काठमाडौं, ४ माघ/रासस

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा पुलिसले वाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जीतका लागि १५६ रनको लक्ष्य पाएको वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो ।

वाग्मतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दै तीन चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हाने । रामनरेश गिरी २२ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच, सागर ढकालले दुर्ई तथा आरिफ शेखले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोड्यो । पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले ।

उनले ५४ बलमा तीन चौका र तीन छक्काको मदतमा ५९ रनको योगदान दिए । दीलिप नाथले ३१ तथा अनिल साहले २५ रन बनाए । बलिङतर्फ वाग्मतीका नन्दन यादव र रिजन ढकालले दुई/–दुर्ई र प्रतीश जिसीले एक विकेट लिए ।

एपिएफ क्लब फाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जीतका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २१ बल खेल्दै एक छक्का र चार चौका प्रहार गरे । भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२, साहब आलमले अविजित २१ तथा विक्रम शोबले १४ रन बनाए । बलिङतर्फ एपिएफका शरद भेष्वाकरले तीन, अविनाश बोहरा र भुवन कार्कीले दुई तथा दीपक बोहरा र किशोर महतोले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले दुई विकेट गुमाएर २३० रन जोड्यो । एपिएफका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच छक्का र १० चौकाको मदतमा ८४ रनको योगदान दिए । यस्तै, लोकेश बमले अविजित ६६ तथा ओपनर प्रदीप ऐरीले अविजित ५७ रन बनाए ।

बलिङतर्फ आर्मीका जीतेन्द्र मुखिया र सुमित श्रेष्ठले एक/एक विकेट लिए । फाइनल खेल एपिएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here