प्रस, जनकपुरधाम,३ माघ/

प्रदेश २ को नाम मधेस नामकरण भएको छ । सोमवार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुईतिहाई बहुमतले पारित गरेको हो । सोमवार प्रदेशसभाको बैठक दुईपटक बसेको थियो । पहिलो बैठकले प्रदेशको राजधानी तय गरेको थियो भने लगत्तै बसेको दोस्रो बैठकले नामकरण गरेको हो ।

नामकरणको लागि भएको मतदानमा ९९ जना सांसद सहभागी थिए, तीमध्ये ८० जनाले मधेस नाममा मत गरेको प्रदेशसभाका सभामुख सरोज कुमार यादवले जानकारी दिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारूढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी प्रदेशको नाममा एकमत भएका थिए । संयुक्त रूपमा प्रदेशको नाम मधेस प्रस्ताव भएको थियो । जसपाको ३९, माओवादीको ८ र लोसपाको १६ गरी ६३ जना सांसद एक ठाउँ रहेकामा नेपाल सङ्घीय समाजवादी पार्टीले पनि समर्थन जनाएपछि उसका १६ सांसदले पनि मधेस नामकरणको पक्षमा मतदान गरेका हुन् ।

यस अघि काङ्ग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा काङ्ग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए । नामकरण सम्बन्धमा दुई वर्ष पहिले ३ चैत २०७६ मा पनि मतदान भएको थियो तर त्यति बेला आवश्यक मत पुग्न नसके पछि नामकरण टुङ्गोमा पुग्न सकेको थिएन ।

सोमवार प्रदेशसभाको पहिलो बैठकले प्रदेशको स्थायी जनकपुर कायम गर्ने टुङ्गो लगाएको छ । सो क्रममा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका थिए । प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरूमा सातवटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो, जसमध्ये जनकपुर कायम गर्ने पक्षमा दुईतिहाई बहुमत पुगेको हो ।

स्थायी राजधानी जनकपुरलाई केन्द्रबिन्दुमा राखी उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुने उल्लेख गरिएको छ ।

मङ्गलवार सार्वजनिक बिदा

मङ्गलवार प्रदेशभर सार्वजनिक बिदाको प्रदेश सरकारले घोषणा गरेको छ । मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तोक्न सफल भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here