प्रस, वीरगंज, १ माघ/
क्रियाशील युवा पत्रकार मञ्च पर्साले शनिवार सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्कालाई बिदाइ सम्मान गरेको छ । होटल मकालुको सभाकक्षमा आयोजित कार्यक्रममा उपरीक्षक खड्कालाई मञ्चले बिदाइ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल, १३ नं गण हेडक्वाटर पर्सा, वीरगंजबाट एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा सरुवा भएका सशस्त्र उपरीक्षक खड्कालाई फूलमाला पहि¥याउँदै प्रशंसापत्र प्रदान गरिएको थियो ।
सो अवसरमा उपरीक्षक खड्काले पर्सा जिल्लाको बसाइमा जिल्लाका आम जनता, व्यापारी, विभिन्न सङ्घ, संस्था, समाजसेवी, सञ्चारकर्मीलगायतबाट निकै सहयोग पाएको बताए । उनले पर्साको कार्यकाल आफ्नो लागि अविस्मरणीय रहने भन्दै कर्तव्य निर्वाहको क्रममा जानेर वा नजानेर कसैको चित्त दुखेको भएमा क्षमा गरिदिन आग्रह गरे । उपरीक्षक खड्काले आफू जहाँ रहे पनि यस क्षेत्रको विकासको लागि आवश्यकता अनुसार सहयोग निरन्तर रहने प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा मञ्चका सल्लाहकार सुबोधकुमार गुप्ताले शुभकामना व्यक्त गर्दै एसपी खड्काको १८ महीने कार्यकाल निकै प्रशंसायोग्य रहेको बताए । जिल्लामा रहेको नौवटा सशस्त्र प्रहरी क्याम्पलाई बढाएर १८ वटा पु¥याउनमा उपरीक्षक खड्काको मुख्य योगदान रहेको भन्दै गुप्ताले उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
बिदाइ कार्यक्रममा अर्का वक्ता बिपिसी क्याम्पस प्रमुख तथा संस्थाका सल्लाहकार दीपक शाक्याले उपरीक्षक खड्काको पर्सा कार्यकाल जनप्रिय रहेको बताए । मञ्चका अध्यक्ष प्रणयकुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिव वीरेन्द्र साहले र स्वागत उपाध्यक्ष आनन्द पटेलले गरेका थिए ।