नेकपा एमाले पर्साको आठौं जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटाकुटको क्रममा सभास्थलका कुर्सी, फूलका गमलाहरूसमेत तोडफोड भएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने कि मतदानमार्फत नेतृत्व चयन गर्ने कुरामा मत बाझिएपछि एक पक्षले हङ्गामा मचाएको हो । अध्यक्ष मण्डलको जोड सर्वसम्मत अर्थात् सहमतिको आधारमा नेतृत्व चयन गर्ने रह्यो । अध्यक्ष मण्डलमा सोही पार्टीका केन्द्रीय पदाधिकारीसमेत जिल्लाबाट केन्द्रमा पुगेका नेताहरू थिए । उपल्लो नेतृत्वको प्रस्ताव स्वीकार गर्ने पक्ष एकातर्फ रह्यो भने स्वीकार नगर्ने पक्षले अध्यक्ष मण्डलविरुद्ध प्रदर्शन ग¥यो । मध्य रातदेखि शुरू भएको नाराबाजी तथा विरोध प्रदर्शनले निरन्तरता पाएपछि अधिवेशन बिथोलिएको छ । अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको कुरा सो पार्टीले जनाएको छ ।
पर्सामा मात्रै होइन, यसपटक मुलुकका अन्य जिल्ला, जहाँजहाँ एमालेको नेतृत्व चयनका लागि चुनाव भयो, त्यहाँत्यहाँ झडप भएको कुरा आइरहेको छ । चितवनलगायत केही जिल्लामा निर्वाचन प्रक्रिया पछि सारिएको छ । चुनावी प्रक्रियामा जाँदा आन्तरिक द्वन्द्व बढ्ने र गुट उपगुट झाङ्गिने भएकोले पनि सकभर सहमति होस् भन्ने आशय सो पार्टीका केन्द्रीय नेतृत्वको देखिन्छ । जनमतमा आधारित चुनाव लोकतन्त्रको मेरुदण्ड हो । मुलुकमा लोकतान्त्रिक व्यवस्था छ । यही व्यवस्थाको ऐन, कानूनभित्र रहेर राजनीतिक दलहरू दर्ता भएका छन् । यसर्थ पनि लोकतान्त्रिक विधि अँगाल्नुपर्छ भन्ने तर्क कमजोर छैन । तर कम्युनिस्टहरू जनमतमा आधारित चुनावमा विस्वास गर्दैनन् । उनीहरू बाध्यात्मक अवस्थामा चुनावी प्रक्रियालाई उपयोग मात्रै गर्दै जनवादी केन्द्रीयता अर्थात् पार्टी उपल्लो तहको मूल्याङ्कनको आधारमा जिम्मेवारी सुम्पन्छन् । मतदानलाई आधार मान्दा पैसा हुने व्यक्तिले जनमत खरीद गर्न सक्छ । त्यसो भएमा पैसावालाले सजिलै पार्टी कब्जा गर्ने हुँदा निम्नस्तर वा सर्वहारा वर्गका इमानदार नेता–कार्यकर्ता पाखा लाग्छन् भन्ने तर्क पुराना कम्युनिस्ठहरूको छ । माक्र्सवादी कोणबाट हेर्दा यो तर्क बलियो र वास्तविक ठहर्छ ।
जहाँ विचारको लडाइँ कमजोर हुन्छ, त्यहाँ मसलको लडाइँ शुरू हुन्छ । विगतमा काङ्ग्रेसलगायत पूँजीवादी धारका राजनीतिक दलको भेला तथा अधिवेशनमा पार्टी कार्यकर्ताबीच लात–जुत्ता चलेको खबरहरू आउँथे । केही दिन पहिले नेका प्रदेश–२ को अधिवेशनमा पनि कुटाकुट भएको थियो । कम्युनिस्टहरू एउटा अक्षर, शब्दमा पनि व्याख्या, विश्लेषण, बहस गर्ने र फरक मत राख्ने पुरानो विशेषता हो । सो विशेषता रूपान्तरित हुँदै मसलमा परिणत भइरहेको छ । एमालेलाई मतदाताले भाइ–काङ्ग्रेस पनि भन्न थालेका छन् । काङ्ग्रेसभन्दा कुनै पनि कुरामा फरक नदेखिएपछि स्थापना मितिको हिसाबले हेर्दा काङ्ग्रेसभन्दा एमाले भाइ हो । तर भाइ–काङ्ग्रेस नै भइसकेको अवस्था भने एमालेको होइन । काङ्ग्रेस लोकतान्त्रिक प्रणाली, पूँजीवाद हुँदै समाजवादमा विश्वास राख्छ । एमालेले आफूलाई साम्यवादी नै भनिरहेको छ, तर पार्टीको सङ्गठनात्मक संरचना र नेता–कार्यकर्ताहरूको शैली भने पूँजीवादी छ । पूँजीवाद र साम्यवादको वैचारिक दोधारमा रहेको कारण सो पार्टीका नेता–कार्यकर्ताहरूमा वैचारिक दुर्बलता छ । जहाँ विचार सकिन्छ, त्यहाँ मसल अस्तित्ववान हुनु नितान्त स्वाभाविक कुरा हो ।