यादव प्रतिष्ठानले पहिलो कार्यक्रमको रूपमा निश्शुल्क आँखा शिविर गरेको छ । गौर आँखा अस्पताल पुरेनवासितको सहकार्यमा गरुडा–४ स्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको निश्शुल्क आँखा शिविरमा उपस्थित चिकित्सक तथा प्राविधिक टोली र नगरप्रमुख इन्नु राय यादवलाई स्वागत गर्दै आयोजक संस्थाका अध्यक्ष बृजकिशोर यादवले आफ्ना मातापिताको नाममा स्थापित संस्थाको पहिलो कार्यक्रमको रूपमा आँखा शिविरलाई चयन गरेको जानकारी गराए ।

शिविरमा आएका अतिथि तथा चिकित्सकको टोलीलाई अध्यक्ष यादवले फूलको माला तथा गम्छाले स्वागत गरेका थिए । शिविरमा गरुडा नगरपालिकाका प्रमुख इन्नु राय यादवसहित ११६ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएकामध्ये ४३ जनाको आँखामा मोतीबिन्दुको समस्या देखिएको छ । मोतीबिन्दुको समस्या देखिएकालाई गौर आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरिने अस्पताल स्रोतले जनाएको छ । आँखा परीक्षणको क्रममा थप २३ जनालाई चश्माको आवश्यकता देखिएकामा शिविरको तर्फबाट निश्शुल्क चश्मा उपलब्ध गराइएको छ ।

गौर आँखा अस्पताल पुरेनवाका विनीता केशरी र शिवकुमार यादवको नेतृत्वमा आँखा परीक्षणको लागि चिकित्सक तथा प्राविधिकहरूको टोली आएको थियो । हरेक वर्ष गौर आँखा अस्पतालले विभिन्न सङ्घसंस्थासित मिलेर वर्षभरि विभिन्न ठाउँमा निश्शुल्क आँखा उपचार शिविर सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here