नितेश कर्ण, वीरगंज, ३० पुस/
नारायणी अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले कोभिड सङ्क्रमण दर बढिरहेको बताएका छन्।
उनले अस्पतालमा एक साता अघिसम्म सङ्क्रमितहरू देखा नपरेको र अहिले एक सातामैं १४१ जना सङ्क्रमित पुष्टि भएको बताए। डा सिंहले सङ्क्रमित पुष्टि भएकाहरूमध्ये तीनजना अस्पतालमा भर्ना भएका र बाँकी घरमैं आइसोलेट रहेको बताएका छन्।
सङ्क्रमितहरूमा रूघाखोकी, घाँटी दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिएको उनले बताए। अहिले घरघरमा रूघाखोकीका बिरामी भएको तर जाँचको दायरा फराकिलो नहुँदा सङ्क्रमण नदेखिएको बताए। उनले जाँचको दायरा बढेको खण्डमा सङ्क्रमितहरू बढ्न सक्ने बताए। अहिले देखापरेका सङ्क्रमितहरूमा ९ देखि १८ वर्षका बालबालिकाहरू पनि छन्। महानगरको विद्यालय सञ्चालनमा रहेको कारण सङ्क्रमण झनै फैलिएको हुन सक्ने उनले बताए। अस्पतालमा अहिले एचडियु, आइसियु र भेन्टिलेटर गरेर ७४ शøया कोभिड सङ्क्रमितहरूको लागि छुट्याइएको तथा अक्सिजनलगायत उपकरणहरूको व्यवस्थापन भएको बताए। तत्काल यो सङ्ख्यासम्म कोभिड सङ्क्रमितहरूलाई अस्पतालले सेवा दिन सक्ने उनको भनाइ छ।
डा सिंहले एक सातामा परीक्ष्Fण भएकामध्ये ६० प्रतिशत सङ्क्रमण पुष्टि भएको जानकारी गराए। बिहीवार ४७ जनाको पिसिआर परीक्षण भएकोमा १३ जना महिला, १८ जना पुरुष गरी ३१ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए। सङ्क्रमितमध्ये बारा, रौतहटका दुई/दुईजना र सर्लाहीका एकजना र बाँकी २६ जना पर्सा जिल्लाको भएको उनले बताए।
एक सातामा सङ्क्रमित हुनेहरूमा पर्सा जिल्ला सबैभन्दा बढी भएको उनको भनाइ छ।