प्रस, गरुडा, १ माघ/

रौतहटको मौलापुर नगरपालिकाले निर्माण गरेको मर्यादपुर एकीकृत दलित बस्तीको एक समारोहबीच नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका छन् ।

मौलापुर नगरपालिकाद्वारा निर्मित नगर गौरव आयोजनाको रूपमा रहेको मर्यादपुर एकीकृत दलित बस्तीको शनिवार उद्घाटन गर्दै नेता ज्ञवालीले दलित बस्ती निर्माण एउटा नमूनाको काम भएको बताएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी समिति सदस्य तथा विकासवादी नेता प्रभु साहले मर्यादपुर दलित बस्ती देशकै लागि एउटा नमूना कार्यक्रम भएको बताएका छन् । जनताबाट कुनै पनि कर नलिने मौलापुर नगरपालिकाले इच्छुक सबै घरपरिवारलाई ग्याँस चुलो र सिलिन्डरसहितको पूजा सेट नै उपलब्ध गराइसकेको छ भने तीनवटा दलित बस्ती निर्माण गरेर देशका अन्य पालिकाको लागि पनि अनुकरणीय काम गरेको बताएका छन् । दलितहरूका लागि जमीन किनेर सुविधासम्पन्न पक्की र सुरक्षित घर निर्माण कार्य गरेर हस्तान्तरण गरिएको सम्भवतः पहिलो कार्य भएको स्थायी समिति सदस्य साहको भनाइ छ ।

मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले तिलासङ्क्रान्तिको अवसरमा मर्यादपुरका दलितहरूका लागि दलित बस्ती उपहार दिएको बताइन् । नगरपालिकाको स्रोतबाट दलितहरूका लागि २५ वटा सुविधासम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गर्नुलाई मौलापुर नगरपालिकाले गौरवको रूपमा लिएको मेयर साहको भनाइ छ ।

मूल सडकसित जोडिएको ठाउँमा दलित बस्तीका लागि नगरपालिकाले जमीन किनेर पक्की घर बनाएर शनिवार हस्तान्तरण गरेको हो । बस्तीको प्रत्येक घरमा शुद्ध खानेपानीको धारा, छतमा खानेपानीको टंकी, छतमा चढ्ने फराकिलो सिढी तथा शौचालय रहेको छ । हरेक घरसम्म पुग्ने फराकिलो पक्की सडक पनि निर्माण गरिएको छ । हरेक घरबाट पानी निकासको पनि व्यवस्था गरिएको छ ।

यसैगरी घरमा वायरिङ गरी बत्ती पनि बालिएको छ । बालबालिकाको लागि खेल्ने जमीन तथा थोरै बारी पनि प्रत्येक घरको लागि रहेको दलित बस्तीमा हरेक घरमा प्राकृतिक उज्यालो घाम र हावा जाने किसिमले घरको निर्माणमा ध्यान दिएको उपमेयर गौरीशङ्कर जयसवालले बताएका छन् ।

एक घरदेखि अर्को घरबीच पर्याप्त ठाउँ खाली रहेको र वातावरणको दृष्टिकोणले पनि उपयुक्त किसिमले घर निर्माण गरिएको दलित बस्तीले दलितहरूको आत्मसम्मान बढाएको एमालेका स्थायी समिति सदस्य प्रभु साहको भनाइ छ ।

आफूहरूले कल्पना गरेकोभन्दा धेरै राम्रो र सुविधासम्पन्न घर निर्माण गरिएको ४६ वर्षीय रामगोविन्द महराले बताएका छन् । जीवनमा आजको दिनभन्दा खुशीको क्षण कहिल्यै नआएको बताउँदै रामले अहिलेसम्म यति राम्रो दलितबस्ती कतै नदेखेको पनि स्पष्ट पारे ।

यसैगरी स्थानीय बिल्टीदेवी रामले पक्की घरमा धनिक महाजनको जस्तो सुविधा भएको बताइन् । दलित बस्तीका दलितहरूले समाजमा आफ्नो इज्जत बढेको सगर्व बताउन थालेका छन् ।

मौलापुर नगरपालिकाले गत वर्ष मौलापुर दलित बस्तीको निर्माण र हस्तान्तरण गरेको थियो भने मौलापुरकै सात डोम परिवारका लागि उनीहरूले खोजेकै ठाउँमा घर निर्माण गरिदिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here