- वैधनाथ श्रमजीवी
दान भन्नाले मूलतः दिने बुझिन्छ । कुनै पनि वस्तु यदि कसैलाई निश्शुल्क दिइन्छ भने त्यसलाई दान भनिन्छ । दान भनेपछि त्यहाँ दोहोरो कार्य भएको हुन्छ, एउटाले लिने अर्कोले दिने । यति बेलाको युग विज्ञान तथा प्रविधिको युग हो । विज्ञानको चमत्कारी अविष्कारहरूले गर्दा मानव जीवन अत्यन्तै सहज हुन पुगेको छ । यो समय विज्ञानको उन्नति र प्रगतिको हिसाबले स्वर्णयुग नै हो ।
मानिसहरूले सोच्दै नसोचेको क्षेत्रमा अत्यधिक प्रगति गर्न सफल भएको छ । तर ज्ञान र प्रविधिको यस्तो स्वर्ण युगमा पनि मानिसहरूले दुई छाक पेटभरि खान नपाउनु निस्सन्देह अत्यन्त दुःखद कुरा हो । छाक टार्नको लागि, आङ ढाक्नको लागि र टाउकोमा ओत दिन सक्ने एक थान वासको लागि मानिस आफ्ना जहान परिवार, लालाबाला, साथी–सङ्गति, इष्टमित्र, नाता–कुटुम्ब, गाउँघर, सबै त्यागेर विदेशिनुपर्ने बाध्यता, गरीबीमा हुर्केर त्यसबाट त्राण पाउन लाखौं करोडौं मानिस विवश हुनु खेदजनक कुरा हो ।
हो, यहींनिर एकातर्फ जहाँ लाखौं करोडौं मानिस भोक र बेरोजगारले थलिएका छन् त्यही मुठ्ठीभर मानिस अमीर छन्, जोसँग अर्बौ–खर्बौको श्रीसम्पत्ति छ । यिनै मानिसहरू आफूलाई दयावान देखाउन धार्मिक तथा सामाजिक व्यक्तित्वको रूपमा परिचय दिलाउन आफैंद्वारा निर्मित कङ्गालहरूलाई, जसको हक खोसेर, ठगेर, चोरेर, थुपारेको सम्पत्ति हो, त्यसको नगण्य भाग दानको रूपमा दिन अगाडि सर्ने गर्छन् । तिनै भोका–नाङ्गा, गरीब, मजदूरको भाग (गाँस) खोसेर थुपारेको सम्पत्तिबाट समाजका यी सज्जन तथा भलाद्मीको श्रेणीमा पर्ने चोर, डाँका, तस्कर, माफिया, भ्रष्टाचारी, दलाल आदिले कतै मन्दिर बनाउन वा बनाएर, कतै धर्मशाला, कतै विद्यालयमा कक्षा कोठा आदि निर्माणमा सघाएर दानको परम्परालाई कायम राख्दै आएका छन् ।
समाजभित्र असमानता–विभेद खडा गरेर आर्थिकरूपमा राज्यबाटै संस्थागत रूपमा गरीब उत्पादन गर्ने आर्थिक प्रणाली (वर्तमानमा दलाल, पूँजीवादी व्यवस्थाले अङ्गीकार गरेको असमान सम्पत्ति विवरण) सयकडौं, हजारौं वर्षदेखि चलाएका छन् । चाहे त्यो दासकालीन समाजको आर्थिक प्रणाली होस्, चाहे सामन्तीकाल वा पूँजीवादी साम्राज्यवादीकालका सबै समयमा आर्थिक रूपमा समाजमा विभेद उत्पन्न गरेर निमुखाहरूलाई दानको रूपमा नगण्य भाग, राहतको रूपमा बाँडेर वाहवाही लुट्ने चलन अझै पनि कायम छ ।
अहिले संसारभरि सहयोग गर्ने एउटा लहर चलेको छ । यस्ता आर्थिक सहयोगले निमुखाहरूको दुःख, अभाव, पीडा आदि टार्न रामवाण दवाइको रूपमा काम गरिरहेको पनि भनिन्छ । हुनत यस अर्थमा हेर्दा दानको यो पक्ष सकारात्मक नै हो । किनकि पुरानो कहावत छ– थोपा–थोपा पानीले समुद्र बन्छ । यसैगरी एक–एकजनाको सहयोग एकमुस्ठ रूपमा हेर्दा ठूलो राशि हुन जान्छ, जसबाट धेरै दुःखकष्ट हर्न सघाउ पुग्छ ।
वास्तवमा दान गर्ने प्रचलन निकै पुरानो छ । हिन्दूहरूको मनुस्मृतिमा दानबारे भनिएको छ– भोकोलाई अन्नदान गर्नाले सुख प्राप्ति हुन्छ । तिल दान गर्ने व्यक्तिले सन्तान प्राप्त गर्छ । दीप दानले राम्रो ज्योति प्राप्त गर्छ । भूमिदान गर्नाले भूमि, दीर्घायुको लागि स्वर्णदान, सुन्दरताको लागि चाँदी दान गर्नुपर्छ । यी दानहरूमध्ये सबैभन्दा ठूलो दान वेद दान अर्थात् विद्यादान हो किनकि विद्या न कसैले चोर्न सक्छ, न समाप्त गर्न सक्छ ।
यस अलावा हाम्रो समाजमा खास–खास समयमा दान दिए बढी लाभ हुने समेत चलन चलाएको भेटिन्छ । जस्तो कि ग्रहण लागेको बेला ग्रहणको प्रभावबाट मुक्त हुन दान दिने परम्परा छ । ग्रहणको मोक्षको अवस्थामा अन्न, वस्तु, धातु आदि साधुसन्त तथा दलितहरूलाई दान दिने चलन रहँदै आएको छ ।
त्यसैगरी मकर सङ्क्रान्तिको दिन पनि दान दिने चलन रहँदै आएको छ । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास छ, जबकि पुस ७ देखि दिन लामो हुन थाल्छ । जेहोस् माघे सङ्क्रान्तिमा पनि दान लिने दिने गरिन्छ ।
दान दिने व्यक्ति सदैव अल्पसङ्ख्यक नै थिए र छन् पनि । करोडपति, अर्बपति र खर्बपतिको सङ्ख्या पहिले पनि समाजमा थोरै हुने गथ्र्यो र अहिले पनि थोरै नै छ, भविष्यमा समेत दलाल पूँजीवादी व्यवस्था कायम रहेसम्म थोरै नै रहने छ । तर यसविपरीत दान लिनेहरूको सङ्ख्यामा पहिले परम्पराको थालनी गर्दा याचक ब्राह्मणहरू मात्रै थिए, जसको सङ्ख्या समाजमा नगण्य थियो । यिनीहरू धनाढ्यहरूबाट मात्रै नभएर समाजको गरीब किसानसम्मको पूजापाठ तथा मरणोपरान्त क्रियाकर्म गरी दान लिने गर्थे र अझै पनि गर्छन् । तर समयको विकास सँगसँगै दान लिने ब्राह्मणहरूको एकलौटी कर्म भत्केको छ र यस वर्गमा अरू पनि गैरयाचकहरू जोडिएका छन् । अहिले सबैभन्दा ठूलो दान लिने वर्गमा नेताहरू देखिएका छन् ।
यतिबेला दानको स्वरूप बदलिएर चन्दामा रूपान्तरित भएको छ । समाजको मध्यम वर्गदेखि धनाढ्य वर्गसम्म चन्दा आतङ्कले त्रसित छन् । नेता, कार्यकर्ता, विद्यार्थी, पत्रकारलगायतको चन्दा–आतङ्कले दातावर्ग यति बिघ्न आतङ्कित छ कि चन्दाको ‘च’ पनि सुन्न चाहँदैन । हुनत परम्परादेखि नै चन्दा राजीखुशीले लिनेदिने भनिएको हो । जोरजबरजस्ती वा बेमनले लिंदादिंदा नर्क वा प्रहरीको हवालात हेर्नुपर्ने व्यवस्था छ, तर पनि चन्दा–आतङ्क मिथककथाको भूतजस्तै हुन गएको छ ।
जेहोस् दान दिन अहिले पनि मानिस तयार छन् र लिन पनि तम्तयार छन् । तर यो अवस्था सबै किसिमको दानमा छैन । नेपाली समाजमा केही दशकयता शरीर दान गर्नेसमेत परम्पराको शुरूआत भएको छ । वास्तवमा विद्यादानभन्दा पनि शरीर दान ठूलो हो । तर नेपालमा यससम्बन्धी कानूनको अभावले शरीर दान गर्दा थोरै कानूनी अड्चन रहेको देखिन्छ । शरीरका विभिन्न भागहरू दान गर्ने कानूनी व्यवस्था भए पनि सिङ्गै शरीर दान गर्ने कानून हालसम्म संसद्ले पास गरेको छैन ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको एनाटोमी विभागमा भएको रेकर्ड अनुसार हालसम्म त्यहाँ १३ जनाले आफ्नो शरीर स्वेच्छाले परिवारको सहमतिपत्र तथा आफ्नो इच्छापत्रको आधारमा दान गरेका छन् । अहिलेसम्म डा ऋषिकेश शाह, अङ्गुरबाबा जोशी, कृष्णप्रसाद, भरत उप्रेती, शुकदेव उपाध्यायलगायत महानुभावले आफ्नो शरीर दान गरेका छन् ।
जन्मेपछि एक दिन सबैले मर्नुपर्छ । मरेपछि शरीरलाई आगोमा जलाएर वा माटोमा गाडेर नष्ट गर्नुभन्दा मेडिकल कलेजका विद्यार्थीहरूलाई वर्षौसम्म पढ्ने कार्यको लागि शरीर दान संसारको सबैभन्दा ठूलो दान पनि हो र आफ्नो शरीरको उत्तम व्यवस्थापन तथा सदुपयोग पनि हो जस्तो लागेर म र मेरी पत्नी भागिरथीकुमारी श्रेष्ठले यही २०७८ मङ्सिर २५ गते दान गरेका छौं ।