प्रस, वीरगंज, १ माघ/
गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वितरण भएको छ । ् नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाहलमा नगरप्रमुख विजयकुमार सरावगीले गोपालगिरी क्रियाशील पत्रकारिता पुरस्कार २०७७ प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ र २०७८ को पुरस्कार राजधानी दैनिकका संवाददाता तुलसी (विजय) भण्डारीलाई प्रदान गरेका थिए ।
२५ हजार राशिको पुरस्कारबाट दुवै पत्रकारलाई पुरस्कृत गर्दै नगरप्रमुख सरावगीले वीरगंजको पत्रकारिताको विकासको लागि महानगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता जाहिर गरे ।
उनले तत्काल महासङ्घलाई पत्रकारिता क्षेत्रको विकासको लागि आवश्यक उपकरण र भौतिक संरचना निर्माणको लागि सहयोग गर्ने आश्वासन पनि दिए ।
नगरप्रमुख सरावगीले स्व. गिरी तत्कालीन नगरप्रमुखसमेत भएकोले उनको स्मृतिमा आवश्यक कार्य गर्नको लागि पत्रकारहरूसँग छलफल गर्ने बताए । उनले तत्काल विपी उद्यानको एक भागमा स्व. गिरीको शालिक स्थापना गर्ने बताए ।
विपी उद्यानमा चार भागमा विभाजित गरेर नयाँ संरचना तयार भइरहेको र त्यहीं एक स्थानमा स्व. गिरीको शालिक निर्माण गर्ने बताए । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले सङ्घ पत्रकारहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । असल पत्रकारिताको लागि सङ्घले निरन्तर सहयोग गर्ने आश्वासन दिए ।
नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बञ्जाराले स्व गिरी नगरप्रमुखसमेत भएको कारण नगरपालिकाले उनको स्मरणमा प्रतिष्ठान गठन गर्नुपर्ने सुझाए ।
स्व. गिरीका छोरा गिरीश गिरीले १८ वर्षदेखि पिताको सम्झनामा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाले पुरस्कार स्थापना गरी पुरस्कार वितरण गर्दै आएकोमा खुशी व्यक्त गरे । उनले आफ्ना पिता पत्रकारितासँगै समाजसेवा र राजनीतिमा पनि सक्रिय भएकोले उनका कामहरूको मूल्याङ्कन हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबू शेख, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दास, पूर्व शाखा अध्यक्ष शत्रुघ्न नेपालले मन्तव्य व्यक्त गरेकाथिए ।
कार्यक्रममा उपाध्यक्ष युवराज खड्काले स्वागत र तिवारी यादवले सहजीकरण गरेका थिए ।