प्रस, वीरगंज, २ माघ/

नेपाली काङ्ग्रेस वीरगंज महानगर कमिटीले घण्टाघरमा धर्ना, सभा गरेको छ । वीरगंजको सडकहरू बिग्रेको र महानगरपालिकाले सोको मरम्मत सम्भार नगरेको भन्दै घण्टाघरअगाडि धर्ना दिएको थियो ।

धर्ना कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ, पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले नगर प्रमुखले सडक मरम्मत, सम्भारमा ध्यान नदिएको आरोप लगाए । उनले सडक सञ्जाल बिग्रँदा पनि नगरप्रमुखले सोको मरम्मत गर्ने पहल नगरेको भन्दै आलोचना गरे । यही सडकबाट सबैजनाको आवतजावत भइरहेको र नगरप्रमुखले प्रयोग गर्ने बाटो भएको तर खाल्डाखुल्डी भएर सवारी साधन सञ्चालन गर्न समस्या भएपनि नजरअन्दाज गरेको बताए ।

कार्कीले सडक सञ्जाल अविलम्ब मरम्मत नगरिए नेकाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । महानगरका सभापति भोलाप्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जगतसाह कानूलगायतको नेका कार्यकर्ताहरूको सहभागिता थियो ।

यसैबीच वीरगंज महानगरपालिकाको मुख्य सडकको मरम्मत सम्भारको लागि सडक विभागले ठेक्का आह्वान गरेको छ । वीरगंज–पथलैया व्यापारिक मार्ग योजनाका प्रमुख मनीषकुमार साहले मितेरीपुलदेखि पावर हाउसचोकसम्म सडक मरम्मत सम्भारको लागि अढाई करोड बजेट विनियोजन भएर आएको र सोही अनुरूप ठेक्का आह्वान भएको बताए । उनले पुस ५ गते सडक निर्माणको लागि ठेक्का आह्वान भइसकेको र ३५ दिनपछि ठेक्का लागि काम शुरू हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here