बडो सकस र प्राविधिक समीकरणको मदतले प्रदेश २ को नाम र राजधानीको टुङ्गो लागेको छ। अब मधेस प्रदेश भने पुग्छ, प्रदेश नं २ भनिरहनुपर्दैन । त्यस्तै राजधानीको लागि पनि घरीघरी आन्दोलन र विवाद गरिरहनुपरेन । यसो भएन, यस्तो हुनुपथ्र्यो भन्ने विमति त दुनियाँमा जहाँ पनि हुन्छ । तर एकपटक निर्णय भइसकेपछि सबैले अनुमोदन गर्नुपर्छ । यद्यपि कानूनी अनुमोदन भइसकेको छ, आत्मीय अनुमोदन पनि भयो भने सबै विवादको अन्त्य भएर प्रदेश उन्नति र विकासको पथमा अघि बढ्नेछ । यो क्षेत्र मधेसको एउटा भाग हो । यद्यपि मधेस आन्दोलनताका सम्पूर्ण तराई क्षेत्रलाई एउटा प्रदेश बनाउने कुरा नउठेको वा त्यसका लागि प्रयास नभएको होइन । त्यस्तो भइदिएको भए राजधानीको स्थानबारे विवाद गर्ने ठाउँ रहन्थ्यो। शायद मधेसवादी नेताहरूले पनि पूर्वदेखि पश्चिमसम्मको सिङ्गो एक प्रदेशको परिकल्पना गरेर नै वीरगंजलाई राजधानी बनाउने प्रतिबद्धता जनाएका हुन सक्छन् । तर न परिकल्पना पूरा भयो, न वीरगंज राजधानी तोकियो । त्यसमा पनि अस्थायी राजधानी जनकपुरलाई तोक्ने बेलामा नै केन्द्रीय राजनीतिक व्यक्तिहरूको मनसाय स्पष्ट भइसकेको थियो ।
मधेस शब्दप्रति वितृष्णा जनाउने कुनै कुरा छैन । किनकि आदिकालदेखि यस क्ष्Fेत्रलाई मधेस भनिएको हो । नाम भनेको सुस्पष्ट र उच्चारण सुगम्य हुनुपर्छ । नाम कुनै चङ्गा होइन कि त्यसमा पुच्छर जोर्नु आवश्यक होस् । नाम छोटो, बोधगम्य र कमसेकम सबैलाई पाच्य
हुनुपर्छ । मधेस एउटै शब्दमा यो भूभागलाई चिनाउने पर्याप्त क्षमता छ । त्यसमा विशेषण जोडेर, अरू पनि भाग यसमा सम्मिलित छ भनी देखाउनुको कुनै अर्थ छैन । शब्दको विशेषण पनि सरल र सहज हुनुपर्छ । मधेसबाहेक जति पनि नाम प्रस्तावित थिए, तिनको विशेषण बनाउनै गा¥हो र उच्चारण त झन् असहज हुन्थ्यो । मधेसमा बस्नेलाई मधेसी भने पुग्यो । अन्य प्रस्तावित नाममध्ये कुनै भइदिएको भए, त्यस प्रदेशमा बस्ने व्यक्तिलाई के भन्ने ? जे होस् प्रादेशिक सांसदहरूले एउटा गहन जिम्मेवारी पूरा गरे, यद्यपि ढिलो भयो, त्यसमा प्राविधिक कठिनाइहरू प्रशस्त थिए । यताका दिनमा राजनीतिक समीकरणमा चलखेल नभएको भए, शायद यस कार्यकालमा यो नाम वा राजधानीको निर्णय अनिर्णित नै रहने थियो ।
केही मानिसलाई नाम र राजधानी मन परेको छैन । यो बहुलवादी समाज हो । स्थापित मूल्य र मान्यतालाई नमान्ने मानिस त हुन्छन्, तिनको सोचलाई पनि सम्मान गर्नैपर्छ, र यो त नयाँ परम्परा बसालेकोे हो । नयाँ पनि एकदमै नयाँ होइन । मधेस नेपालका लागि नयाँ शब्द हुँदै होइन । नेपालको भूगोल वा इतिहासको पाना पल्टाएर हे¥यौं भने मधेस शब्द पाइन्छ, मधेस नामको भूखण्ड यहाँ थियो र यद्यावधि छ । हो हिजोका शासकहरूले मधेस र मधेसीलाई होच्याएर यस नामको प्रयोग गर्थे किनभने यो पिछडिएको, शोषित र विपन्न थियो । अब मधेसलाई उन्नतशील, अधिकारप्राप्त र सम्पन्न बनाउनु छ । अब यस तथ्यतर्फ ध्यान फेर्नुपर्छ। उन्नति र विकासले नै कुनै नामको सङ्कुचित अर्थले विस्तृत भाव प्राप्त गर्छ । हिजो अफिमची भनी चिनिने चिनियाँहरू आज विश्वमा अग्रणी बन्न पुगे । त्यसमा नामभन्दा कर्मको महत्ता छ। कर्म नगरी जतिसुकै राम्रो, सुकिलो, भव्य नामले पनि केही लछार्न सक्दैन । अबको प्रतिबद्धता मधेसलाई सर्वसम्पन्न, उन्नतशील र देशमा अग्रणी प्रदेश बनाउनु हो । चेतना भया !